काठमाडौं, १७ चैत्र(बीबीसी) । प्रधानमन्त्री के.पी. ओलीले पार्टीको सदस्यताबाट छ महिनाको लागि निलम्बन गरेपछि वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी पुनर्गठनमा लाग्ने बताउनुभएको छ ।
उहाँले बीबीसीसंगको अन्तर्वार्तामा देशभरि जिल्ला कमिटीहरू पुनर्गठनको अभियान सुरु भइसकेको बताउनुभएको छ।
सोमवार अपराह्न प्रधानमन्त्री ओलीले नेता नेपाल र एमाले उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि साधारण सदस्य नरहने गरी पार्टीबाट निलम्बन गर्नुभएको थियो।
एमालेका शीर्ष नेता नेपालले प्रधानमन्त्री समेत रहनुभएका के.पी. ओली हाल नेकपा एमालेको वैधानिक अध्यक्ष नरहेको भन्दै आफूविरुद्धको कारबाहीलाई पूर्ण रूपमा अस्वीकार गर्ने बताउनुभयो।
नेता नेपालसँग बीबीसीका लागि विष्णु पोखरेलले गरेको कुराकानीः
प्रधानमन्त्रीको कदमप्रति तपाईँको प्रतिक्रिया के छ ?
यो कदमबाट उहाँ कति निरङ्कुश हुनुहुन्छ, कति स्वेच्छाचारी हुनुहुन्छ भन्ने कुरालाई बताइरहेको छ।
उहाँ कम्युनिस्ट आन्दोलनलाई तहसनहस बनाउने कुरामा पार्टीलाई छिन्नभिन्न बनाउने कुरामा उद्यत हुनुहुन्छ।
उहाँलाई कम्युनिस्ट आन्दोलन र पार्टीको कुनै माया छैन। उहाँको आफ्नै हैसियत अवैधानिक भइसकेको छ।
उहाँले फाल्गुन २८ गते बैठकको नाममा जुन गुटको भेला गर्नुभयो त्यो नै अवैधानिक भएकाले त्यसबाट गरिएका कुनै पनि निर्णय स्वीकार गर्न सकिँदैन।
त्यही भएर उहाँको यो कदमलाई म पूर्ण रूपमा अस्वीकार गर्छु। देशभरका कार्यकर्ताहरूलाई दृढताका साथ केपी ओली गुटविरुद्ध सङ्घर्षको मैदानमा उत्रिन म आह्वान गर्छु।
उनको सामु कसैले आत्मसमर्पण गर्न जरुरी छैन। दृढताका साथ मोर्चामा उभिनुपर्छ। आन्दोलनको पक्षमा अघि बढ्नुपर्दछ।

माधवकुमार नेपाल : नेपालले माओवादी-एमाले एकता प्रक्रियामा आफू वाधक बनेको आरोप अस्वीकार गरेका छन्
यो कारबाहीपछि नेकपा एमाले पनि विभाजनको दिशामा जान लागेको हो?
त्यो कुरा म पछि गर्छु, सबैको बीचमा छलफल गरेर। केपी ओलीले यो पार्टी टुक्र्याउन, छिन्नभिन्न पार्न खोजिरहेका छन्।
उनी यो पार्टीको केन्द्रीय कमिटीको वैधानिक अध्यक्ष पनि रहेनन्। उनले केन्द्रीय कमिटी भङ्ग गरिसके। अहिले उनले केन्द्रीय कमिटीको अध्यक्षको हैसियत नै गुमाइसके।
कतिपयले तपाईँ पार्टीमा अब एक्लिनुभयो, तपाईँकै पक्षका मानिसहरूले पनि साथ दिइरहेका छैनन् भन्छन् नि?
सबै साथमा हुनुहुन्छ। म आजै बैठक बसिरहेको छु। दृढताका साथ अघि बढ्न भनेर देशभरिबाट फोन आइरहेको छ।
अघि बढ्नुहोस्। हामी तपाईँको साथमा छौँ भनिरहनुभएको छ। पार्टीभित्रका असल र क्रान्तिकारी कार्यकर्ताहरू मेरो साथमा छन् र हामी एकताबद्ध भएर अघि बढिरहेका छौँ।

ओली
प्रधानमन्त्रीको पक्षका नेताहरूले विगतमा तपाईँले कारबाही गर्नुभएको थियो अहिले ओलीले गर्नुभयो। ‘जस्तालाई त्यस्तै’ भयो भनिरहेका छन्। यसबारेमा के भन्नुहुन्छ?
उहाँहरूले नेकपा छोडेर हिँड्नुभएको थियो। नेकपा एमाले हाम्रो हो। केपी ओलीको होइन। यसको निर्माणमा केपी ओलीको कुनै भूमिका पनि छैन र एमालेलाई सिध्याउन खोजिएको हो।
अब तपाईँहरू एक ठाउँमा बस्ने अवस्था देखिएन। पार्टी दुईवटा नै हुने भयो होइन?
लक्षण त्यस्तै छ।अन्त्यमा, अब तपाईँ प्रचण्डसँग मिलेर अघि बढ्नुहुन्छ कि?
त्यस्तो चाहिँदै चाहिँदैन। हामीले देशव्यापी रूपमा सङ्गठन निर्माण गरिरहेका छौँ। गोर्खा, अर्घाखाँचीमा जिल्ला कमिटीहरू बनिसकेको छ।
जम्मै ठाउँमा जिल्ला कमिटीहरू पुनर्गठनको अभियान सुरु भइसकेको छ। देशव्यापी रूपमा कार्यकर्ता भेलाहरू सुरु हुन थालिसकेकै छ।
केपी ओलीसामु आत्मसमर्पण गर्ने व्यक्तिहरू कम्युनिस्ट आन्दोलनलाई सिध्याउने व्यक्तिहरू हुनेछन् र उनको गुटवादी जमातमा जाने व्यक्तिहरू हुनेछन्। कम्युनिस्ट पार्टीको पक्षमा रहनेहरू एक ठाउँमा उभिनेछन्।


















