Prakash Adhikari March 31, 2021

बृजकुमार यादव / बीबीसी,

जनकपुरधाम, १८ चैत (रासस) । महोत्तरी जिल्लाको भँगहा नगरपालिकाको वडा नम्बर ८ बाट मङ्गलवारदेखि हराइरहेका दुई बालिका र पाँच किशोरी भारतको बिहार राज्यको सीतामढी जिल्लामा फेला पारिएको र उनीहरूलाई फिर्ता ल्याउने प्रक्रिया सुरु गरिएको नेपाल प्रहरीले जनाएको छ।

प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार भारतीय प्रहरी अधिकारीहरूले नेपाल प्रहरीको टोलीलाई सबै बालिकालाई हस्तान्तरण गर्ने प्रक्रिया थालेका छन्।

‘नेपाली प्रहरी अधिकृतहरूको टोली बालिकाहरू लिएर साँझसम्म नेपाल फर्किनेछ’, डीआईजी सिंहले भन्नुभयो ।

स्थानीय बासिन्दाको सहयोगमा उनीहरूलाई सीतामढीको रेल स्टेशनमा फेला पारिएको थियो।

उनीहरू नेपाल आएपछि उनीहरू कसरी भारत पुगे भने तथ्य खुल्ने सिंहले बताए।

कसरी हराएका थिए ?

राससका अनुसार महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा मङ्गलबार दिउँसो घाँस काट्न भनेर १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी निस्केका थिए । उनीहरुमा १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान थिए।

सम्पर्कविहीन भएका सातैजना हाँसीखुशी घाँस काट्न मङ्गलबार दिउँसो १ बजेतिर घरबाट समूहमै निस्केका थिए । “सबै हाँस्दै निस्केका थिए, साँझ घर नफर्केपछि चिन्ता बढ्यो”, अस्मिताका पिता बद्री पासवानले भन्नुभयो, “घरमा कुनै भनाभन वा रिसाउने केही भएको थिएन ।”

सम्पर्कविहीन भएका सातमध्ये सिरहाको कर्जन्हा घर भई मावल आएकी रञ्जनाबाहेक सबै धर्मपुरवासी हुन् । तीमध्ये नगिना; कृष्णा पासवान, सीमा; देवनन्दन पासवान, ज्योति; बिसुन पासवान, रिया; ज्ञानकुमार पासवान र रचना; अरविन्द पासवानका छोरी भएको खुलेको छ । सात छोरीचेली समूहमा एकैपटक हराएपछि धर्मपुरको दलित बस्तीमा रुवावासी मच्चिएको छ । हराइरहेकामध्ये अस्मिताले यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना हुन आवेदन गरेकी पिता बद्रीको भनाइ छ ।

“घरको गरिबी छोरीले बुझेकी थिई, जागिर गरेर पाल्छु भन्थी”, बद्रीले गहभरि आँसु पार्दै भन्नुभयो, “त्यही छोरी हराउँदा अब मन राख्ने ठाउँ नै देखिन्न ।” धर्मपुरको दलित बस्तीका अभिभावक आफ्ना छोरीचेलीको खोजी गरिदिन सबैसँग हात जोडेर अनुनयविनय गरिरहेका थिए ।

घरनजिकै रहेको चौरमा घाँस काट्न गएका बालिकाहरू अबेरसम्म घर नफर्किएपछि खोजी सुरु गरिएको थियो।

उनीहरू हराएको खबर प्रहरीले पाएपछि भारतीय प्रहरीको समन्वयमा खोजी थालिएको थियो।

हराइरहेका सबै जना बिहार राज्यको सीतामढी जिल्ला रेलवे स्टेशननजिक अलपत्र अवस्थामा फेला परेको बताइएको छ। स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी दिएपछि उनीहरूको उद्धार गरिएको थियो।

ूनेपाली किशोरी र बालिकाहरूले भारतको मुम्बईमा गायिका बन्न जान लागेको बताएका छन्,ू एक भारतीय प्रहरी अधिकारीले भन्नुभयो।

ूउनीहरू सबै जना भिठ्ठामोड नाकाबाट बस चढेर सीतामढी पुगेका रहेछन्,ू रेल्वे प्रहरी सीतामढीका एसपी अशोक कुमार सिंहले बताउनुभयो।

भँगाहा

भँगाहा

अहिलेको अवस्थामा
रेल चढेर उनीहरू मुम्बई जाने प्रयासमा रहेको तर विस्तृत जानकारी नभएको कारण अलपत्र परेको एसपी सिंहले बताउनुभयो।

उहाँका अनुसार बालिकाहरूलाई स्थानीयवासीले सीतामढी रेल्वे प्रहरी कार्यालयमा ल्याउनुभएको जियो। उनीहरू सबै जनालाई प्रहरीले खाना खुवाएर राखेको सिंहले बताउनुभयो।

बालिका र किशोरीहरूको उमेर १० वर्षदेखि १८ वर्षसम्म छ। सबै जना पासवान समुदायका भएको प्रहरीले जनाएको छ।

उनीहरू सबै एउटै टोलका र दाजुभाइका छोरीहरू रहेको बताइएको छ।

कोभिड महामारीका कारण गरिएको कडाका कराण नेपाल र भारतबीचको सीमा अझै नियमित भइसकेको छैन। दुई देशबीचको सीमामा सवारीसाधन सञ्चालनमा नभएकाले मानिसहरू पैदल आवतजावत गर्छन्।

सीतामढी रेल्वे प्रहरी थानामा नेपाली प्रहरी र सशस्त्र सीमा सुरक्षा बल(एसएसबी)भारतका अधिकारीहरू समेत पुगेको बताउँदै सिंहले भने, ‘नेपाललाई सुपुर्दगी गर्ने प्रक्रिया प्रारम्भ भएको छ।’

घरबाट घाँस काट्न हिँडेका बालिकाहरू सीतामढीसम्म पुग्दा कसैले अपहरण अथवा प्रलोभनमा पारेर नल्याएको बताएका छन्। उनीहरू स्वयंले नै ‘गायिका’ बन्न मुम्बई जान लागेको बताएका छन्।

महोत्तरीका एसपी दिनेश आचार्यले जनाएअनुसार अहिले सीतामढीमा दुवै तर्फका प्रहरी अधिकारीहरूले बालिका बुझ्ने प्रक्रिया भइरहेको छ।

Share Now

Leave a comment.