अबुजा(नाइजेरिया), २४ चैत्र(बीबीसी) । बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलबाट १ हजार ८ सय भन्दाबढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्।
आक्रमणकारीहरू दक्षिण(पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए।
हालसम्म भागेका ६ जना कैदीहरू फर्किएको बताइएको छ।
३५ जनाले भने त्यहाँबाट भाग्न अस्वीकार गरेका थिए।
प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह द इन्डिजिनिएस पीपल अफ बियाफ्राले आक्रमण गरेको आरोप लगाएको छ।
तर उक्त समूले आफ्नो सङ्लग्नता अस्वीकार गरेको छ।
जेलबाट १ हजार ८ सय ४४ कैदी फरार भएको अधिकारीहरूले बताएका छन्।
हमला
सोमवार बिहान पिकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडियल सेन्टर प्रवेश गरेका थिए।
प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेका थिए।
राष्ट्रपति मुहम्मदु बुहारीले आक्रमणलाई ‘अराजकतावादीहरूले’ गरेको ‘आतङ्कवादको कार्य’भन्ने संज्ञा दिनुभएको छ।
उहाँले सुरक्षा निकायहरूलाई आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्रन निर्देशन दिनुभएको छ।
द इन्डिजिनिएस पिपल अफ बियाफ्राका एकजना प्रवक्ताले समाचार संस्था एएफपीलाई सोमवारको आक्रमण पछाडि उक्त समूहको हात रहेको विषय झुटो रहेको बताउनुभएको छ।
जनवरी महिनादेखि दक्षिण(पूर्वी नाइजीरियाका कैयौँ प्रहरी कार्यालय र सवारीसाधनमा आक्रमण गरिएको छ र ठूलो परिमाणमा गोलीगठ्ठा चोरी गरिएको छ।