भरतपुर(चितवन) । चितवनको ठिमुराबाट तनहुँको देवघाट जोडन त्रिशुली नदी माथि बनाइदै गरेको पक्कीपुल भत्केको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पुलको ८० मिटर भाग भत्किएको हो । पुलको कुल लम्बाई २२० मिटर रहेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले दिनुभएको जानकारी अनुसार यो पुलको निर्माण इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभीले पाएको छ । पुल ढलान गरेको २१ दिनमा भत्किएको हो । साधारणतया २८ दिनमा पुलको ढलानका सपोर्ट निकाल्ने गरिन्छ ।
अधिकारीले प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुल भत्किदा अर्को बनिसकेको ४० मिटर भागसमेत भत्किएको बताउनुभयो ।
पुलको एक खण्डमा ट्रसको काम भैरहेको थियो । पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बन्दै थियो । सो ट्रसलाई लिफ्ट गर्दा पुलको ढलान खण्डमा पुगेको धक्काले भत्किएको हुनसक्ने अनुमान छ ।
भत्किएको पुलको भाग सफा गर्नुपर्ने र अन्य खण्डको पनि गुणस्तर परीक्षण गर्नुपर्ने भएकोले आउने वर्षाअघि पुलको यो खण्डको काम गर्न नसकिने स्थिति सिर्जना भएको छ ।
‘एकातिर समय बर्वाद भयो, अर्कोतिर लागत बढ्यो, ठेकेदार त राम्रो नै हो,’कार्यालय प्रमुख अधिकारीले भन्नुभयो, ‘तर दुर्भाग्य यस्तो भयो ।’
सुरुमा १६ करोडको लागतमा ठेक्का सम्झौता भएको पुलको डिजाइन ‘रिभ्यू’ गरेर २१ करोड ६८ लाख पु¥याइएको छ । डिजाइन संशोधनमा १८ महिना, भूकम्पमा ६ महिना र नाकाबन्दीमा ३ महिना काम रोकिएको थियो । दुई पटकसम्म म्याद थप गरिएको पुलको सम्झौता अवधि पुस १३ गते सकिएको थियो । कोरोना भाइरसको संक्रमणलाई देखाउँदै फेरि म्याद थप गरिएको थियो ।
भरतपुर महानगरपालिका वडा नं. १ ठिमुरादेखि देवघाट गाउँपालिका वडा नं. ५ को घिनटार जोड्न त्रिशुली नदीमाथि बन्दै गरेको पुलको ६ वर्षअघि शिलान्यास गरिएको थियो ।