काठमाडौँ, २५ चैत्र । एएफसी कप २०२१ अन्तरगत दशरथ रंगशालामा बुधबार सम्पन्न फुटबल खेलमा नेपाल आर्मीले श्रीलंकाको पुलिस स्पोर्टस् क्लबलाई सजिलै ५–१ को गोल अन्तरले पराजित गरेको छ ।
बुधबारको खेलमा नेपाल आर्मीले श्रीलंकाको प्रारम्भिक अग्रतालाई चुनौती दिंदै शानदार जित निकालेको हो । श्रीलंकाली पुलिसले २८ औं मिनेटमा ‘अगेन्स्ट रन अफ प्ले’ अग्रता लिएको थियो । इसाक एडेभुले निकालेको पासमा घानाका इभान्स एसान्टेले आकर्षक गोल गरे । एक गोल खाएको नेपाल आर्मीले त्यसपछि आक्रामक खेल खेल्यो र ४१ औं मिनेट श्रींलंकालाई एक गोल फर्काउने सफलता पायो । श्रीलंकाली रक्षापंक्तिले गरेको कमजोर ‘क्लियरेन्स’ मा सन्तोष तामाङले उत्कृष्ट गोल गरे । उनले २५ यार्डबाट गरेको शक्तिशाली हाफ–भलि प्रहार श्रीलंकाली गोलरक्षक दिनेश महेन्द्रनलाई कुनै मौका नदिएर गोलमा परिणत भएको थियो ।
पहिलो गोलपछि उच्च मनोबलका साथ खेलेको नेपाल आर्मीले दोस्रो गोलका लागि धेरै समय कुर्नु परेन र ४३ औं मिनेटमा नवयुग श्रेष्ठले हेडबाट गोल गरे । कप्तान भरत खवासले दिएको सटिक पासमा नवयुगले नजिकको दूरीबाट हेडिङ गरे । त्यसपछि गोलको बर्षा जस्तै भयो खेलको ५० औं मिनेटमा टंक बस्नेतले तेस्रो गोल गरे । त्यसपछि खेलको ८४ औं मिनेटमा सब्टिच्युट सुदील राईले चौथो गोल गरे । नवयुगले इन्ज्युरी समयको तेस्रो मिनेटमा टिमको चौथो र आफ्नो दोस्रो गोल गरे ।
बुधबार नेपाल आर्मीका तर्फबाटगौत्तम श्रेष्ठ, वसन्त विवेक (विमल पाण्डे–८२(, विकास तामाङ, टंक बस्नेत (सुदील राई–६३), सन्तोष तामाङ, नवयुग श्रेष्ठ, भरत खवास (आशिष शाक्य ९०), सेसाहाङ आङदम्बे, दीपक गुरुङ, विकास खवास (युद्ध शाही ९०) र विकाश चौधरी मैदानमा उत्रिएका थिए । निर्णायकमा कुवेतका अहदम एलाली थिए भने सहायक रेफ्रीमा कुवेतकै अब्बास हामा र अब्लल हाडीे ।
यो जीत संगै नेपाल आर्मी दोस्रो चरणमा प्रवेश गरकेो छ । उसले अब भारतको इन्डियन सुपर लिग (आईएसएल) टिम बेंगलुरु फुटबल क्लबको सामना गर्नेछ ।भारतीय कप्तान सुनिल क्षेत्रीको नेतृत्वमा रहेको बेंगलुरुसंग नेपाल आर्मीले कडा चुनौती पेस गर्नु पर्नेछ । यो खेल अप्रिल १४ मा हुने समयतालिका छ ।


















