मस्को(रुस), २७ चैत्र(बीबीसी) । कोरोनाभाइरस महामारीको आरम्भदेखि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सङ्क्रमित हुनबाट जोगाउनका लागि त्यहाँको सरकारले असाधारण कार्यहरू गरेका छ। क्रेम्लिन शैलीको क्वारन्टीन कसरी तयार पारिन्छ र यसमा कति खर्च हुन्छ त ?
पुटिनको नजिक पुग्नुअघि जो कोहीलाई क्वारेन्टाइनमा राखिन्छ। गत एक वर्षमा सयौँ मानिसहरूलाई त्यसरी क्वारेन्टाइनमा राखिएको छ।
राष्ट्रपति पुटिनले भेट्ने मानिसहरूको सम्पर्कमा रहेका कारण केहीले एकान्तवासमा बस्नुपरेको थियो।
कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिन थालेसँगै सन् २०२० को मार्च २५ मा पुटिनले राष्ट्रका नाममा सम्बोधन गर्दै एप्रिल १ बाट ूकाम नगर्ने हप्ताू सुरु हुने घोषणा गर्नुभएको थियो।
त्यसको केही दिनपछि लकडाउनको घोषणा गरियो। पसलहरू बन्द भए, ठूलो सङ्ख्यामा मानिसहरू भेला हुन बन्द भयो र ठूलो सङ्ख्यामा मानिसहरूले घरबाटै काम गर्न सुरु गरे।
सन् २०२० को मार्च २६ मा पहिलो पटक रुसी राष्ट्रपतिको विशेष विमानमा कार्यरत ६० सदस्यलाई मस्कोनजिकै एउटा होटलमा क्वारेन्टाइनमा राखियो।
त्यसयता रुसका दर्जनौँ होटलमा सयौँ विमानचालक, चिकित्सक, सवारीचालक, अन्य कर्मचारी र पुटिनलाई भेट्ने मानिसहरूले क्वारेन्टाइनमा समय व्यतित गरेका छन्।
पुटिनले रुसमै निर्मित कोभिडविरुद्धको खोप लगाएको बताइएको छ। उनले कुन खोप लगाए भन्ने सार्वजनिक गरिएको छैन।

पुटिन
तर उनले खोप लगाएको भए पनि क्वारेन्टाइनका रूपमा प्रयोग गरिएका होटलहरूसँगको सम्झौता आगामी वर्षसम्म कायम रहने देखिएको छ।
रुसी राष्ट्रपतिका गतिविधि सहज रूपमा अघि बढून् भन्ने विषय सुनिश्चित गर्नका लागि गठन गरिएको निकायले महामारीसँग सङ्घर्ष गर्ने उपाय खोज्न राज्यकोषबाट करिब ८ करोड ४० लाख अमेरिकी डलर प्राप्त गरेको बीबीसी रुसी सेवाले हिसाब निकालेको छ।
क्वारेन्टाइनका लागि कम्तीमा १२ वटा होटल प्रयोग गरिएको बीबीसी रुसी सेवाले पत्ता लगाएको छ।
सरकारले नै सञ्चालन गरेका ती होटल मस्को र आसपासका क्षेत्रदेखि पुटिनलाई मन पर्ने स्थानहरूमा अवस्थित छन्।
होटलमा सबैभन्दा बढी समय बिताउनेमा विशेष विमानका चालकदलका सदस्यहरू छन्। उक्त टोलीले पुटिन, रुसी प्रधानमन्त्री र अन्य आठ मन्त्रिपरिषद् सदस्यहरूको सेवामा खटिन्छन्।
गत वर्ष पुटिनले अधिकांश समय सोट्चीस्थित निवासमा बिताएको बीबीसीले बुझेको छ।
एक जानकारका अनुसार दर्जनौँ पाइलट र अन्य कर्मचारीहरूले राष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री र अन्य सदस्यहरूलाई सेवा उपलब्ध गराउनका लागि सोट्चीनजिकै क्वारेन्टाइनमा बसेका थिए।

दोस्रो विश्वयुद्धको जितको ७५औँ वार्षिकोत्सव रुसको प्रमुख उत्सव हुनुपर्ने थियो। तर मे ९ तारिखमा गरिनुपर्ने कार्यक्रमलाई जुन २४ मा सारियो र सानोतिनो कार्यक्रम गरेर सम्पन्न गरियो।
सेनाले परेड गरेको कार्यक्रममा युद्धमा होमिएका वरिष्ठ अधिकारीहरूले पुटिनसँग हात मिलाउँदै पुरस्कार ग्रहण गर्नुभयो।
सन् ८० र ९० को दशकका करिब ८० जना वरिष्ठ सुरक्षा अधिकारीसहित पुटिनसँग प्रत्यक्ष देखभेट गर्ने करिब २०० जनालाई दुई हप्ताअघि देखि क्वारेन्टाइनमा राखिएको ब्लूम्बर्गले जनाएको छ।
क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले उक्त विषय पुष्टि गर्दै आवश्यक सतर्कता अपनाइएको बताएका थिए।

पुटिन
रुसी सरकारी सञ्चारमाध्यमहरूले कसरी ूएउटा रुसी होटलू मा २० पत्रकारलाई क्वारेन्टाइनमा राखिएको थियो भन्ने विवरण प्रकाशन गरेको थियो।
प्रत्येक व्यक्तिलाई छुट्टाछुट्टै कोठा दिइएको थियो र सरसफाइका बेला मात्रै उनीहरू बाहिर निस्कन पाउँथे। एकअर्कासँग इन्टरनेट वा फोनको माध्यमबाट उनीहरूले कुराकानी गर्न पाउँथे।
उनीहरूलाई धूमपान र मद्यपान गर्न पनि रोक लगाइएको थियो।
होटलबाहिरबाट ल्याइएका सामान जाँच र निःसङ्क्रमण गरेपछि मात्रै ती पत्रकारहरूकहाँ पुर्याइन्थ्यो।
उनीहरूलाई दिनमा तीन पटक खाना खुवाइन्थ्यो। खानपिनका सामग्री ढोकाबाहिर राखिएको हुन्थ्यो र उनीहरूको सम्पर्कमा आउने जोकोहीले व्यक्तिगत सुरक्षा पोशाक लगाएका हुन्थे।
‘रुसी राष्ट्रपतिको भ्रमणका बेला सङ्क्रमण सर्नबाट रोक्नका लागि’ तयारी गर्न सरोफ सहरका स्थानीय निकायहरूले १३ हजार अमेरिकी डलर खर्च गरेका थिए।
रुसी राष्ट्रपतिको सुरक्षार्थ चालिएका कदमहरूबारे बीबीसीले क्रेम्लिनका प्रवक्तालाई प्रश्न सोधेको थियो।
अन्य देशहरूमा पनि यस्तै किसिमका उपायहरू अवलम्बन गरिएको छ कि छैन भन्ने विषयबारे उनी जानकार भए नभएको विषयमा समेत गरिएको प्रश्नमा दिमित्री पेस्कोभले प्रतिक्रिया जनाउन चाहेनन्।


















