Prakash Adhikari April 11, 2021

 

नेपिताओ(म्यानमार), २९ चैत्र । म्यान्मारको बागो शहरमा सेनाले ८० भन्दा धेरै प्रदर्शनकारीको हत्या गरेको अभियन्ताहरुले जनाएका छन् । शुक्रबार सेनाले यहाँ प्रदर्शनकारीमाथि गोली चलाएको हो ।

सेनाले मृतकको शवलाई आफैं लिएर गएकाले मृत्यु हुनेको यकिन संख्या खुल्न सकेको छैन । हिंसा चर्किएपछि यस शहरबाट ठूलो जनसंख्या अन्यत्र सरेको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार सेनाले ठूला हतियारहरु प्रयोग गरेका थिए, उनीहरुले प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाए । फेब्रअरीमा सैनिक कु भएयता म्यान्मारमा जननिर्वाचित सरकार पुनस्र्थापित हुनुपर्ने मागसहित आन्दोलन जारी छ । यस प्रदर्शनका क्रममा ६ सयभन्दा धेैरे मारिएका छन् ।

पर्यवेक्षक संस्था राजनीतिक बन्दी सहयोग संघ (एएपी
पी) का अनुसार मारिनेको संख्या योभन्दा धेरै हुनसक्छ ।
म्यान्मार नाउ न्युजले सेनाको यस बर्बरता जातिय नरसंहारजस्तै रहेको टिप्पणी गरेको छ । सैनिकहरुले छायाँ देखिएका हरेक ठाउँमा गोली चलाएको उसको टिप्पणी छ ।

बागो शहरमा भएको उक्त घटनामा ठ्याक्कै कति मानिस मारिए भन्ने विस्तृत विवरण आउन बाँकी छ। सुरक्षाकर्मीले लासहरूको चाङ लगाएर राखेको र मानिसहरूलाई प्रवेश निषेध गरेकाले मृतकको संख्या एकिन गर्न कठिन भएको एएपिपीले जनाएको छ।

बागोमा शुक्रबार बिहानैदेखि गोली हान्न सुरू गरिएको थियो भने अपरान्हसम्म यो क्रम जारी थियो।

सुरक्षाकर्मीको दमनबाट आत्तिएका सहरवासीले सहर छोड्न थालेका छन्।

गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले फेब्रुअरी १ मा कूमार्फत सत्ता कब्जा गरेको थियो। त्यसयता भएका प्रदर्शनमा सेनाले नागरिकमाथि निर्मम दमन गरिरहेको छ।

एएपिपीका अनुसार सैनिक कूपछि सुरक्षाकर्मीको हातबाट ६ सय १८ जना नागरिकको मृत्यु भइसकेको छ। सेनाले भने अहिलेसम्म २ सय ४८ जना सर्वसाधारण र १६ जना प्रहरीको मृत्यु भएको बताएको छ।

यसैबीच सैनिक कूको विरोधमा रहेका आदिवासी विद्रोहीहरूको समूह ब्रदरहुड एलाएन्सले सान प्रान्तको एउटा प्रहरी चौकीमा आक्रमण गरेको छ। शनिबार बिहानै भएको उक्त आक्रमणमा परी १० जना प्रहरीहरू मारिएको म्यानमारका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

त्यसैगरी तमुले थापेको घरापमा परेर ३ जना सुरक्षाकर्मीको ज्यान गएको बताइएको छ ।

म्यानमारको विग्रदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै शुक्रबार एक संयुक्त विज्ञप्ति प्रकाशन गरेर त्यहाँ कार्यरत १२ देशका राजदूतहरुले त्यहाँ भैरहेको हिंसा रोक्न, बन्दीहरुको रिहाई गर्न र लोकतान्त्रिक राज्य ब्यवस्थाको पुनर्बहाली गर्न माग गरेका छन् ।

उनीहरुले नागरिक अधिकारको सम्मान र नागरिकका व्यक्तित्व तथा संभावनाहरुको अधिकतम् विकास हुन सक्ने स्वतन्त्र, न्यायपूर्ण,शान्तिपूर्ण र लोकतान्त्रिक म्यानमारमा विश्वास गर्ने आशा र आकाक्षा भएका त्यहाँको जनताको साथ र समर्थनमा आफूहरु रहेको बताएका छन् ।

विज्ञप्तिमा अष्ट्रेलिया, युरोपेली युनियन, चेक गणराज्य, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, स्पेन, स्वीडेन,न्यूजिल्याण्ड, नर्वे, कोरिया, स्वीजरल्याण्ड्स्, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका राजदूतहरुले हस्ताक्षर गरेका छन् ।

Share Now

Leave a comment.