Prakash Adhikari April 11, 2021

दमौली(तनहुँ), २९ चैत (रासस) । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व भएको बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसदीय प्रणालीविरुद्ध राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा षड्यन्त्र भइरहेको त्यसलाई बचाउन सबै लाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।

कांग्रेस ७० वर्षदेखि संसदीय प्रणालीको पक्षमा लडेको स्मरण गर्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “आज त्यही प्रणाली जोगाउने प्रमुख सबाल हो, त्यसका लागि सबैले प्रयत्न गर्नुपर्छ ।” वरिष्ठ नेता पौडेलले सत्ताभन्दा व्यवस्था महत्वपूर्ण भएकाले सत्ताका लागि भन्दा व्यवस्थाका लागि बढी चिन्ता गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रको नेतृत्व गर्ने पार्टी चाहिएको भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । कांग्रेसले जे बोल्छ त्यसो बोल्दा जनतामा भ्रम पर्न नहुने उहाँको भनाइ थियो । “कांग्रेसलाई व्यक्ति पूजा गर्ने प्रवृत्तिबाट पनि बचाउनु छ, कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनु पर्नेछ,” पौडेलले भन्नुभयो ।
–––

Share Now

Leave a comment.