Prakash Adhikari April 11, 2021

हेटौंडा(मकवानपुर), २४ चैत्र । गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको अभियोग लागेका १२ जनालाई उच्च अदालत पाटनको हेटौडा इजलाशले सफाई दिएको छ ।

उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीशहरु चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले हत्याको अभियोग लागेका १२ जनालाई सफाइ दिने चितवन जिल्ला अदालतकै फैसलालाई सदर गरेको हो ।

हेटौंडा इजलासका उपरजिस्ट्रार कैलाश भट्टराईका अनुसार जिल्ला अदालत चितवनको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले गरेको पुनरावेदनमा यो फैसला आएको हो ।

गोरखा फुजेलका मुक्तिनाथ र गंगामाया अधिकारीका कान्छा छोरा १७ वर्षका कृष्णप्रसाद अधिकारीलाई चितवन गएको बेलामा तत्कालिन माओवादीका कार्यकर्ताहरुले हत्या गरेका थिए ।

हत्या आरोपमा २०७० चैत ३० गते छिमेकी छविलाल पौडेल, भीष्मराज पौडेल, रामप्रसाद अधिकारीसहित १२ जनाविरुद्ध मुद्दा चलाइएको थियो ।
उनीहरुलाई जिल्ला अदालत चितवनले २४ भदौ २०७५ मा सफाइ दिएको थियो ।

छोराको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गर्दै आमरण अनशन बसेका बाबु मुक्तिनाथको भने २०७१ असोज ६ गते अनशनकै क्रममा मृत्यु भएको थियो भने आमा गंगामाय हाल वीर अस्पतालमा अनशनरत हुनुहुन्छ ।

 

Share Now

Leave a comment.