Prakash Adhikari April 13, 2021

गनी अन्सारी / बीबीसी न्यूज नेपाली

काठमाडौं, ३१ चैत्र । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

गत वर्षको भन्दा अहिले सङ्क्रमणले निम्त्याएका स्वास्थ्य समस्याहरू पनि फरक पाइएको विज्ञहरू बताउँछन्।

सरकारले सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि ‘कठोर’ निर्णय लिनुअघि नै जनस्वास्वास्थ्यका मापदण्डहरू कडाइका साथ पालना गर्न स्वास्थ्य अधिकारीहरूको सुझाव छ।

दक्षिणी छिमेकी देश भारतमा कोरोनाभाइरस सङ्क्रमण भयावह रूपमा फैलिरहँदा त्यताबाट नेपाल आउने धेरै मानिसमा सङ्क्रमण देखिने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

अहिलेको अवस्था
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय दैनिक सरदर ३,००० देखि ४,००० वटा पीसीआर परीक्षण गर्ने गरिएको छ।

“दुई साताअघि दैनिक १०० भन्दा कम सङ्क्रमितहरू फेला पर्ने गरेकोमा अहिले ३०० जनाभन्दा माथि सङ्क्रमित भेटिन थालेका छन्,” मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बीबीसी न्यूज नेपालीसित भन्नुभयो ।

नेपालमा कोरोनाभाइरस

नेपालमा कोरोनाभाइरस

त्यसमध्ये १८ वर्षमुनिका बालबालिका सङ्क्रमित हुने प्रतिशत बढ्दो क्रममा पाइएको उहाँले बताउनुभयो।

“गत वर्ष सङ्क्रमण उत्कर्षमा हुँदा पनि १८ वर्षमुनिका बालबालिकामा ५.६ प्रतिशतको हाराहारीमा सङ्क्रमण देखिएको अवस्था थियो भने अहिले १० प्रतिशतभन्दा माथि रहने गरेको छ जुन चिन्ताजनक हो,” सहप्रवक्ता डा. अधिकारीले थप्नुभयो ।

इपियोडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो समय काठमाडौं उपत्यका र पोखरा लगायतका ठाउँमा कम उमेरका मानिसमा सङ्क्रमण बढी देखिएको पाइएको छ।

“अस्पतालहरूसँग बुझ्दा आकस्मिक उपचार कक्ष अथवा आईसीयूमा भर्ना हुने ५० वर्षमुनिका मानिसको दर बढ्दो क्रममा छ जुन पहिलाको भन्दा फरक हो,” बीबीसी न्यूज नेपालीसित उहाँले भन्नुभयो।

“यो नयाँ प्रकारको कोरोनाभाइरसका कारणले हो भन्ने हामी आकलन गर्न सक्छौँ। पचास वर्षमुनिका सङ्क्रमित व्यक्तिलाई पनि अक्सिजन चाहिने, अस्पताल पुर्‍याउनुपर्ने अवस्था नयाँ भेरिअन्टले गर्दा आएको हो भन्ने हाम्रो बुझाइ छ।”

तर प्रयोगशालामबाट त्यसको पुष्टि हुन भने बाँकी नै छ।

पौडेलका अनुसार पछिल्लो समय सङ्क्रमित हुनेमा दुई-तीन वर्षका बालबालिका पनि छन्।

सङ्क्रमणको प्रवृत्ति र सङ्केत

देशको कुल जनसङ्ख्याको ठूलो भाग १८ वर्षमुनिका भएकाले त्यो उमेर समूहमा सङ्क्रमण पनि बढी देखिनु सुखद सङ्केत नभएको स्वास्थ्य अधिकारीहरूको निष्कर्ष छ।

“उमेरका हिसाबले सशक्त भए पनि नयाँ भेरिअन्टले कम उमेर भएका मानिसमा समेत जटिलता नित्म्याउने जोखिम बढी देखिएकोले झन् धेरै सचेत हुन आवश्यक छ,” महानिर्देशक पौडेलले थप्नुभयो।

अहिलेको अवस्थालाई नियन्त्रण गर्दै जान नसकिएको खण्डमा देशको विद्यमान स्वास्थ्य पूर्वाधारले थेग्न नसक्नेतर्फ मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी सचेत गराउनुहुन्छ ।

विद्यालय

विद्यालय

“अहिले हाम्रो लागि खतराको घण्टी अलि राम्रैसँग सुनिनेगरी, बुझिनेगरी आएको छ।”

“एकदमै जटिल अवस्था भइसकेपछि परीक्षण गराउन जानेको सङ्ख्या बढ्दै गएको हिसाबले हामी सामुदायिक स्तरमा सङ्क्रमण पालेर बसिराखेको अथवा कोभिडलाई हेलचेक्र्याइँको हिसाबले लिन थालेको हो कि भन्ने देखिन्छ,” उहाँले थप्नुभयो।

त्यसलाई दृष्टिगत गर्दै सामाजिक दूरी कायम गर्न, मास्क लगाउन, स्यानिटाइजरको प्रयोग गर्न तथा भिडभाड नगर्न लगायतका जनस्वास्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नका लागि आफूहरूले पटकपटक आग्रह गर्दै आएको सहप्रवक्ता डा. अधिकारी बताउनुहुन्छ।

 

Share Now

Leave a comment.