Prakash Adhikari April 15, 2021

 

ह्वाइट हाउस(संयुक्त राज्य अमेरिका), २ बैशाख(बीबीसी) । अमेरिकी राष्ट्रपति जो बाइडनले सैन्य स्रोतका साथ नभए पनि अमेरिकाले अफगानिस्तानलाई सहयोग जारी राख्ने वाचा गरेका छन्।

सन् २००१ मा अमेरिकी हवाई हमला घोषणा गरिएको ह्वाइट हाउसको कक्षबाट राष्ट्रपति बाइदनले भन्नुभयो, ‘यो अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने बेला हो।’

अधिकारीहरूका अनुसार सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आतङ्कवादी हमलाको २०औँ वार्षिकी पारेर सैनिकहरूलाई फिर्ता ल्याउन लागिएको हो।

यतिखेर अफगानिस्तानमा रहेका ९,६०० नेटो सैनिकमध्ये कम्तीमा २,५०० अमेरिकी फौज छन्।

 

अफगानिस्तानमा रहेका अमेरिकी सैनिकको सङ्ख्या थपघट भइरहन्छ।

अमेरिकी सञ्चारमाध्यमहरूले अहिलेको कुल सङ्ख्या ३,५०० को नजिक रहेको जनाएका छन्।

अमेरिकी र नेटो अधिकारीहरूका अनुसार एउटा कट्टरपन्थी इस्लामवादी अभियान( तालिबानले अफगानिस्तानमा हिंसा घटाउने वाचा अहिलेसम्म पालना गरिरहेको छ।

काबुलको प्रतिक्रिया

काबुलमा अफगान अधिकारीहरूले फिर्तीको तयारीका रूपमा शान्ति वार्ता जारी राख्ने बताएका छन्।

बुधवार अफगान राष्ट्रपति असरफ गनीले एउटा ट्वीट गर्दै आफूले राष्ट्रपति बाइडनसँग टेलिफोनमा कुरा गरेको बताउनुभएको थियो।

राष्ट्रपति घानीले आफ्नो देशले अमेरिकी निर्णयको सम्मान गर्ने र सहज सङ्क्रमणको सुनिश्चितताका लागि अमेरिकी साझेदारसँग काम गर्ने जनाउनुभएको छ।

उहाँले अफगान फौजहरू आफ्नो देश र मानिसहरूको रक्षाका लागि पूर्ण रूपमा सक्षम रहेको बताउनुभयो।

बाइडनको भनाई

बाइडन अफगान युद्धको नेतृत्व गर्ने चौथो अमेरिकी राष्ट्रपति हुनुहुन्छ।

‘हामीले उपयुक्त अवस्था गरेपछि फिर्ता हुने आशामा अफगानिस्तानमा हाम्रो उपस्थितिलाई लम्ब्याउने वा बढाउने चक्रलाई जारी राख्न सक्दैनौँ।’, राष्ट्रपति बाइडनले भन्नुभयो,’सैन्य रूपमा हामी अफगानिस्तानमा संलग्न नरहे पनि हाम्रा कूटनीतिक र मानवीय कामहरू जारी रहनेछन्।’

उहाँले अफगान सरकारलाई सहयोग गर्ने काम जारी राख्ने बताउँदै तीन लाखको सङ्ख्यामा रहेका अफगान सुरक्षा बललाई सहायता दिने काम जारी राख्ने वाचा गर्नुभयो।

बाइडनले अफगानिस्तानमा हस्तक्षेप गर्ने अवस्था सिर्जना गराएको सेप्टेम्बर ११ को हमलाका पीडितहरूमाथि श्रद्धाञ्जलि समेत व्यक्त गर्नुभयो।

‘हामीले सामुन्ने रहेका चुनौतीहरूमा ध्यान दिनुपर्नेछ’,साइबर हमलाहरू र चीनसँगको बढ्दो तनावलाई सङ्केत गर्दै उहाँले भन्नुभयो।

Share Now

Leave a comment.