विरेन्द्रनगर(सुर्खेत), ३ बैशाख । नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बन्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनुहुने भएको छ ।
प्रदेश सभाको कार्यसूची अनुसार आजको बैठकमा २ वटा अध्यादेश पेश गर्ने र सभामुखले प्रदेशसभा सदस्य धर्मराज रेग्मीको पद रिक्त भएको जानकारी गराउने कार्यक्रम छ । त्यसपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यक्रम रहेको छ।
४० जना सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत सदस्यको विश्वासको मत लिन २० जना सांसद आवश्यक पर्छ। तर माओवादीकै सांसदको संख्या भने १२ जना मात्रै छ। त्यसमध्ये १९ जना नेकपा एमाले, ६ जना कांग्रेस र १ जना राप्रपाका सांसद छन्। मुख्यमन्त्री शाहीले कांग्रेस राप्रपासहित नेकपा एमालेको असन्तुष्ट पक्षबाट विश्वासको मत पाउने आशा राख्नुभएको छ।
माओवादीको हिजो बसेको संसदीय दलको बैठकले प्रदेशसभामा विश्वासको मत लिने र यसका लागि सबै दलहरुलाई विश्वासको मत दिन अपिल गर्ने निर्णय गरेको थियो।
आफूसंग आवश्यक संख्या नभए पनि विश्वासको मत लिनका लागि नेकपा माओवादी केन्द्रद्धारा चालिएको कदमले मुख्यमन्त्री शाही विश्वासको मत पाउनेमा विश्वस्त भएको प्रतित हुन्छ । उहाँ नेकपा एमालेका असन्तुष्ट समूहले साथ दिने विश्वासमा हुनुहुन्छ ।
तर नेकपा एमालेको प्रदेशसभाका प्रमुख सचेतक गुलावजंग शाहले भने पार्टीका सांसदहरुले फ्लोर क्रस गर्ने संभावनालाई नकार्नुभएको छ । नेकपा एमालेका सांसदहरुको साथ बिना कर्णालीमा माओवादी सरकार टिक्न सक्दैन् ।
मुख्यमन्त्री शाहीले तरबारको धारमा रहेर विश्वासको मत लिने निर्णय गर्नुभएको छ ।