Prakash Adhikari April 17, 2021

 

लण्डन(संयुक्त अधिराज्य), ४ बैशाख(बीबीसी) । गत साता शुक्रवार ९९ वर्षको उमेरमा निधन भएका महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार एप्रिल १७ शनिवारका दिन हुन लागेको छ।

त्यसका लागि आवश्यक तयारीहरू भइरहेका छन्।

शवयात्रा र अन्त्येष्टि कतिबेला, कसरी र कहाँ गरिंदै छ भन्ने बारेमा संक्षिप्त विवरण यहाँ प्रस्तुत गरिएको छ।

राजकुमार फिलिपको अन्तिम संस्कार कहाँ हुनेछ ?

अन्तिम संस्कारको औपचारिक शाही समारोह एप्रिल १७ का दिन शनिवार ब्रिटिश समयानुसार दिउँसो ३ बजे (नेपाली समयानुसार साँझ ७ ः ४५ बजे) विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा हुनेछ।

राजकुमार फिलिपको शव यतिखेर विन्डसर कासलस्थित प्राइभेट च्यापलमा राखिएको छ।

सेन्ट जोर्जेज् च्यापेल

सेन्ट जोर्जेज् च्यापेल
राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न र आफ्नो शवपेटिकालाई सर्वसाधारणले हेर्नेगरी समेत नराख्न अनुरोध गरेको बताइएको छ।

अन्तिम संस्कार समारोह टेलिभिजनमार्फत् देखाइनेछ।

अन्तिम संस्कारमा को को सहभागी हुँदैछन् ?

कोरोनाभाइरससम्बन्धी प्रतिबन्धहरूका कारण इङ्ग्ल्यान्डमा सामाजिक दूरी कायम गर्दै ३० जना मानिस मात्र एक ठाउँमा भेला हुन पाउँछन्।

आमन्त्रितको सूचीमा महारानी र ड्यूक अफ एडिन्बराका परिवारका सदस्यहरूसहित उनका तीन जर्मन नातेदार हुनुहुन्छ।

उहाँका नाति ड्यूक अफ ससिक्स राजकुमार ह्यारी उक्त समारोहमा सहभागी हुनुहुनेछ। उहाँकी गर्भवती पत्नी मेगन भने चिकित्सकहरूको सल्लाहमा अमेरिकाबाट आउनेहुने छैन।

गत वर्ष राजपरिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो राजकीय जिम्मेवारी परित्याग गरेपछि पहिलो पटक राजकुमार ह्यारी यूके फर्कनुभएको हो।

सरकारले जारी गरेको सुझावअनुसार सहभागीहरूले मास्क लगाउनुपर्नेछ।

तोकिएको सङ्ख्यामा शवपेटिका बोक्ने मानिसहरू र पादरीहरू समाविष्ट छैनन्।

अन्तिम संस्कार हुने दिन के के गरिनेछ ?

औपचारिक रूपमा गरिने ड्यूकको अन्तिम संस्कार राजकीय भने हुनेछैन।

राजकीय अन्तिम संस्कार विशेषतः राजगद्दीमा आरूढ व्यक्तिका लागि आयोजित गरिन्छ। तर यसअघि युद्धकालीन समयका प्रधानमन्त्री विन्स्टन चर्चिलको अन्तिम संस्कार पनि राजकीय सम्मानपूर्वक गरिएको थियो।

शवयात्रा

शवयात्रा
सन् २००२ मा महारानीकी आमा र सन् १९९७ मा प्रिन्सेस अफ वेल्स डायनाको समेत औपचारिक रूपमा अन्तिम संस्कार गरिएको थियो।

शनिवार राजकुमार फिलिपको शवपेटिकालाई निजी च्यापलबाट विन्ड्सर कासलको राजकीय प्रवेशद्वारमा सारिनेछ।

सेन्ट जोर्जेज् च्यापलसम्मको छोटो मार्गबाट ड्यूकको शवलाई उहाँ आफैँले परिमार्जनसहित डिजाइन गर्न सघाएको ल्यान्ड रोभर कारमा राखेर लगिनेछ।

भिडभाडका लागि कोरोनाभाइरसका प्रतिबन्धका कारण अन्तिम संस्कारमा सहभागी हुने व्यक्तिको सङ्ख्या यसअघिको भन्दा निकै कम गरिएको छ।

यद्यपि राजदरबारले त्यसमा ड्यूकको ूइच्छा प्रतिविम्बित हुनेू तथा उहाँको सार्वजनिक सेवाको जीवनको ‘उत्सव र झल्को’ मिल्ने जनाएको छ।

कुन समयमा हुनेछ अन्तिम संस्कार

स्थानीय समयानुसार बीसएटी १४ः१५ बजे विन्ड्सर कासलस्थित क्वड्र्‍याङ्गलमा हाउसहोल्ड क्याभल्री र फुट गार्ड्सका सहित राजकुमार फिलिपसँग विशेष सम्बन्ध भएका सैनिक टुकुडीहरू लामबद्ध हुनेछन्।

बीसएटी १४ः२० बजेबाट शवयात्रामा सहभागी नहुने राजपरिवार र ड्यूक अफ एडिन्बाराका परिवारका सदस्यहरू विन्ड्सर कासलदेखि कारमा चढेर सेन्ट जोर्जेज् च्यापलका लागि प्रस्थान गर्नेछन्।

बीसएटी १४ः४० बजेक्वड्र्‍याङ्गमा रहेका ब्यान्डहरूले धुन बजाउन बन्द गर्नेछन् र शवपेटिकालाई बोकेर ल्यान्ड रोभरमा राखिनेछ। शवयात्रामा राजपरिवारका सदस्यहरू शवपेटिका पछिपछि आआफ्नो स्थानमा रहेर उक्त समारोहमा सहभागी हुनुहुनेछ।

बीसएटी १४ : ४५ बजे शवयात्रा सुरु हुनेछ। ग्रेनडीर गार्ड्सको टोलीको नेतृत्वमा शवयात्रा क्वड्र्‍याङ्गलबाट होर्सशू क्लोइस्टरतर्फ अघि बढ्नेछ। उक्त टोलीको पछाडि मेजर जेनरलको समूह र सेनाका चीफ अफ स्टाफहरू हुनेछन्। त्यसपछाडि ल्यान्ड रोभर र त्यसको दुवैतर्फ रोयल मरीन र राजकुमारसँग सम्बन्धित अन्य रेजिमेन्टका सैनिकहरू हुनेछन्।

शवपेटिकाको पछिपछि प्रिन्स अफ वेल्ससहित राजपरिवारका सदस्यहरू हिँड्नेछन्। आफ्नो विशेष कार स्टेट बेन्टलीमा सवार महारानी शवयात्राको पछिल्तिर रहनुहुनेछ र उहाँ ग्यालिलीतर्फको प्रवेशद्वारबाट सेन्ट जोर्जेह। च्यापलमा प्रवेश गर्नुहुनेछ।

शवयात्रा अघि बढ्ने मार्गमा रोयल नेभी, रोयल मरीन, द हाइल्यान्डर्स, स्कटल्यान्डको चौथो रोयल रेजिमेन्टको गण र रोयल एअर फोर्सका सदस्यहरू पङ्क्तिबद्ध हुनेछन्।

द किङ्स रोयल होर्स आर्टिलरीले इस्ट लनबाट निरन्तर बन्दुकको सलामी अपर्ण गर्नेछ।

बीसएटी १४ :५३ बजे उक्त ल्यान्ड रोभर सेन्ट जोर्जेज् च्यापलको वेस्ट स्टेप्समा आएर रोकिनेछ र त्यहाँ राइफल्स रेजिमेन्टले सम्मान गारथ सहित सलामी र राष्ट्रिय गान प्रस्तुत गर्नेछ।

हाउसहोल्ड क्याभलरीका सदस्यहरू वेस्ट स्टेप्समा लामबद्ध हुनेछन् र शवपेटिकालाई च्यापलतर्फ बोकेर लैजाँदै गर्दा रोयल नेभीको एउटा ब्यान्डले विशेष धुन बजाउनेछ।

ड्यूकको मर्यादाअनुसार ढाकिएको उक्त शवपेटिका माथि माल्यार्पणका लागि पुष्पगुच्छा ड्यूकको जलसेनामा कार्यरत हुँदा उहाँको टोपी र खड्ग हुनेछन्। विन्ड्सरका डीन र आर्चबिशप अफ क्यान्टबरी पनि त्यहाँ सहभागी हुनुहुनेछ।

राजपरिवारका सदस्यहरू मात्रै च्यापलमा प्रवेश गर्नुहुनेछ र शवयात्रामा सहभागी अरू व्यक्ति बाहिरै बस्नुहुनेछ।

बीसएटी १५ : ०० बजे ड्यूकको सम्मानमा देशभरि एक मिनेट मौनधारण गरिनेछ। मौनधारण अवधिको आरम्भ र अन्त्यको सङ्केत द किङ्स ट्रूप रोयल होर्स आर्टिलरीले तोप पड्काएर दिनेछ।

च्यापलभित्र अन्तिम संस्कारको समारोह सुरु हुनेछ र शवपेटिकालाई क्वाईरमा रहेको क्याटाफ्लेक भनिने संरचनामा राखिनेछ।

उक्त समारोहपछि ड्यूकलाई रोयल भल्टमा समाधिस्थ गरिनेछ।

राजकुमार फिलिप

राजकुमार फिलिप : झण्डा र चिह्न
ड्यूकको शवपेटिका उहाँको व्यक्तिगत झण्डाले ढाकिनेछ। उक्त झण्डाले उहाँको जीवन, ग्रीक मूलदेखि ब्रिटिश सम्मानहरूलाई प्रतिनिधित्व गर्नेछ।

सन् १९४६ मा तत्कालीन राजकुमारी एलिजावेथसँग विवाह गर्ने पक्का भएपछि उहाँ आफ्नो ग्रीक हैसियत त्याग गर्दै ब्रिटिश नागरिक बन्नुभएको थियो र आफ्नी आमाको वंशबाट आएको अङ्ग्रेजी नाम माउन्टब्याटन ग्रहण गर्नुभएको थियो।

माउन्टब्याटन परिवारलाई पनि त्यही भएर विशेष सम्मान दिइएको छ। विवाहपछि फिलिप ड्यूक अफ एडिन्बरा बन्नुभएको थियो ।
सेन्ट जोर्जेज् च्यापलमा राजकुमार फिलिपको जीवन र देशप्रतिको उहाँको सेवा झल्काउने कैयौँ सामग्रीहरू प्रदर्शन गरिनेछ।

तिनमा ड्यूकले यूकेबाट प्राप्त गरेका चिह्न, पदवी, अलङ्कार र कमनवेल्थ देशहरू, रोयल एअर फोर्सबाट प्राप्त सम्मान र डेनमार्क अनि ग्रीसबाट प्राप्त गरेका सम्मान छन्।

च्यापेल

च्यापेल

सर्वसाधारणले कसरी सम्मान व्यक्त गर्न सक्नेछन् ? 

स्वास्थ्यसम्बन्धी सुझावहरूका कारणले गर्दा सर्वसाधारण नागरिकलाई अन्तिम समारोहका कुनै पनि गतिविधिमा भाग नलिन भनिएको छ।

राजपरिवारले दरबारहरूमा फूल वा अरू सन्देशहरू पनि नराख्न आग्रह गरेको छ।

राजपरिवारको वेबसाइटमा सर्वसाधारणहरूलाई ड्यूकको सम्झनामा फूल खरिद गर्नुको साटो परोपकारी संस्थाहरूमा दान गर्नेबारे विचार गर्न भनिएको छ।

व्यक्तिगत रूपमा श्रद्धाञ्जलि व्यक्त गर्न अनलाइन शोकपुस्तिका पनि उपलब्ध छ।

अन्तिम संस्कारपछि के हुन्छ ?

अन्तिम संस्कारको दिन राष्ट्रिय शोकको अवधि समाप्त हुन्छ।

राजपरिवारले दुई साता शोक मनाउनेछ।

तर परिवारका सदस्यहरू उपयुक्तता हेरेर शोकको सङ्केत गर्न कालो रङ्गको पट्टी लगाएरै कार्यक्रमहरूमा सहभागी हुनहुनेछ ।

Share Now

Leave a comment.