Prakash Adhikari April 18, 2021

 

मस्को(रुस), ५ बैशाख(बीबीसी) । जर्मनीमा गरिएको मन्दबिष विरुद्धको उपचारपछि स्वदेश फर्कदा एअरपोर्टबाटै जेल लगिएका रुसी विपक्षी अभियानकर्मी एलेक्सी नभाल्नीको ‘केही दिनभित्र ज्यान जान सक्ने’ उहाँका चिकित्सकहरुले बताएका छन्।

चिकित्सकहरू अनुसार हालै गरिएका रगत परीक्षणका नतिजाले उनी हृदयाघात अथवा मिर्गौलाले काम गर्न नसक्ने अवस्थाको शिकार हुन सक्ने देखाएका छन्।

ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै विगत १८ दिनदेखि नभाल्नी अनशनरत हुनुहुन्छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले जेलमा रहेका नभाल्नीको अवस्थालाई पूर्णतः अन्यायपूर्ण र अनुपयुक्त भन्नुभएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक नभाल्नीलाई आर्थिक हिनामिनासम्बन्धी पुराना अभियोगहरूमा गत फेब्रअरी महिनामा जेल पठाइएको थियो।

परीक्षण गराउन माग
तत्काल नभाल्नीलाई हेर्ने अनुमति माग्दै उहाँकी निजी चिकित्सक डा. अनास्तासिआ भसिलिएभासहित चारजना चिकित्सकले कारागार अधिकारीहरूलाई पत्र लेख्नुभएको छ।

डा. भसिलिएभाले सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरेको पत्रमा विज्ञहरूका अनुसार नभाल्नीको शरीरमा पोटासियमको मात्रा गम्भीर तहमा पुगेको उल्लेख गरिएको छ।

त्यसको अर्थ कुनै पनि समय मिर्गौलाको काम र मृटुको धडकनमा गम्भीर समस्या हुनसक्ने बताइएको छ।

रगतमा पोटासियमको तह प्रतिलिटर ६.० मिलिमोल्सभन्दा बढी भएपछि सम्बन्धित मान्छेलाई तत्काल उपचार गराउनुपर्ने हुन्छ।

नभाल्नीका वकिलहरूमार्फत् उपलब्ध गराइएको रगत परीक्षणको नतिजाअनुसार उनको रगतमा पोटासियमको तह प्रतिलिटर ७.१ रहेको पत्रमा उल्लेख छ।

रगत परीक्षणका नतिजा र हालसालै विष दिइएको घटनालाई ध्यानमा राख्दै तत्काल नभाल्नीको स्वास्थ्य परीक्षण गर्न दिन चिकित्सकहरूले कारागार अधिकारीहरूलाई आग्रह गरेका छन्।

सन् २०२० को अगस्ट महिनामा स्नायु प्रणालीलाई असर गर्ने विष दिइएकोमा ४४ वर्षीय नभाल्नीको झण्डै ज्यान गएको थियो।

राष्ट्रपति पुटिनले विष दिन लगाएको नभाल्नीले आरोप लगाउँदै आउनुभएको छ।

तर रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले ती आरोप अस्वीकार गर्दै आएको छ।

नभाल्नीकी श्रीमती युलिआलाई समाचारसंस्था एपीले उद्धृत गर्दै जनाएअनुसार अनशन शुरू गरेयता नभाल्नीको तौल नौ किलोले घटेर अहिले ७६ किलो पुगेको छ।

Share Now

Leave a comment.