कीर्तिपुर(काठमाडौं),५ बैशाख । नेपाल,मलेशिया र नेदरल्याण्डका बीचमा काठमाडौंमा भैरहेको टी २० सिरिज क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्डले दिएको १ सय ९२ रनको लक्ष्य पाएको मलेसियाले पूरै २० ओभरको ब्याटिंगमा ८ विकेट क्षतिमा १ सय ७६ रन मात्र बनाएर परिणाम नेदरल्याण्ड्सको पक्षमा सुम्पियो ।
लक्ष्य पछ्याउने क्रममा मलेसियाको सुरुवात खराब रह्यो। ओपनर सयद अजिज ७ रन, अनवर अरुदीन ६ रन तथा कप्तान एहमद फैज र शफिक शरिफ खाता नखोली आउट भए। खेलमा सर्भिन मुनिएण्डीले २८ रन बनाए । अमिनुद्दीन रामलले २६ रन बनाए। भीरनदिप सिंहले ५३ बलमा ६ चौका र ६ छक्काको मद्दतले ८७ रन बनाए । अन्तिम ओभरमा मलेसियालाई जितका लागि २३ रन बनाउनु पर्ने थियो तर मलेसियाले ७ रन मात्र बनायो र नतिजा नेदरल्याण्ड्सलाई सुम्पियो।
मलेशियालाई रोक्ने क्रममा नेदरल्याण्डका बास डी लिड, सेवास्टिएन ब्राट आर्यन दत्तले समान २ । २ विकेट लिए। भने पिटर सिलर र फिलिप बोसेभेनले समान १ । १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको नेदरल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो।
ओपनर टोबेस भाइस १ रन बनाएर तेश्रो ओभरमा पवनदीप सिंहबाट बोल्ड भएपछि अर्का ओपनर म्याक्स ओ’डोडले ७३ बलमा १५ चौका र ६ छक्काको मद्दतले अविजित १ सय ३३ रन बनाए । खेलम स्कट एड्वार्ड्सले १८ रन बनाए भने बेन कुपरले अविजित २० रन बनाए।
नेदरल्याण्ड्स रोक्ने क्रममा मलेसियाको बलिंगमा पवनदीप सिंह र अनवर रहमानले समान १ । १ विकेट लिए। सिरिज अन्तर्गत नेपालले दोश्रो खेल सोमबार मलेसियासंग खेल्ने तालिका रहेको छ


















