काठमडौं, ५ बैशाख । भारतीय बजारबाट स्वतन्त्र ढंगले विद्युत् खरिद गरी आयात गर्न सकिने व्यवस्थालाई भारतीय पक्षले पनि स्वीकृती दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
बिहीवार प्राधिकरणद्धारा जारी गरिएको विज्ञप्तिमा भारतीय ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत् खरिद गरी आयात गर्न सक्नेगरी स्वीकृति दिइएको जानकारी प्राधिकरणलाई दिएको उल्लेख छ।
हालसम्म नेपालले भारतबाट तोकिएको शुल्कमा विद्युत् खरिद सम्झौता (पीपीए) गरेर विद्युत् खरिद गर्न सक्थ्यो।
तर अब ‘डे अहेड मार्केट’ अर्थात् शनिवार रातिको १२ बजेपछिको बिजुली चाहिए शुक्रवार बिहान १० बजेभित्र आवेदन दिएर बिजुली खरिद गर्न सकिने बताइएको छ।
नेपाल भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले यो व्यवस्था नेपालको ऊर्जा विकासका लागि महत्त्वपूर्ण कोसेढुङ्गा रहेको अधिकारीहरूको भनाइ छ।
भारतीय पक्षको पछिल्लो स्वीकृतिसँगै नेपालले अब आफूले चाहे जति विद्युत् प्रतिस्पर्धात्मक बजार भाउमा आधारित रहेर खरिद गर्न पाउनेछ।
फाइदाका पक्ष
पछिल्लो व्यवस्थासँगै दुवै पक्षले (खरिदकर्ता र विक्रेता) खरिद र विक्रीमा बोलपत्र जस्तै बिलिङ गरेर प्रतिस्पर्धा गर्दै खरिद र विक्री गर्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनुभयो।
कुनै पनि पक्षको ‘हस्तक्षेपविनै काम हुने’ बजारमा आफूहरूले प्रवेश पाएको उहाँ बताउनुहुन्छ।

विद्युत्
‘एउटा फाइदा त हामीले २४ घण्टाअघि मात्रै निर्णय गरेर चाहिने बिजुली खरिद गर्न बजारमा जान सक्छौँ ‘, शाक्यले भन्नुभयो,’पहिले जस्तो ६ महिना( तीन महिनाअगाडि नै विभिन्न च्यानलबाट पटकैपिच्छे सरकारीस्तरमा छलफल गर्नुपर्ने भएन।’
त्यस्तै नेपालमा बढी भएको बिजुली पनि छोटो समयको प्रयासमा बजारमा बेच्न सकिने व्यवस्था भएको अधिकारीहरू बताउनुहुन्छ।
तर विक्रीका लागि थप केही प्रक्रिया पार गर्नुपर्ने र त्यसको गृहकार्य भइरहेको उहाँहरूको भनाइ छ।
‘एक प्रकारले मन्डी बजारमा गएर हामी आफूलाई बढी भएको बिजुली बेच्ने र चाहिएको खरिद गर्न सक्ने सुविधा प्राप्त भयो’, शाक्यले भन्नुभयो।
नयाँ व्यवस्थाअनुसार बिजुलीको मूल्य माग र आपूर्तिको सिद्धान्तबाट निर्देशित हुने अधिकारीहरूको भनाइ छ।
जसअनुसार पिक आवर अर्थात् बढी विद्युत् खपत हुने समयमा खरिद गर्दा महँगो पर्छ भने अन्य समयमा आपूर्ति गरिएको बिजुलीको मूल्य सस्तो पर्न आउँछ।
घट्ला बिजुलीको शुल्क ?
बजारमा कुनै पनि किसिमको ‘सुरक्षा नरहने’ हुँदा बजार भाउमा हुने कारोबारमा कहिले घाटा र कहिले नाफा हुने अधिकारीहरूको भनाई छ।
हालको अनुमतिबाट नेपालले बजारमा प्रवेश पाएको र करिब तीन महिनाअघि आयात तथा निर्यातका लागि कार्यविधि स्वीकृत भएको हुँदा त्यसैअन्तर्गत रहेर नेपाल, भारत र बाङ्गलादेशबीच त्रिपक्षीय सम्झौता गरेर अघि बढ्न सकिने शाक्यले बताउनुभयो।
तर उपभोक्ताले बिजुली सस्तो दरमा खपत गर्न पाउलान् भन्ने प्रश्नमा भने उहाँले स्पष्ट जवाफ दिनुभएन।
प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार उपभोक्ताको हकमा भने मूल्यमा फरक पर्दैन।
प्राधिकरणले आफ्नो हिसाबले विद्युत् खरिद गरे पनि बेच्ने भाउ भने विद्युत् नियमन आयोगले निर्धारण गरेको मूल्यानुसार नै हुनेछ।
घण्टैपिच्छे मूल्य फरक पर्ने र नियमन आयोगले उपभोक्ता मूल्य तोकेकाले तत्काल विद्युत् उपभोक्ताको गोजीमा भने प्रभाव नपर्ने तिम्सिना बताउनुहुन्छ।
हाल नेपालले भारतसँग ६ रुपैयाँ ६५ पैसा प्रतियुनिट बिजुली खरिद गरिरहेको प्राधिकरणको भनाइ छ।
‘यसले प्राधिकरणको नाफामा भने प्रभाव पार्छ। अलि सहज हुन्छ। यति नै पावर किन्नुपर्छ भन्ने पनि भएन’, तिम्सिनाले भन्नुभयो।
लोडशेडिङ हुने सक्ने सम्भावनाको अन्त्य होला ?
पानी नपरेर नेपालका खोला, नाला सुकिरहेको अवस्थामा गत वर्षको तुलनामा नेपालको विद्युत् उत्पादन ४० मेगावाटले घटेको प्राधिकरणको भनाइ छ।
तर विद्युत्को माग भने व्यापक रूपमा बढेको छ।
‘कोभिड हुँदाहुँदै यो वर्ष गत वर्ष १५ १६ हजार मेगावाट प्रतिघण्टा माग थियो भने यो वर्ष वैशाखमा २७ हजार मेगावाट प्रतिघण्टा सम्म दैनिक खपत भइरहेको छ।’
‘यस्तो अवस्थामा खोला पनि सुकेको, प्राधिकरण र निजी क्षेत्रको उत्पादन पनि सुकेको अनि कुलेखानीमा पनि धेरै ड्र(डाउन (घटेको) भएको अवस्थामा इन्डियन पावर एक्सचेन्जबाट बढी बिजुली लिन सक्दा हामीलाई धेरै राहत भने हुन्छ’, उहाँले भन्नुभयो।
हाल प्राधिकरणले भारतबाट करिब १७ हजार मेगावाट प्रतिघण्टा बिजुली आयात गरिरहेको छ।
जेठ महिनापछि गर्मी बढ्ने हुँदा नेपालको आन्तरिक उत्पादन मागभन्दा बढी हुने र त्यस बेला भने बिजुली विक्री गर्न सकिने शाक्यले जानकारी दिनुभयो।
त्यसो भए लोडशेडिङ हुन सक्ने अड्कलबाजीबीच यसपालि नेपालमा लोडशेडिङ हुँदैन भनेर विश्वस्त भएर भन्न सकिन्छ?
शाक्य भन्नुहुन्छ, ‘ लोडशेडिङ त अहिले हुँदैन। समस्या धेरै विकरालै भएता पनि एक्सचेन्जका कारण विद्युत् ल्याउन सकिने र धेरै होइन १५ दिनका लागि व्यवस्थापन गर्नुपर्ने छ।’
‘दशौँ वर्षदेखिको रेकर्ड हेर्दा अबको १५ दिनपछि खोलानालामा पानी बढेर बिजुली बढ्छ। यो १५ दिन चाहिँ बजारबाट मागेर भए पनि थपेर भए पनि पुर्याउनुपर्ने हुन्छ’, शाक्यले भन्नुभयो।(बीबीसीबाट)


















