क्वेटा(पाकिस्तान), ९ बैशाख(बीबीसी) । पाकिस्तानी सहर क्वेटामा रहेको र सरकारी तथा विदेशी उच्च अधिकृतहरु आउने जाने एउटा आरामदायी होटल सेरेनामा बम विस्फोट हुँदा कम्तीमा चारजना मारिएका छन् भने ११ जना घाइते भएका छन्।
संवाददाताहरूका अनुसार सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदूत नोन रङलाई लक्षित गरिएको आशङ्का गरिएको छ।
तर राजदूत भने अफगानिस्तानको सिमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेको थाहा भएको छ।
तर विस्फोटका बेला उहाँ घटना भएको उक्त क्षेत्रमा हुनुहुन्थेन ।
उच्च अधिकारीको रोजाइको होटल
थप केही नबताएर पाकिस्तानी तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ।
उक्त समूह र अन्य लडाकु सङ्गठनहरूले पछिल्ला महिनाहरूमा अफगानिस्तान सँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन्।
विस्फोटपछिको स्थिति दर्शाउने भिडिओ फुटेज सामाजिक सञ्जालहरूमा राखिएका छन् जसमा होटलको कार पार्कमा आगोको मुस्लो फैलिएको देखिन्छ।
सेरेना क्वेटाको प्रख्यात होटल हो। जुन सरकारी अधिकारी र भ्रमणमा रहेका उच्चस्तरीय पाहुनाहरूको रोजाइमा पर्छ।
राजदूतको उच्च मनोबल
गृहमन्त्री शेख राशिद अहमदले विस्फोटक पदार्थले भरिएको एउटा कार होटलमा विस्फोटन भएको पाकिस्तानी प्रसारक एआरवाई न्यूज टिभीलाई बताउनुभएको छ।
उहाँका अनुसार चिनियाँ राजदूत नोन रङ घटनाका बेला एउटा कार्यक्रममा हुनुहुन्थ्यो, होटलमा होइन।
सेरेना होटल विस्फोटन हुँदा चिनियाँ राजदूत होटलमा हुनुहुन्थेन
बलुचिस्तान प्रान्तका गृहमन्त्री जियाउल्ला लङ्गोले राजदूत नङ ‘उच्च मनोबलमा रहेको’ र क्वेटाको आफ्नो भ्रमण बिहीवार सम्पन्न गर्ने संवाददाताहरूलाई बताउनुभएको छ।
बलुचिस्तान लामो समयदेखि पृथकतावादी विद्रोह चलिरहेको प्रान्त हो।
लडाकुहरूले यो क्षेत्रलाई पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन् र, त्यस क्षेत्रमा भइरहेका प्रमुख चिनियाँ पूर्वाधार परियोजनाको विरोध गर्दै आएका छन्।


















