कीर्तिपुर(काठमाडौं), ९ बैशाख । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको छ ।
विश्व कीर्तिमान बनाउने क्रममा रहेका प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल १२ बल खेल्दै दुई छक्काका मद्दतमा १६ रन जोडेको अवस्थामा पाँचौँ ओभरको पहिलो बलमा नै मुहम्मद वफिकका बलमा क्याच आउट भए ।
यसअघि नेपालले खेलेका तीन खेलमा लगातार अर्धशतक प्रहार गरी विश्व कीर्तिमान बनाउनुभएका भुर्तेल थप नयाँ कीर्तिमान बनाउनबाट चुके ।
भूर्तेल आउट भएपछि नेपालको पारिलाई कप्तान ज्ञानेन्द्र मल्ल र प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले सम्हाले । दुवै जनाबीच ७३ रनको साझेदारी भयो । सो क्रममा शेखले ३३ बलमा खेल्दै ३ छक्का र ३ चौकाका मद्दतले ४२ रनको योगदान दिए भने कप्तान मल्लले २५ बलमा एक छक्का र ४ चौका हान्दै ४१ रनको योगदान दिए ।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले १७ बलमा एक छक्का र ५ चौकाका मद्दतले ३३ रन बनाए । खेलमा करण के.सी.ले १३ बलमा ७ छक्काको मद्दतले ४५ रनको योगदान दिए ।खेलमा कुशल मल्लले अविजित १९ रन बनाएका थिए ।
नेपाललाई रोक्ने क्रममा बलिङतर्फ मलेसियाका लागि फित्री साम, अनवर रहमान र सयद अजिजले दुईदुई तथा मुहम्मद वफिकले एक विकेट लिए ।
अहिले मलेसियाले जवाफी ब्याटिङ गरिरहेको छ । मलेसियाले केही बेरअघिसम्म १० ओभरमा ५ विकेटको क्षतिमा ७५ रन बनाएको छ ।
नेपालका लागि सोमपाल कामी र कमल ऐरीले दुई दुई तथा सुशन भारीले एक विकेट लिएका हुन ।
आजको खेलको नतिजाले शनिवार हुने फाइनललाई कुनै असर गर्ने देखिदैन । यस अगावै नेपाल र नेदरल्याण्ड्स फाइनलमा पुगिसकेका छन् ।


















