कीर्तिपुर(काठमाडौं), ९ बैशाख । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियालाई ६९ रनको अन्तरले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डि.न रोजेको मलेशियालाई नेपालले २ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
तर २० ओभरको निर्धारित खेलमा १९.१ ओभर बलिड गर्दै मलेशियाले १ सय ४८ रनमात्र बनाउन सक्यो ।
मलेसियाका लागि अमिनुद्दिन रामलेले ४१ रन, अहमद फैज ३१,फित्री शाम १४, भिरनदीप सिंह १३,मोहम्मद अफिक १२, अनहुल हाफिज ११, अनवर अरुदिन ६, सैयद अजिज ४ तथा दिभेन्दरन मोगान र अनवर रहमानले दुई दुई रनको योगदान दिएका थिए ।
मलेसियालाई रोक्ने क्रममा सोमपाल कामी,कमल ऐरी र सन्दीप लामिछानेले ३ । ३ तथा सुशन भारीले १ विकेट लिएका थिए ।
यस अगाडि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको छ ।
विश्व कीर्तिमान बनाउने क्रममा रहेका प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल १२ बल खेल्दै दुई छक्काका मद्दतमा १६ रन जोडेको अवस्थामा पाँचौँ ओभरको पहिलो बलमा नै मुहम्मद वफिकका बलमा क्याच आउट भएका थिए ।
यसअघि नेपालले खेलेका तीन खेलमा लगातार अर्धशतक प्रहार गरी विश्व कीर्तिमान बनाएका भुर्तेल थप नयाँ कीर्तिमान बनाउनबाट आजको खेलमा चुके ।
भूर्तेल आउट भएपछि नेपालको पारिलाई कप्तान ज्ञानेन्द्र मल्ल र प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले सम्हालेका थिए । खेलमा दुवै जनाले ७३ रनको साझेदारी गरे । सो क्रममा शेखले ३३ बलमा ३ छक्का र ३ चौकाका मद्दतले ४२ रनको योगदान दिए भने कप्तान मल्लले २५ बलमा एक छक्का र ४ चौका हान्दै ४१ रनको योगदान दिए ।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले १७ बलमा एक छक्का र ५ चौकाका मद्दतले ३३ रन बनाए । खेलमा करण के.सी.ले १३ बलमा ७ छक्काको मद्दतले ४५ रनको योगदान दिए । नेपालका लागि कुशल मल्लले अविजित १९ रन बनाएका थिए ।
नेपाललाई रोक्ने क्रममा बलिङतर्फ मलेसियाका लागि फित्री साम, अनवर रहमान र सयद अजिजले दुईदुई तथा मुहम्मद वफिकले एक विकेट लिए ।
आजको खेलको नतिजासंगै नेपाल ४ खेलमा ३ जित हासिल गर्दै ६ अंकसहित पहिलो स्थानमा रहेर फाइनल प्रवेश गरेको छ भने नेदरल्याण्ड् चार खेलमा दुईमा जीत र एकमा अंक बाड्दै ५ अंकसहित फाइनलमा प्रवेश गरिसकेको छ ।
शीर्षमा रहेका नेपाल र नेदरल्याण्ड्सबीच शनिवार फाइनल खेल हुनेभएको छ ।


















