काठमाडौं, १० बैशाख । पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण बढिरहँदा नेपालले विगतमा जस्तै फेरि भारतसँगको हवाई र स्थलमार्ग बन्द गर्न सक्ने विषयको चर्चा पनि बढ्न थालेको छ।
एकथरीले नेपालसँग खुला सिमाना रहेको भारतको हकमा फेरि त्यो विकल्पमा जान कठिन देखिरहेका छन् भने अर्काथरीले केही समयका लागि भए पनि कडा कदम चाल्नुपर्ने धारणा राखिरहेका छन्।
नेपालले कोरोनाभाइरस महामारी सुरु भएपछि अघिल्लो वर्षको चैत दोस्रो सातादेखि हवाई र स्थलमार्ग बन्द गरेको थियो।
भारतमा सङ्क्रमित र मृत्यु हुनेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ भने स्वास्थ्य प्रणालीले बिरामीलाई थेग्न नसक्ने अवस्था सिर्जना भएको भनेर आलोचना पनि भइरहेको छ।
परिवर्तित सन्दर्भमा नेपाल सरकारले कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै जनस्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ।
मन्त्रिपरिषद्ले नयाँ मापदण्ड पारित गरेकै दिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सकेसम्म कठोर निर्णय लिन नपरोस् भनेर पछिल्लो कदम चालिएको बताउनुभएको थियो।
स्वास्थ्यमन्त्रीले त्यसो भन्नुको अर्थ सरकारले सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि फेरि पनि लकडाउन गर्न सक्ने सम्भावनालाई नकार्न नसकिने रूपमा कतिपयले अर्थ्याइरहेका छन्।
अवस्था हेरेर कतिपय स्थानीय निकायले स्थान विशेषमा लकडाउन नै सुरु गरेका छन्।
के भारतसँग फेरि हवाई र स्थलमार्ग बन्द हुन्छ ?
निकै सङ्क्रामक देखिएका डबल म्यूटन्ट, यूके भेरिअन्ट र दक्षिण अफ्रिका भेरिअन्टलगायत भारतमा देखिएको तथा सङ्क्रमण उच्च दरमा बढिरहेको पृष्ठभूमिमा विभिन्न देशले भारतसँग हुँदै आएका उडानहरूमा प्रतिबन्ध लगाएका छन्।
बीबीसी हिन्दीका अनुसार त्यसरी प्रतिबन्ध लगाउने मुलुकको सूचीमा पछिल्लो समय संयुक्त अरब एमिरेट्स थपिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार हाल नेपाल(भारतबीच दुवै देशका एक(एकवटा विमानले “एअर बबल” योजनाअन्तर्गत उडान गर्दै आएका छन्।
“त्यसरी दैनिक एकतर्फी औसत ३२० देखि ४०० जनाले यात्रा गर्ने गरेको देखिन्छ”,क्षेत्रीले भन्नुभयो।

वीरगञ्ज
अधिकारीहरूका अनुसार तेस्रो मुलुक जानका लागि केही सातायता हवाईमार्गबाट नेपाल आउने भारतीय नागरिकको सङ्ख्या बढ्दो छ।
सीमानाका र हवाईमार्ग दुवै भएर नेपाल भित्रने नेपाली तथा भारतीय नागरिकको आवगमनमा उपयुक्त निगरानी नगरिए वा सावधानी नअपनाए सङ्क्रमण फैलने एकदमै जोखिम रहेको भन्दै जनस्वास्थ्यविद्ले सचेत गराउँदै आएका छन्।
उसो भए के नेपालले बढ्दो जोखिमबीच विगतमा जस्तै भारतसँग स्थल र हवाईमार्ग बन्द गर्छ त ?
“केही दिनअघि मात्रै नेपाल सरकारले ३० बुँदे निर्देशन जारी गरेको छ। पहिलो चरणमा त्यसलाई अक्षरशः पालना गराउने कुरामा हामी लागिपरेका छौँ।”, गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भन्नुभएको छ, “त्यो अभ्यास कति प्रभावकारी हुन्छ त्यसलाई हेरेर नेपाल सरकारले थप निर्णय पनि लिन सक्छ। स्थिति कस्तो हुन्छ त्यसमा निर्भर गर्छ।”
“सरकारको निर्देशनलाई पालना नगर्ने बेवास्ता गर्ने भयो भने अर्को निर्णय पनि हुन सक्छ”, प्रवक्ता दाहालले थप्नुभयो।
हाललाई भारतसँग सीमानाका तथा हवाईमार्ग बन्द गर्ने विषयमा कोभिड सङ्कट व्यवस्थापन केन्द्रमा पनि कुनै कुराकानी नभएको गृह मन्त्रालयका अधिकारीले बताउनुभएको छ।
हवाईमार्गको हकमा आफूहरूलाई कुनै जानकारी नआएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बताउनुभयो।
“तर मेरो व्यक्तिगत विचार सोध्नुहुन्छ भने त्यतातर्फ अब नेपालले सोच्नुपर्छ कि जस्तो मलाई लाग्छ”, उडान स्थगन गर्नुपर्नेबारे प्राधिकरणका प्रवक्ता क्षेत्रीले भन्नुभयो।
जनस्वास्थ्यविद्को भनाई
भारतमा तीव्र गतिमा सङ्क्रमण बढिरहेको र सिमाना जोडिएको तथा हवाईमार्ग पनि खुला रहेको पृष्ठभूमिमा विशेष सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरूको सुझाव छ।
“भारतमा त्यस्तो अवस्था देखिनासाथ नेपालले धेरै पहिला दुईवटा काम गर्न थालिसक्नुपर्थ्योः एउटा पाटो आयातित केसलाई रोक्ने हो भने अर्को पाटो हामीभित्रै समुदायमा भइरहेकोको विस्तारलाई रोक्ने हो”,जनस्वास्थ्यविद् डा. शरदराज वन्तले भन्नुभयो, “त्यसकारण सीमाकै मात्रै व्यवस्थापन गरेर मात्रै हामी रोक्न सक्दैनौँ। हामीभित्र भइरहेको विस्तारलाई पनि रोक्नुपर्ने हुन्छ।”
भारतबाट आउनेहरूलाई अनिवार्य क्वारन्टीनमा राख्नुपर्ने तथा परीक्षणको दायरा बढाउनुपर्ने उहाँको सुझाव छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी पनि सङ्क्रमित मानिसहरूको निर्वाध आवतजावत रोक्न नसकिए नेपालका लागि समस्या हुने बताउँछन्।
“सीमा नै बन्द गराउन सकिएन भने दुई देशमा ओहोरदोहर गर्नेले नेगेटिभ नतिजा भएको पीसीआर रिपोर्ट पेस गर्नुपर्यो”,डा. मरासिनी सुझाउनुहुन्छ, “अत्यावश्यक काम नपरेसम्म नजान भनेर नेपालले अड्भाइजरी जारी गर्नुपर्यो” ।(बीबीसीबाट)


















