काठमाडौं, १२ बैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तत्काल देशव्यापी रूपमा लकडाउन हुने सम्भावना नरहेको जनाउनुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको सत्तारूढ नेकपा एमालेको बैठकपछि पार्टी प्रवक्ता समेत रहेका ज्ञवालीले सञ्चारकर्मीसँग कुराकानी गर्दै तीव्र गतिमा सङ्क्रमण फैलिरहेका ‘हटस्पट’हरूमा आंशिक लकडाउन हुनसक्ने भए पनि राष्ट्रव्यापी त्यस्तो नहुने जानकारी दिनुभयो।
“देशव्यापी रूपमा हामी लकडाउन गर्दैनौँ। अहिलेको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्यको मापदण्ड पालना गर्नुहोस् भन्ने नै छ। लकडाउनले एकछिनलाई कोभिडको ‘चेन ब्रेक’ गर्छ तर आफैमा त्यो समाधान होइन”, उहाँले भन्नुभयो।
“भर्खर अर्थतन्त्र तङ्ग्रिन थालेकाले सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रतिकूल प्रभाव नपरोस् भन्ने सरकारको चाहना छ। त्यसकारण हटस्पटहरूमा आंशिक रूपमा लकडाउन हुनसक्छ तर राष्ट्रव्यापी रूपमा लकडाउनको तत्काल सम्भावना छैन।”
नेपालमा कोरोनाभाइरस सङ्क्रमण बढेसँगै काठमाडौं तीनवटा जिल्ला प्रशासन कार्यालयहरूले भने आफूहरूले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको बताउनुभएको छ।
देशभरको तुलनामा सबैभन्दा बढी जनसङ्ख्या रहेकाले काठमाडौं उपत्यकामा सङ्क्रमण तीव्र गतिमा फैलन सक्ने हुँदा आफूहरू सुरक्षा मापदण्ड पालना गराउने लगायतका विषयमा केन्द्रित रहेको उहाँहरूको भनाइ छ।

यस अघिको लकडाउनका बेला पोखरामा ठेलामा तरकारी बेच्न लगिँदै
सामाजिक सञ्जालमा कतिपयले काठमाडौं सहित ठूला सहरमा गत हप्तादेखि नै अस्पतालमा चाप देखिएको उल्लेख गर्दै लकडाउन लगाएर सङ्क्रमण फैलनबाट रोक्नुपर्ने बताइरहेका छन्।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले आफूहरूले अवस्थाको मूल्याङ्कन गरिरहेको र आपसी समन्वय अनि सरकारका माथिल्ला निकायहरूसँगको सल्लाहमा आधारित रहेर आवश्यक निर्णय गर्ने बताउनुभएको छ।
गृह मन्त्रालयले पछिल्लो अवस्थाबारे आइतवार सुरक्षा निकायसहित तीनै जिल्लाका प्रतिनिधिहरूलाई छलफलका लागि समेत बोलाएको छ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय १९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप १४ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ।
हालसम्म नेपालमा २ लाख ९७ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने कुल मृत्यु हुनेको सङ्ख्या ३ हजार १ सय ३६ पुगेको छ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअको भनाई

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मन्त्रिपरिषद्ले गत हप्ता जारी गरेका आदेशको प्रभावकारी कार्यान्वयनमा आफूहरू केन्द्रित रहेको बताउनुभएको छ।
रात्रिकालीन व्यवसाय, फुटसल, मन्दिर, विद्यालयमा भौतिक उपस्थिति बन्द गरिएको र सरकारी कार्यालयहरूको चाप कम गर्न र दिउँसोको समयमा हुने गतिविधि नियन्त्रण गर्न थप निर्णय गर्नुपर्ने उहाँको भनाइ छ।
लकडाउन नै हुन सक्ने सम्भावना कति छ त भन्ने प्रश्नमा पराजुलीले भन्नुभयो, “अवस्था के हुन्छ अहिले नै भन्न सकिएन। स्थिति बिग्रँदै गयो, भोलि अप्ठेरो पर्यो भने त्यता पनि सोच्नुपर्ने हुनसक्छ।”
आफूहरूले पछिल्लो अवस्थाबारे माथिल्ला निकायहरूमा जानकारी गराइरहेको उहाँको भनाइ छ। “थप गर्नुपर्ने विषयमा सचिवज्यूलाई रिपोर्ट गर्ने कुराहरू भइरहेका छ”, उहाँले भन्नुभयो।
हाल सरकारले विभिन्न किसिमका प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिसकेको भए पनि त्यसको पालना हुन नसकेको कतिपयले औँल्याएका छन्।
पराजुली भने प्रहरीले अनुगमन गरिरहेको र हालको अवस्थामा सुरक्षित रहनका लागि सर्वसाधारणहरू आफै सजग हुनुपर्ने बताउनुभयो।

परिक्षण : पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिँदै
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले क्षेत्रगत रूपमा कडाइ गरिराखिएको र थप कडाइ गर्नुपर्ने हुनसक्ने बताउनुभएको छ।
“अहिले सम्मको स्थितिमा यही गतिमा सङ्क्रमण चुलिँदै गइरह्यो भने लकडाउनको विकल्प देखिन्छ जस्तो लाग्दैन”, उहाँले भन्नुभयो।
विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वहरू हालसालै सम्पन्न भए पनि भक्तपुरको अवस्था काठमाडौं र ललितपुरभन्दा सामान्य रहेको उहाँले दावी गर्नुभयो।
उपत्यकामा मानिसहरूको हिँडडुल व्यापक हुने हुँदा तीनै जिल्लामा एकै पटक नियन्त्रणका कार्यक्रमहरू अघि बढाउन जरुरी रहेको उहाँको भनाइ छ।
ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि हाल विवाह, व्रतबन्धजस्ता कार्यक्रमहरूमा २५ जनासम्म जम्मा हुनसक्ने गरी अनुमति दिएको भए पनि भिड हुने अन्य क्षेत्रमा कडाइ गरिएको जानकारी दिनुभयो।
“मापदण्ड पालना गराउने, कनट्याक्ट ट्रेसिङ गर्ने र क्वारन्टीन स्थापना गर्ने जस्ता काम हामीले गर्ने हो। सबै बन्द गर्ने कुराचाहिँ सरकारले निर्णय गरे हामी जिल्ला स्तरमा त्यसलाई कार्यान्वयन गर्छौँ “, उहाँले भन्नुभयो। (बीबीसी)


















