Prakash Adhikari April 25, 2021

काठमाडौं, १२ बैशाख । नेपालमा कोरोना संक्रमणका कारण विगत २४ घण्टाको समयावधिमा २८ जनाले जीवन गुमाएका छन् ।

यो जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको हो ।

“यो सङ्ख्या हालसम्मकै दोस्रो ठूलो उच्च हो। यसअघि गत कार्तिक १९ गते कोभिड १९ का कारण ३० जनाको मृत्यु भएको थियो”, मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भन्नुभयो।

कोरोना भाइरसको संक्रमणका कारण आइतबार मात्र १४ जनाको मृत्यु भएको थियो भने २ हजार ६ सय १९ जना नयाँ सङ्क्रमित फेला परेका थिए।

गत २४ घण्टाभित्र एन्टिजन र पीसीआर गरी १० हजार ७८ वटा नमूना परीक्षण गरिँदा ३ हजार १ सय २२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यो संख्या परीक्षण गरिएका नमूनाको एक तिहाई भन्दाबढी हो ।

सङ्क्रमण बढ्दै

गत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ४ सय ९८ जना सङ्क्रमित फेला परेका छन्।

तीमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा १ हजार १ सय ३२ जना, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जना सङ्क्रमित रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ सय ५० जना बिरामी निको भई घर फर्किएका छन्।

गत बिहीवारदेखि आइतवारसम्म कुल ३५ हजार ६ सय १६ पीसीआर र एन्टिजन परीक्षण गरिँदा १० हजार ३ सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताउनुभयो।

तीमध्ये १ हजार ४ सय ८० जना निको भई घर फर्केका छन्। आइतवारसम्म देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ३ सय ८२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो समय नयाँ भेरिअन्ट देखिएसँगै सङ्क्रमित हुनेहरूको सङ्ख्या पनि बढ्दो क्रममा देखिएको अधिकारीहरूले बताएका छन्।

सङ्क्रमण बढ्न थालेसँगै लकडाउन हुन सक्ने अड्कलबाजी भइरहँदा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आंशिक लकडाउनको सम्भावना रहे पनि तत्काल देशव्यापी लकडाउन नहुने बताएका छन्।(बीबीसीबाट)

 

Share Now

Leave a comment.