काठमाडौं, १४ बैशाख-बीबीसी) । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा सङ्घीय राजधानी काठमाडौंका अधिकांश अस्पताल भरिन थालेका विवरणहरू आउन थालेका छन्।
सरकारी र निजी दुवैखाले अस्पतालमा कोभिड१९ का बिरामीको चाप बढिरहेको र यस्तै स्थिति रहिरहे केही दिनमा अवस्था निकै जटिल बन्न सक्ने टिप्पणी सामाजिक सञ्जालमा भइरहेको देखिन्छ।
निजी अस्पतालमा कोभिड १९ भएका बिरामीलाई उपलब्ध शय्याबारे बीबीसीले काठमाडौंका केही निजी अस्पतालहरूमा सम्पर्क गरेको थियो।
तीमध्ये केहीको फोन बिहानैदेखि निरन्तर व्यस्त थिए। फोन उठेका अस्पतालमा शय्याबारेको प्रश्नमा सबैको जबाफ लगभग उस्तै थियो।
उनीहरू भन्थे, “अहिले त बेड छैन। आज केही बिरामी डिस्चार्ज हुने सम्भावना छ। दिउँसो एक पटक सम्पर्क गर्नुहोस् वा हामीलाई सम्पर्क नम्बर दिनुहोस् खाली भए फोन गर्छौँ।”
केही निजी अस्पतालहरूले कोभिडका बिरामीका लागि प्रबन्ध मिलाउन निश्चित व्यक्ति तोकेको पाइयो।
तिनैमध्ये एक ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका कर्मचारीले बिरामीको आफन्तका रूपमा गरिएको टेलिफोन संवादका क्रममा शय्या नभएको जानकारी गराउनुभयो ।
तुलनात्मक रूपमा महँगो शुल्क पर्ने क्याबिनमा पनि शय्या उपलब्ध छैनरु भन्ने प्रश्नमा उहाँको जबाफ थियोः “कोभिड वार्ड बनाएका छौँ, क्याबिन हटाइएको छ। चार दिन भयो वार्ड भरिएको।”

कोभिड
“बेड भए पनि आईसीयू छैन। तपाईँको बिरामीलाई पछि आईसीयू आवश्यक पर्न सक्छ भन्नुभयो त्यसैले पहिले नै भनेको। अरूतिर लानुपर्ने पनि हुन सक्छ आईसीयू चाहिए।”
कोभिड भएका बिरामीहरूलाई राख्न सक्ने अवस्थाबारे बीबीसीको जिज्ञासामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. दिनेश काफ्लेले अस्पताल भरिभराउ रहेको जानकारी दिनुभयो।
कार्यकारी निर्देशक डा. काफ्लेका अनुसार कोरोनाभाइरसका बिरामी राखिएका आईसीयू भरिएको छ। अक्सिजन चाहिने र निगरानीमा बस्न चाहने बिरामीहरू केही लिन सकिने उहाँ ले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा अहिले सहजै आईसीयू रभेन्टिलेटरयुक्त शय्या नपाइने गुनासो आइरहेको छ
“अहिले ७० जना कोभिडका बिरामी हुनुहुन्छ। आज १५ २० जना अरू लिन सकिन्छ होला। इमर्जेन्सीमा भर्ना हुनका लागि कुरिरहनुभएको छ”, उहाँले भन्नुभयो।
तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने अस्पताल शय्याको कमी नरहेको दाबी गर्दै कोभिडबाट बिरामी भएकाहरूलाई सरकारी अस्पताल जान आग्रह गर्नुभएको छ ।
निजी क्षेत्रको के छ भनाइ ?
असोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूशन अफ नेपाल (अफिन) का वरिष्ठ उपाध्यक्ष कुमार थापाका अनुसार सर्वसाधारणहरूले कोभिडलाई भयावह रूपमा नलिएको र अन्य बिरामीहरूको सङ्ख्या पनि धेरै रहेकाले अस्पतालहरू भरिएका हुन्।
“पहिले जस्तै कोभिडका बिरामीहरू मात्रै भएका भए यसरी भरिभराउ हुने थिएन”, उहाँले भन्नुभयो।
हाल ‘देखिएको अभाव’ पूर्ति गर्नका लागि ५०० देखि १,००० वटासम्म शय्या हुने भएकाले मेडिकल कलेजहरूलाई सरकारले प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ ।
कोभिड १९ का बिरामी थपिँदै जाँदा सामान्य अवस्थाका बिरामीहरू अस्पताल आउन छाडे फेरि अवस्था पहिलेकै जस्तो हुँदै जाने र केही शय्या उपलब्ध हुने उहाँको भनाइ छ।
हाल कोभिडकै लागि भनेर शय्या सङ्ख्या निजी अस्पतालहरूमा नतोकिएको र यस अघि प्रयोगमा ल्याइएकै सङ्ख्याका हाराहारीमा व्यवस्थापन गरिएको बताइन्छ।
वर्तमान अवस्थाबारे छलफल गर्न अफिनसंग सरकारले भने यसपालि वार्ताका लागि नबोलाएको उहाँले बताउनुभयो ।
यसअघि नै बैठक गरेर संरचना बनाइसकेकाले छलफल हालसम्म नभएको उहाँको अनुमान छ।

काठमाडौं कोराना संक्रमित बिरामी
सरकारको विमति
तर स्वास्थ्य मन्त्रालय भने निजी तथा सरकारी अस्पतालमा कोभिडका बिरामीहरूका लागि शय्या नभएको भन्ने विषयमा सहमत देखिँदैन।
“अहिले शय्याको समस्या छैन। मान्छेले चाहेको ठाउँमा शय्या नपाएको चाहिँ हो”, मन्त्रालयका प्रवक्ता गौतमले भन्नुभयो।
“कसैलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै बस्न मन छ वा कसैलाई टेकुमै बस्न मन छ, त्यहाँ उपलब्ध नभएको हुन सक्छ। त्यस कारण हामीले बिरामी व्यवस्थापनका लागि सम्पर्क नम्बर सार्वजनिक रूपमै राखेका छौँ।”

कोरोनाभाइरस
“सबैलाई हामीले अस्पतालको इमर्जेन्सीमा जान भनेका छौँ। र त्यहाँबाट डाक्टर र नर्सहरूको टोलीले हामीलाई सम्पर्क गर्छन् अनि हामी व्यवस्थापन गर्छौँ।”
हाल घरबाटै आईसीयू र भेन्टिलेटरबारे सोधिने गरेको बताउदै उहाँले भन्नुभयो,”त्यो त डाक्टरले व्यवस्थापन गर्ने हो नि आईसीयू, भेन्टिलेटर कसलाई चाहिन्छ भनेर। घरबाटै भेन्टिलेटर सोध्दा त छैन भनिहाल्छ नि अस्पतालले। सबैलाई मैले अनुरोध गरिरहेको छु तपाईँले बिरामी लिएर अस्पताल जानुहोस् भनेर।”
अस्पताल पुगेपछि त्यहाँ मन्त्रालयका फोकल पोइन्ट र कर्मचारीहरूले आवश्यक व्यवस्थापन गर्ने उहाँ बताउनुहुन्छ।
सरकारी बुझाइ
निजी अस्पतालहरूको विषयमा धेरै कुरा आफूहरूलाई थाहा नभएको बताउँदै गौतमले सरकारले निजी अस्पतालहरूका हकमा तोकेको शुल्क चित्त नबुझेका हुनाले पछिल्लो अवस्था देखिएको सङ्केत गर्नुभयो।
उहाँका अनुसार सरकारले साधारण बिरामी वा वार्डमा आइसोलेशनमा बसेकालाई रु ३,००० देखि ३,५००, अक्सिजन लगाएका बिरामीलाई रु ७,०००, आईसीयू वा भेन्टिलेटरमा राखिएका बिरामीहरूलाई रु १५,००० प्रतिबिरामी प्रतिदिन लिन दिने केही निजी अस्पतालहरूसँग सम्झौता गरेको छ।
सरकारी अस्पतालहरूको हकमा पनि मन्त्रालयले त्यही मूल्यमा भुक्तानी दिने गरेको उहाँको भनाइ छ।
“त्यसमा पनि ५० प्रतिशत थप गरेर निजी अस्पतालहरूले लिन पाउने भनेको छ। त्यसमा पनि कतिपय निजी अस्पताल सम्झौता गर्न आएका छैनन्। सरकारी कामलाई कम सहयोग गर्ने प्रवृत्ति देखिएको छ। त्यसकै एउटा स्वरूप यो पनि एउटा हो भन्ने लाग्छ मलाई”, उहाँले भन्नुभयो।
सरकारले कोभिड लागेका बिरामीहरूको उपचार गर्न गत वर्ष १२ वटा निजी अस्पतालहरूसँग सम्झौता गरेको गौतमले जानकारी दिनुभएको छ।
“तर एउटा बिर्सिन नहुने कुरा के भने अस्पताल, शय्या समाधान होइन। समाधान चाहिँ जनस्वास्थ्यका मापदण्ड हुन्, आज पनि। भिडभाडमा गएन, मास्क लगायो, दूरी कायम गर्यो भने आज पनि कोभिडबाट बच्न सकिन्छ”, उहाँले थप्नुभयो।


















