काठमाडौं, १४ बैशाख(बीबीसी) । विगत २४ घण्टामा नेपालमा थप ४ हजार ५ सयय ४४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाए अनुसार नेपालमा कोभिड १९ सँग सम्बन्धित कारणले थप १८ जनाको मृत्यु भएको छ ।
सो सङ्क्रमण १४ हजार ६ सय ७२ जनाको पीसीआर र १ हजार ९ जनाको एन्टिजन परीक्षण गर्दा पुष्टि भएको हो।
विगत २४ घण्टामा ५ सय ५५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ।
नेपालमा गत वर्ष कार्तिक ५ गते सर्वाधिक सङ्ख्यामा ५ हजार ७ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
उपत्यकामा सर्वाधिक
मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाडौंका १ हजार ६ सय २ जना, ललितपुरका २ सय ४० जना र भक्तपुरका १ सय २४ जना गरी उपत्यकामा कुल १ हजार ९ सय ६६ जना छन्।

बाँकेमा ५ सय १५ जना सङ्क्रमित थपिएका हुन्।
थपिएका सङ्क्रमितमध्ये १ सय ६० जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन्।
मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये १ सय २ जना नौ वर्षसम्मका, २ सय ८२ जना १० देखि १९ वर्षका २ हजार २ सय ४१ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
१० जिल्लामा ५ सय भन्दा धेरै
नेपालमा अहिले कुल २६ हजार २ सय २५ जनाको सक्रिय सङ्क्रमण रहेको छ।
५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका १० वटा जिल्लामा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके र रूपन्देही छन् ।
थप नौ जिल्लामा २ सय भन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका छन्।
सक्रिय सङ्क्रमितमध्ये २ हजार ८ सय ७३ जना अस्पतालमा उपचाररत रहेका छन्। तीमध्ये ३ सय १५ जना सघन उपचार कक्षमा र ८४ जना भेन्टिलेटरमा उपचाररत छन्।


















