काठमाडौं, १५ बैशाख ।नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पुनः स्थगित भएको छ।
पार्टीका केही केन्द्रीय सदस्य र कार्यालयका कर्मचारी तथा सुरक्षागार्डमा कोरोना संक्रमण देखिएपछि बैठक स्थगित गरिएको हो।
कांग्रेसले मंगलबार केन्द्रीय सदस्यहरू र कर्मचारीहरूको पिसिआर परीक्षण गरेको थियो।
पिसिआर परीक्षणको रिपोर्ट प्राप्त भइसकेको छ। केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठसहित सचिवालय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि केन्द्रीय कार्य समितिको बैठक स्थगित गरिएको हो ।
कांग्रेसले एक सय जनाभन्दा बढी केन्द्रीय सदस्यको पिसिआर गरेको थियो।
नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन र समसामयिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्न केन्द्रीय समितिको बैठक राखेको थियो।
यस पहिले १३ गतेको लागि निर्धारित बैठक देशमा कोरोनाको दोस्रो लहर अनपेक्षित रुपमा बढ्कोले सबै केन्द्रीय सदस्य र सचिवालयका सदस्यहरुको कोरोना परीक्षण गरेरमात्र बैठक गर्न मनासिब भएको भन्ने विषयमा सर्वसम्मति कायम भएकोले दुईदिन पर सारिएको थियो ।
नेपाली कांग्रेसका प्रदेश संसदीय दलहरुले प्रदेशमा नेकपा एमालेका सरकार विस्थापन गरी आफ्नो नेतृत्व र सहभागितामा सरकार बनाउन गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका छन् ।
गण्डकीमा सो प्रस्तावमाथि छलफल सुरु भएको छ भने लुम्बिनीमा प्रस्तावमा छलफल गर्न विशेष अधिवेशन आह्वान भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय समितिले प्रदेशमा एमाले सरकार हटाउन ल्याइएका प्रस्तावका बारेमा कुनै धारणा बनाउन सकेको छैन ।
कांग्रेसका एकथरी केन्द्रीय सदस्यहरु भने प्रतिगमनकारी ओली सरकारलाई हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने समय र परिस्थिति परिपक्व बन्दै आएकोले संघीय सरकारविरुद्ध पनि अविश्वासको प्रस्ताव ल्याउने समय आएको बताइरहेका छन् ।


















