Prakash Adhikari April 28, 2021

 

काठमाडौं, १५ बैशाख ।  नेपालमा विगत २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजारसहित थप ४ हजार ८ सय ९७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो हालसम्मको तेस्रो सर्वाधिक दैनिक सङ्क्रमण सङ्ख्या हो।

नेपालमा गत वर्ष कार्तिक ५ गते सर्वाधिक सङ्ख्यामा ५ हजार ७ सय ४३ जनामा र असोज २४ गते ५ हजार ८ सङ्क्रमण पुष्टि भएको थियो।

सो सङ्क्रमण १३ हजार ८ सय ७९ जनाको पीसीआर र ९ सय ५५ जनाको एन्टिजन परीक्षण गर्दा पुष्टि भएको हो।

नेपालमा कोभिड १९ का कारण गत २४ घण्टाको समयावधिमा १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार २ सय ११ पुगेको छ।

नेपालमा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता गत वर्षको कार्तिक १९ गते ३० जना र मङ्सिर १५ गते २९ जनाको निधन भएको थियो।

यो वर्ष कोरोनाभाइरसको सङ्क्रमण बढेयता यसअघि सबैभन्दा बढी गत आइतवार २८ जनाको निधन भएको थियो।

विगत २४ घण्टामा ७ सय ७३ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ।

कोभिड
१२ जिल्लामा ५०० भन्दा धेरै
नेपालमा अहिले कुल ३० हजार २ सय ९ जनाको सक्रिय सङ्क्रमण रहेको छ।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरू १२ वटा रहेका छन् , मोरङ, पर्सा, काठमाण्डू, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रूपन्देही, सुर्खेत र कैलाली।

थप १० जिल्लामा २ सय भन्दाबढी सक्रिय सङ्क्रमितहरू रहेका छन्।

सक्रिय सङ्क्रमितमध्ये २ हजार ३ सय ६४ जना अस्पतालमा उपचाररत रहेका छन्। तीमध्ये ३ सय १७ जना सघन उपचार कक्षमा र ९८ जना भेन्टिलेटरमा उपचाररत छन्।

 

उपत्यकामा मात्रै २ हजारभन्दा बढी

बुधवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाडौंका १ हजार ४ सय ६४ जना, ललितपुरका ३ सय ५१ जना र भक्तपुरका २ सय ३२ जना गरी उपत्यकामा कुल २ हजार ४७ जना छन्।

रुपन्देहीमा ४ सय ३४ र बाँकेमा ३ सय २८ जना सङ्क्रमित थपिएका छन्।

थपिएका सङ्क्रमितमध्ये १ सय २३ जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन्।

मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये ९९ जना नौ वर्षसम्मका, ३ सय १७ जना १० देखि १९ वर्षका २ हजार ३ सय ८१ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।(बीबीसीबाट)

Share Now

Leave a comment.