क्यालिफोर्निया(संयुक्त राज्य अमेरिका), १८ बैशाख । नासाका वैज्ञानिकहरुले मंगल ग्रहमा पठाइएको इन्ज्युइनिटी नामक सानो स्वचालित हेलिकोप्टरलाई चौथो पटक उडाउने सफलता पाएका छन् ।
नासाले जनाए अनुसार शुक्रबार इन्ज्युइनिटीले मंगल ग्रहमा आफ्नो निर्धारित उडान सम्पन्न गरेको छ ।
यसले चौथो उडान १ सय १७ सेकेण्डसम्म उडेर १ सय ३३ मिटरको यात्रा तय गरी सुरक्षित अवतरण गरेको थियो ।
वैज्ञानिकहरुका अनुसार यो उडान यस पहिलेका तीन उडानभन्दा लामो र ती भन्दा उचाईमा सम्पन्न भएको थियो ।
यो उडानमा हेलिकोप्टर पहिलेको भन्दा छिटो उड्यो र टाढा पुग्यो । यो चौथो उडानका समग्र तस्वीर र भिडियोहरु आइनसकेको नासाले जनाएको छ ।
तेस्रो उडान पछि इन्ज्युइनिटीको समग्र उपकरण र सफ्टवेयरको परीक्षण गरिएको थियो ।
चौथो उडानमा हेलिकोप्टर स्टार्ट हुन समय लागेपछि केही अलमलमा परेका नासाका बैज्ञानिकहरु यसले झन छिटो झन लामो दूरी तय गरेर सफलतापूर्वक अवतरण गरेपछि दंग परेका छन् ।
उनीहरु मंगलग्रहमा पुर्याएको यो हेलिकोप्टरलाई अत्यधिक सूचनाका लागि लामोसमयसम्म टिकाउन सम्बन्धमा सोच्दैछन् ।
Success 👏#MarsHelicopter completed its 4th flight, going farther & faster than ever before. It also took more photos as it flew over the Martian surface. We expect those images will come down in a later data downlink, but @NASAPersevere's Hazcam caught part of the flight. pic.twitter.com/Fx3UHu4jgv
— NASA JPL (@NASAJPL) April 30, 2021
वैज्ञानिकहरुले यसको नयाँ सञ्चालन चरण र जिम्मेवारी तय गरेका छन् । अब यसले आफूलाई पेटमा बोकेर लैजाने आमा पर्सिभरेन्स रोभर गुड्नु पहिले एक किलोमिटर उड्ने छ, मंगलको धरातल र भूगर्भका बारेमा पनि जानकारी दिनेछ , जुन गुड्ने पर्सिभरेन्सबाट संभव छैन ।
चौथो उडानबाट उत्साहित वैज्ञानिकहरु इन्ज्युइनिटीको कार्यसम्पादनबाट दंग छन र यसलाई थप राख्न चाहन्छन् ।
इन्ज्युइनिटीका चिफ इञ्जिनियर बब बलराम भन्नुहुन्छ, यो हावामा चढिरहेका छ, यसले महान उडान गरेको छ, समग्र इञ्जिनियरिड. सिस्टम, सोलार प्यानल,ब्याट्री र रेडियो सूचना पद्धतिले राम्रोसंग काम गरिरहेका छन, हरेक कुराहरु शानदार ढंगले भैरहेको छ ।
अब उनीहरुले यसलाई नासाको पर्सिभरेन्स रोभरको काममा सघाउन लगाउने विचार गरेका छन् । यसलाई पर्सिभरेन्स अवतरण गरेको जजेरो क्रेटरको अवस्थाका बारेमा जानकारी लिन उद्देश्यमा उपयोग गरिने छ । यो क्षेत्र पहिले ताल रहेको अनुमान गरिएको छ र त्यसको विश्लेषण गरी त्यहाँ मानव जीवन संभव छ कि छैन भनेर अनुसन्धान गरिनेछ ।
१.८ किलो तौलको यो हेलिकोप्टरले १९अप्रिलमा पहिलो सफल उडान गरेको थियो । पहिलोपटक यसले मंगलको पातलो वायुमण्डलमा २ मिटरको उचाईमा ४० सेकेण्डसम्मको उडान गर्यो।
दोस्रो र तेस्रो उडानमा यसले ५ मिटरसम्मको उचाईमा ५० मिटरको यात्रा तय गर्यो र अवतरण गर्यो । यसले आफ्नो दोस्रो सफल उडान अप्रिल २२ मा गरेको थियो भने तेस्रो उडान अप्रिल २५ मा गरेको थियो ।
नासाका वैज्ञानिकहरुले यो हेलिकोप्टर उड्ने स्थललाई राइट ब्रदर्स एअर फिल्ड नामाकरण गरेका छन् । राइट ब्रदर्स हवाई जहाजको आविश्वकार र सफल उडान गर्ने अमेरिकी वैज्ञानिकहरु हुन् ।
सन २०२०को जुलाई २० मा छोडिएको पर्सिभरेन्स नामक अन्तरिक्ष यान २०२१ को फेब्रुअरी १८ मा मंगलग्रहको जजेरो क्रेटर क्षेत्रमा सफलतापूर्वक अवतरण गरेको थियो ।
पर्सिभरेन्स रोभरको पेटमा यो हेलिकोप्टर पठाइएको थियो । पर्सिभरेन्स मंगलको सतहमा गुडेर आफ्ना प्रारम्भिक अनुसन्धानका कामहरु गरेपछि वैज्ञानिकहरुले हेलिकोप्टर उडानको प्रयास थालेका हुन ।


















