Prakash Adhikari May 2, 2021

 

काठमाडौं, १९ बैशाख । विगत २४ घण्टामा नेपालमा थप ७ हजार २ सय ११ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये आधाजति काठमाडौं उपत्यकाका रहेका छन्।

यो संख्या नेपालमा गत वर्ष कोरोनाभाइरस महामारी सुरु भएपछि पुष्टि भएको सङ्क्रमितको सर्वाधिक हो।

विगत २४ घण्टाको अवधिमा कोभिड १९ का कारण २७ जनाको निधन भएको सूचना प्राप्त भएको छ भने १४ जनाको सो अवधिमै मृत्यु हुन गएको छ।

एन्टिजन र पीसीआर विधिबाट गरी कुल १६ हजार ७ सय ७० जनामा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये १६ हजार १ सय ४७ जनाको पीसीआर र ६ सय २३ जनाको एन्टिजन परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो।

पीसीआर विधिबाट ७ हजार १ सय ३४ र एन्टिजन विधिबाट ७४ जनाको सङ्क्रमण पुष्टि भएको हो।

यसअघि शनिवार अपराह्ण सरकारले थप ५ हजार ७ सय ६३ जनालाई सङ्क्रमण भएको दैनिक विवरण सार्वजनिक गरेको थियो।

नेपाल कोभिडको तथ्याङ्क

नेपाल कोभिडको तथ्याङ्क

त्यसभन्दा पहिले गत कार्तिक ५ गते ५ हजार ७ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

हालसम्मकै सबैभन्दा धेरै गत बिहीवार ३५ जनाको कोभि १९ का कारण मृत्यु भएको विवरण आएको थियो।

सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिले थपिएका सङ्क्रमितमध्ये उपत्यकाका तीन जिल्लाभित्र ३ हजार ५ सय ९५ जना छन्।

तीमध्ये काठमाडौंका २ हजार ७ सय ४४ जना, ललितपुरमा ५ सय ५० जना र भक्तपुरमा ३ सय १ जनामा कोभिड १९ पुष्टि भएको हो।

सक्रिय सङ्क्रमित कति

मन्त्रालयका अनुसार अहिले देशभरि ४८ हजार ७ सय ११ जना सक्रिय सङ्क्रमित छन्।

तीमध्ये संस्थागत आइशोलेसनमा ३ हजार ५ सय ३० जना र होम आइशोलेसनमा ४५ हजार १ सय ८१ जना छन्।

गत २४ घण्टाको अवधिमा १ हजार ६ सय १२ जना निको भई घर फर्केको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतवारसम्म देशभरि ४ सय ७७ जना आईसीयूमा रहेकामा त्यसमध्ये १ सय ३१ जना भेन्टिलेटरमा छन्।

सङ्क्रमितको उमेर समूह

सङ्क्रमित हुनेमा उमेर समूहको हिसाबले ३० देखि ३९ वर्षका मानिसमा सबैभन्दा बढी १ हजार ८ सय ९ जना सङ्क्रमित छन्।

त्यसपछि २० देखि २९ वर्षका १ हजार ७ सय ६७ जना र ४० देखि ४९ वर्षसम्मका १ हजार २ सय २० जना सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

अहिले १२ जिल्ला प्रत्येकमा ५ सय जनाभन्दा बढी सङ्क्रमित उपचाररत छन् भने २ सय जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या १७ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो समय नयाँ भेरिअन्ट देखिएसँगै सङ्क्रमित हुनेहरूको सङ्ख्या पनि बढ्दो क्रममा देखिएको अधिकारीहरूले बताएका छन्।

छिमेकी भारतको अवस्था

आइतवार बिहान भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा शनिवार देशभरिमा ३ लाख ९२ हजार ४ सय ८८ जनामा नयाँ सङ्क्रमणमा पाइएको बीबीसी हिन्दीले जनाएको छ।

चौबीस घण्टाको अवधिमा त्यहाँ ३ हजार ६ सय ८९ जनाको कोभिड १९ का कारण निधन भएको छ।

त्यस अवधिमा तीन लाख ७ हजार ८ सय ६५ जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्केका छन्।

भारतमा कुल ३३ लाख ४९ हजार ६ सय ४४ जनामा सक्रिय सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ।

हालसम्म भारतमा कुल सङ्क्रमितको सङ्ख्या १ करोड ९५ लाख ५० हजार भन्दा बढी पुगेको छ।

त्यहाँ हालसम्म २ लाख १५ हजार ५ सय ४२ जनाको कोभि १९ का कारण निधन भइसकेको छ।

भारतमा हालसम्म १५ करोडभन्दा बढीले कोभिडविरुद्धको खोप लिइसकेका छन्।(बीबीसीबाट)

कोरोनाभाइरस सङ्क्रमणको लक्षण

 

Share Now

Leave a comment.