Prakash Adhikari May 4, 2021

 

क्यालिफोर्निया(संयुक्त राज्य अमेरिका), २१ बैशाख (बीबीसी) । लामो समयसम्म संसारका सबैभन्दा धनीको सूचीमा शीर्षमा रहेका र हाल चौथो नम्बरमा झरेका माइक्रो सफ्ट कम्पनीका मालिक बिल गेट्स र उहाँकी पत्नी मिलिन्दा गेट्स अलग अलग हुनुहुने भएको छ ।

संसारको सबैभन्दा ठूलो परोपकारी कोष स्थापना गरेका बिल र मेलिन्डा गेट्सले विवाहको २७ वर्षपछि छुट्टिने निर्णय गरेका छन्।

एउटा संयुक्त विज्ञप्तिमा दुवै जनाले आफ्नो संस्थाका लागि भने मिलेर काम गर्ने बताउनुभएको छ।

माइक्रोसफ्टका भूतपूर्व सहसंस्थापक तथा पूर्वअध्यक्ष गेट्स विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक हुनुहुन्छ।

गेट्स जोडीले ‘धेरै विचार गरेर र आफ्नो सम्बन्धमा धेरै परिश्रम खर्चेर विवाह अन्त्य गर्ने निर्णय गरेको’ सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गर्नुभएको छ

सम्बन्ध विच्छेदको कारण

बिल र मिलिन्दाको पहिलो भेट सन् १९८० को दशकमा भएको थियो जुन बेला मेलिन्डा बिलको फर्ममा आबद्ध हुनुहुन्थ्यो ।

गेट्स दम्पत्तिका तीन सन्तान छन्।

दुवैजना संयुक्त रूपमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन सञ्चालन गर्नुहुन्छ।

उक्त संस्थाले सङ्क्रामक रोगको नियन्त्रण र बालबालिकाको खोपलाई प्रोत्साहन गर्ने जस्ता परोपकारी कामका लागि अर्बौँ डलर खर्च गरेको छ।

वारेन बफेटसहित गेट्स दम्पती ‘गिभिङ प्लेज’मा पनि आबद्ध छन् जसले अर्बपतिहरूलाई आफ्नो धनको ठूलो हिस्सा असल कामहरूका लागि उपलब्ध गराउन प्रतिबद्धता जनाउन अनुरोध गर्ने गर्छ।

फोर्ब्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी व्यक्ति हुनुहुन्छ उनको सम्पत्ति १२४ अर्ब डलर रहेको छ।

सन् १९७० को दशकमा आफू सहसंस्थापक रहेको फर्म माइक्रोसफ्टबाट उहाँले उक्त सम्पत्ति कमाउनुभएको हो।

माइक्रोसफ्ट विश्वकै सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी हो।

गेट्स दम्पतीले आफ्नो सम्बन्धविच्छेदको घोषणा ट्विटरबाट गर्नुभएको हो।

‘विगत २७ वर्षमा हामीले तीन अद्‌भुत सन्तानहरू हुर्काएका छौँ र संसारभरिका मानिसहरूलाई स्वास्थ्य र उत्पादनशील जीवन बाँच्न सक्षम तुल्याउने एउटा कोष बनाएका छौँ। हामी हाम्रो उद्देश्यमा एकै ठाउँमा छौँ र उक्त कोषमा मिलेर काम गर्नेछौँ। तर जीवनको अबको चरणमा जोडीका रूपमा आफ्नो प्रगति हुन नसक्ने हाम्रो विश्वास छ’,उक्त विज्ञप्तिमा भनिएको छ।

उक्त जोडीले नयाँ जीवनमा अघि बढ्न लाग्दा आफ्नो परिवारको गोपनीयतालाई सम्मान गर्न भनेको छ।

भेट कसरी भयो ?

मेलिन्डा प्रडक्ट म्यानेजरको रूपमा सन् १९८७ मा माइक्रोसफ्टमा आबद्ध हुनुभएको थियो।

त्यही वर्ष दुवै जना एक व्यावसायिक रात्रिभोजमा सँगै बस्नुभयो र पछि उनीहरूले सम्बन्ध अघि बढ्यो।

बिलले नेटफ्लिक्सको एउटा वृत्तचित्रलाई भन्नुभएको छ, ‘हामी एक अर्काको एकदमै ख्याल राख्थ्यौँ र त्यहाँ दुइटा मात्रै सम्भावना थियो या त हामी अलग हुनुपर्थ्यो या हामीले विवाह गर्नुपर्थ्यो।’

मेलिन्डाले बिललाई आफूले मनले निर्णय गर्नुपर्ने विषयमा पनि एकदमै व्यवस्थित व्यक्तिका रूपमा पाएको उल्लेख गर्नुभएको छ।

उहाँले विवाह गर्नुका लाभ र हानिबारे ह्वाइट बोर्डमा लेखेको बताइन्छ। दुवै जनाले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गर्नुभएको थियो।

त्यस बेला आफूले नचाहेका व्यक्तिहरू आउन नसकून् भनेर सबै स्थानीय हेलिकप्टरहरूलाई उक्त जोडीले भाडामा लिएका विवरण आएका थिए।

गत वर्ष गेट्सले परोपकारी काममा सक्रिय हुन माइक्रोसफ्टको बोर्डबाट अलग हुने बताउनुभएको थियो।

 

Share Now

Leave a comment.