काठमाडौं, २३ बैशाख । नेपालमा विगत २४ घण्टामा थप ९ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अहिले पनि काठमाडौं उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमितको फेला पर्ने क्रम जारी छ। रूपन्देहीमा ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ।
यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि सङ्ख्या हो।
मन्त्रालयका अनुसार सो अवधिमा थप ५४ जनाको कोभिड १९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ।
सरकारको तथ्याङ्कअनुसार बिहीवार अपराह्णसम्म देशभरि ७२ हजार ५ सय ६१ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।

एन्टिजन विधिबाट परीक्षण गर्दा पुष्टि भएका १०० सङ्क्रमित पनि यो तथ्याङ्कमा समाविष्ट
अहिले पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।
कुल २१ हजार १ सय ४२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
यो अवधिमा २ हजार ७ स ७ जना सङ्क्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार अहिले काठमाडौं जिल्लामा ३ हजार १ सय ६३ जना, ललितपुर जिल्लामा ५ सय ६७ र भक्तपुरमा २ सय ४२ जनामा कोभिड पुष्टि भएको हो।
त्यसैगरी मोरङमा २ सय ५५, कास्कीमा ३ सय ७५, दाङमा २ सय ४६, बाँकेमा ३ सय ९८, रूपन्देहीमा १ हजार ६९ तथा सुर्खेतमा २ सय ६ जनामा पनि सङ्क्रमण पुष्टि भयो।
सरकारले सोमवार ७ हजार ४ सय ४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु, मङ्गलवार ७ हजार ६ सय ६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु र बुधवार ८ हजार ६ सय ५९ जनामा सङ्क्रमण र ५७ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो।
तीमध्ये ५ हजार ३१५ जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
जटिल समस्या भएका बिरामीहरूको अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरमा उपचार भइरहेको छ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमितको अवस्था वैशाख २३ गते अपराह्णसम्मको विवरण

केही सातायता नेपालमा परीक्षण गरिएका नमुनामा सङ्क्रमण पुष्टि अनुपात बढ्न थालेको छ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न उमेर समूहका देखिन्छन्।
तीमध्ये २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको सङ्ख्या सर्वाधिक छ।

काठमाडौंमा धेरै सक्रिय सङ्क्रमित
मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकामा तीन जिल्लामा कुल ३२ हजार ४ सय जनाभन्दा केही बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।
काठमाडौं: २४,५३३
भक्तपुरः २,९४५
ललितपुरः ४,९७४
उपत्यकामा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या देशभरि भएका सङ्क्रमितको कुल सङ्ख्याको ४४.६ प्रतिशत हो।

कोभिडबाट मृत्यु भएका व्यक्तिको शव
राजधानी उपत्यकामा अहिलेसम्म १,२०४ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्क छ।
काठमाडौं ः ८०८
भक्तपुरः १६६
ललितपुरः २३०
यो देशभरि कोभिड -१९ का कारण मृत्यु हुनेको कुल सङ्ख्याको एकतिहाइ हो।
कोभिड १९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शैय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ :
११३३
९८५१२५५८३९
९८५१२५५८३७
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।
भारतको स्थिति
भारत सरकारले बिहीवार प्रकाशित गरेको तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा ४ लाख १२ हजार जनामा अर्थात् अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कोभिड १९ पुष्टि भयो।
उक्त अवधिमा ३ हजार ९ सय ८० जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ।
उत्तर प्रदेश, हरियाणा, पञ्जाब, तमिलनाडु र कर्नाटकसहित केही राज्यमा बुधवार अहिलेसम्मकै सर्वाधिक दैनिक मृत्यु भयो।
महामारी फैलिएदेखि धेरै प्रभावित महाराष्ट्र राज्यमा ९ सय २० जनाको कोभिड १९ का कारण २४ घण्टाको अवधिमा मृत्यु भएको तथ्याङ्क छ।
तर विज्ञहरूले परीक्षणको सङ्ख्या घटेको तथा मृत्युबारे पूर्ण विवरण प्राप्त नभएकाले आधिकारिकभन्दा वास्तविक सङ्ख्या बढी हुन सक्ने औँल्याएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले आफ्नो साप्ताहिक प्रतिवेदनमा गत साता भारतमा फेला परेका सङ्क्रमितको सङ्ख्या विश्वभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्याको झन्डै आधा र मृतकको सङ्ख्या एकचौथाइ उल्लेख गरेको छ।


















