Prakash Adhikari May 7, 2021

 

माले(माल्दिभ्स), २४ बैशाख (बीबीसी) । माल्दिभ्सका भूतपूर्व राष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको एउटा सन्दिग्ध बम हमलामा घाइते हुनभएको छ । उहाँ माल्दिभ्सको संसद्‌का बहालवाला सभामुख पनि हुनुहुन्छ।

सत्ताधारी माल्दिभियन डेमोक्र्याटिक पार्टीका समर्थकहरूले बताएअनुसार उहाँ आफ्नो घरबाहिर रहेको कारमा सवार हुन लाग्दा बिहीवार उक्त विस्फोट भएको थियो।

माल्दिभ्सको प्रहरीले जारी गरेको एउटा वक्तव्यमा भनिएको छः मोहम्मद नाशिदलाई विस्फोटनमा चोट लागेको छ र उहाँको हाल उपचार भइरहेको छ।

प्रारम्भिक विवरणहरूका अनुसार उहाँको घरबाहिर पार्क गरेर राखिएको मोटरसाइकलमा विस्फोटक पदार्थहरू बाँधेर राखिएको र त्यसलाई विस्फोट गराइएको हुनसक्छ।

 

उहाँको उपचार भइरहेको अस्पतालले मोहम्मद नाशिदलाई धेरै ठाउँमा चोट लागेको जनाएको छ। तर उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ।

उहाँका समर्थकहरू अस्पतालबाहिर भेला भएका छन्। त्यहाँको अवस्था तनावपूर्ण रहेको र स्थितिलाई हेरेर दङ्गा प्रहरी परिचालन गरिएको बताइएको छ।

छानबिन

माल्दिभ्सका हालका राष्ट्रपति इबु सोलिहले एउटा ट्विटर सन्देश लेख्दै प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन थालेको जानकारी दिनुभएको छ।

सत्ताधारी पार्टीका एकजना सांसद अलि अजिमले बीबीसीसँग कुरा गर्दै त्यो मोहम्मद नाशिदलाई लक्षित गरेरै भएको आक्रमण हुनसक्ने बताउनुभएको छ।

बीबीसीका अन्बरसन इथिराजन भन्नुहुन्छ, मोहम्मद नाशिद माल्दिभ्समा एक प्रजातन्त्र समर्थक व्यक्तित्व मात्र होइन धार्मिक कट्टरपन्थीहरूविरुद्ध कडा रूपमा नहिचिकचाई बोल्ने आलोचक पनि हुनुुहुन्छ।

नाशिद
त्रिपन्न वर्षका नाशिद माल्दिभ्सको संसद्‌का बहालवाला सभामुख पनि हुनुहुन्छ

नाशिद माल्दिभ्समा प्रजातान्त्रिक रूपमा निर्वाचित प्रथम राष्ट्रपति हुनुहुन्छ।

सन् २००८ मा भएको बहुदलिय निर्वाचनमा विजयी भएर उहाँ राष्ट्रपति बन्नुभएको थियो। तर त्यसको चार वर्षपछि एउटा सैनिक विद्रोहबाट उहाँलाई सत्ताच्यूत गरिएको थियो।

त्रिपन्न वर्षका नाशिदको पद माल्दिभ्सको दोस्रो ठूलो शक्तिशाली पद हो।

माल्दिभ्स सुन्नी मुस्लिमहरूको बाहुल्यता भएको देश हो र झण्डै १ हजार १ सय ९२ वटा टापुको समूह रहेको उक्त देश भारतीय उपमहाद्वीपको दक्षिण(पश्चिममा अवस्थित छ।

माल्दिभ्स त्यहाँको समुद्री तट र विलासी रिजोर्टहरूका लागि एक पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध छ।

Share Now

Leave a comment.