Prakash Adhikari May 9, 2021

 

बेइजिड.(चीन), २६ बैशाख(बीबीसी) । पृथ्वीतिर अनियन्त्रित रूपमा फर्किँदै गरेको एउटा चिनियाँ रकेटका अवशेषहरू हिन्द महासागरमा खसेको चीनले बताएको छ।

उक्त रकेटको अधिकांश भाग पृथ्वीमा प्रवेश गर्ने क्रममा ध्वस्त भएको थियो। तर केही भाग ७२.४७ डिग्री पूर्व र २.६५डिग्री उत्तर अक्षांश र देशान्तर भएको स्थानमा झरेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

उक्त स्थान माल्दिभ्सबाट पश्चिमतिर पर्छ।

अमेरिकी र युरोपेली ट्र्याकिङ वेबसाइटहरूले अनियन्त्रित रूपमा झरिरहेको लङ मार्च ५ बी रकेटको अनुगमन गरिरहेका थिए।

चिनियाँ सञ्चारमाध्यमका अनुसार रकेटका केही भागहरू बेइजिङको स्थानीय समयानुसार आइतवार १० : २४ बजे वायुमण्डलमा पुनः प्रवेश गरेका थिए।

अमेरिकाको स्पेस कमान्डले एउटा विज्ञप्तिमा आफूले ‘चिनिया लङ मार्च ५ बी अरेबियन प्रायःद्वीपमाथि पुन:  प्रवेश गरेको पुष्टि गर्न सकेको’ जनाएको छ।

Map: Image shows the approximate landing point of the rocket

रकेटका अवशेषहरूले जमिनमा प्रभाव पारे कि पानीमा भन्ने विषयमा भने आफूहरू अनभिज्ञ रहेको उक्त निकायले जनाएको छ।

रकेट वायुमण्डलमा फर्किनुअघि त्यसका भागहरू मानिसहरू बसोबास गर्ने क्षेत्रमा खस्लान् भन्ने चिन्ता उत्पन्न भएको थियो।

अन्तरिक्षसम्बन्धी विषयका विज्ञहरूले भने पृथ्वीको निकै ठूलो सतह समुद्रले ओगटेको र धेरै भूभागमा बसोबास नरहेका कारण रकेटका टुक्रा कसैलाई लाग्न सक्ने सम्भावना निकै कम रहेको अनुमान गरेका थिए।

सन् १९९० यता १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको छैन।

चिनियाँ रकेट १६ फिट चौडाइ र ९८ फिट लम्बाइको थियो।

प्रक्षेपण
अन्तरिक्ष स्टेसनमा अन्तरिक्षयात्रुहरूका लागि वासस्थान रहने ‘तियाहे’ अंश वेनच्याङ् अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट लङ मार्च-५ बी रकेटमार्फत पठाइएको हो।

चीनले आफ्नै नयाँ अन्तरिक्ष स्टेसन सन् २०२२ मा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ।

अहिले अन्तरिक्षमा रहेको एक मात्र स्टेसन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन हो जसमा चीनलाई सहभागी गराइएको छैन।

अन्तरिक्ष अन्वेषणमा चीन नयाँ खेलाडी हो। सन् २००३ मा मात्रै चीनले आफ्नो पहिलो अन्तरिक्षयात्री पठाएको थियो। अमेरिका र तत्कालिन सोभियत सङ्घपछि त्यस्तो गर्ने चीन तेस्रो देश बनेको थियो।

अहिलेसम्म चीनले परीक्षणका रूपमा दुई वटा स्टेसन अन्तरिक्षमा पठाएको छ जसमा अल्पकालीन रूपमा अन्तरिक्षयात्रीहरू रहन सक्छन्।

चिनियाँ भाषामा ‘स्वर्गमा अमनचैन’ अर्थ लाग्ने नाम राखिएको ‘तियाहे’ अन्तरिक्षमा कम्तीमा १० वर्ष सञ्चालनमा रहने बताइएको छ।

चीनले सो स्टेसनका लागि कम्तीमा थप १० अंशहरू पठाउने छ। सो अन्तरिक्ष स्टेसन पृथ्वीबाट ३४० देखि ४५० किलोमिटरको दूरीमा रहने छ।

रुस, अमेरिका, क्यानडा, युरोप र जापानको सहभागिता रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा चीनको संलग्नता छैन।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन सन् २०२४ मा बन्द हुने बताइएको छ र त्यसपछि अन्तरिक्षमा एक मात्र स्टेसन चिनियाँ स्टेसन हुने सम्भावना छ।

चीनको अन्तरिक्ष सपना

यो प्रक्षेपणको एक महिनाअघि मात्रै चीन र रुसले संयुक्त रूपमा चन्द्रमाको सतहमा अन्तरिक्ष स्टेसन बनाउने घोषणा गरेका थिए।

चीनको अन्तरिक्ष कार्यक्रमलाई नियाल्ने विश्लेषक चेन लानले एएफपी समाचार संस्थालाई त्यो ठूलो योजना भएको बताउनुभएको थियो।

‘यो चीनका लागि सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अन्तरिक्ष सहकार्य योजना हो त्यसैले यो महत्त्वपूर्ण छ’, लानले भन्नुभएको थियो।

चीनले हालैका वर्षहरूमा आफ्नो अन्तरिक्ष आकाङ्क्षा प्रदर्शन गरेको छ।

अन्तरिक्ष कार्यक्रममा ठुलो लगानी खन्याएको चीन सन् २०१९ मा चन्द्रमाको पछाडिको भागमा मानवरहित यान पठाउने पहिलो राष्ट्र बनेको थियो ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*