काठमाडौँ, २६ वैशाख (रासस) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीलाई पत्नीशोक परेको छ । राज्य व्यवस्था समितिका पूर्वसभापति एवम् तत्कालीन संविधानसभा सदस्य घर्तीकी श्रीमती मुक्ताको आज बिहान ६८ वर्षका उमेरमा स्थानीय सीतापाइलास्थित निवासमा निधन भएको हो ।
लामो समयदेखि बिरामी घर्ती आज बिहान एक्कासि बेहोश हुनुभएको थियो । स्व मुक्ता कृष्णप्रसाद कोइरालाकी श्रीमती मोहनकुमारीकी नातिनी हुनुहुन्थ्यो । स्व घर्तीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उहाँका एकएक छोरा र छोरी हुनुहुन्छ ।
—


















