Prakash Adhikari February 12, 2018

 

काठमाडौं, २९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्नेतलाई अख्तियारका अन्य आयुक्त र कर्मचारीहरुले सोमबार विदाई गरेका छन् ।

उनको कार्यकाल भोलि फागुन १ गतेदेखि समाप्त हुँदैछ ।

भोलि सार्वजनिक विदा परेको र पर्सिदेखि कार्यालय उपस्थित हुन अप्ठेरो पर्नेभएकोले आजै विदाई गरिएको अख्तियारका एक कर्मचारीले बताए ।

तात्कालिन अख्तियार प्रमुखलाई सर्वोच्च अदालतले अयोग्य घोषित गरेपछि अख्तियारमा कायम मुकायम प्रमुख भै काम गर्दै आएका आयुक्त बस्नेतलाई १९ बैशाखमा संबैधानिक परिषद्ले  अख्तियार प्रमुखमा सिफारीस गरेको थियो ।

उनलाई २०७१ चैत्रमा अन्य आयुक्तहरु डा. गणेशराज जोशी, नविन घिमिरे,डा.सावित्री गुरुड. र राजनारायण पाठकसंगै आयुक्तमा नियुक्ति गरिएको थियो ।

प्रमुख आयुक्त उमेरको हद्का कारण विदाई हुने भएका हुन । उनले पेश गरेको नागरिकता र अन्य प्रमाणपत्रहरुको आधारमा २००९ साल फागुन २ गते जन्म मिति कायम गरिएको थियो ।

यद्यपि उनकी तीन वर्ष कान्छी बहिनी भगवतीभन्दा सात महिना कान्छो देखिएकोले यस विरुद्ध अख्तियारमा नै मुद्दा परेको थियो । उनकी बहिनी भगवती बस्न्यात कोइरालाको नागरिकतामा जन्म मिति ५ साउन २००९ साल उल्लेखित छ ।२००६ सालको फागुन २ मा जन्मिएका प्रमुख आयुक्त बस्न्यातले पछि २ फागुन २००९ सालको मिति राखेर नागरिकता बनाएको सरकारी तथ्यांकले देखाउँछ ।

प्रमुख बस्नेतले सरकारी जागीरमा बढुवाको लागि पेश गरेको एम कमको लब्धांक पत्र र चारित्रिक प्रमाणपत्र पनि नक्कली भएको उजुरी परेको थियो । उनले आफू कलकोत्ताको बाणिज्यदूत रहेको बेला बिहारको मघदिरा विश्वविद्यालयबाट एमकमको सर्टिफिकेट लिएका थिए ।

उनीले सो समय अध्ययन विदा त परै जावोस परीक्षाका लागि पनि बिदा लिएका थिएनन् बरु अख्तियार प्रमुख रहदा उनले पेश गरेको बायोडाटामा त्यही समयमा उनी अमेरिकाको एउटा कार्यक्रममा सरकारी सेवाबाटै गएको र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको तालिममा पनि सहभागी भएको उल्लेख थियो ।

उनको नक्कली सर्टिफिकेटका विरुद्ध पनि संसदीय समितिमा उजुरी परेर एक दिन सुनुवाई सरेको थियो ।

अख्तियारको आयुक्त हुनका लागि स्नातक भएपनि पुग्दछ तर नेपाल सरकारको सचिव बन्नका लागि भने स्नातकोत्तर आवश्यक हुन्छ ।

उनको नक्कली सर्टिफिकेटमा छानवीन भएको भए उनले सचिवमा बढुवा भएदेखि खाइपाई आएको तलबभत्ता फिर्ता गर्नुपर्ने देखि भविष्यमा कुनै पदको नियुक्तिको लागि अयोग्य हुने निश्चित थियो ।

तर साम,दान,दण्ड,भेद सबैखाले नीति अपनाउन माहिर वस्नेतले छलछाम गरेर आयुक्त बने र आफू आयुक्त भएकै बेलामा आफूमाथिका अनुसन्धानका फाईलहरु बन्द गराए ।

दुवै विषयमा सर्वोच्चमा परेका मुद्दामा पनि उनले प्रमुख आयुक्त बनेपछि संवैधानिक अंग प्रमुखको अधिकारको सदुपयोग गरी सफाई लिने तारतम्य मिलाए ।

Share Now

Leave a comment.