प्रकाश अधिकारी
काठमाडौं, २७ बैशाख । पार्टीभित्रको विवादको न्यायसंगत समाधान निकाल्न नसकेर प्रतिशोध स्वरुप गत पौष ५ गते प्रतिनिधिसभाको हत्या गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई असंवैधानिक सिफारिस गर्नुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई प्रतिनिधिसभाले विश्वासको मतमा परास्त गरेर स्वतः पदमुक्त गरिदिएको छ ।
२०७४ फागुन ३ गते सरकार गठन गर्दा समर्थन गर्ने नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रतिनिधिसभामा आफ्नो बहुमत सिद्ध गर्न प्रधानमन्त्रीले विशेष अधिवेशन आह्वान गर्न लगाई आज विश्वासको मतको प्रस्ताव पेश गर्नुभएको थियो ।
तर उहाँले पेश गर्नुभएको विश्वासको मतमा उहाँकै दलका पूरा मत प्राप्त गर्न सक्नुभएन । विश्वासका प्रस्तावमाथि मत विभाजन प्रक्रियाद्धारा मतदान हुँदा सरकारको पक्षमा ९३ मत मात्र पर्यो भने विपक्षमा १ सय २४ मत । प्रधामन्त्रीकै दलकासहित २८ जना सांसदहरु विश्वासको मत लिनका लागि बोलाइएको विशेष अधिवेशनको बैठकमा अनुपस्थित रहनुभयो भने बैठकमा उपस्थित भएर आफ्ना कुरा राखेर पनि १५ जना सांसदहरुले मतदान प्रक्रियामा सहभागिता नजनाई तटस्थताको नीति अवलम्बन गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिंदेन पनि बैठकमा अनुपस्थित रहनुभयो ।
२ सय ७५ सदस्यीय नेपालको प्रतिनिधि सभामा दल त्यागसम्बन्धी व्यवस्थाअनुसार नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ ।
नेपाली कांग्रेसका सांसद विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम तथा जसपाका रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा हुनुहुन्छ ।
संसदमा एमालेका १२१, माओवादी केन्द्रका ४९, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार रहेको थियो ।
आजको मतदानमा नेपाली काङ्ग्रेस ६१ जना र नेकपा माओवादी केन्द्र ४८ जना र जसपाका ३२ मध्ये १५ जनाले विपक्षमा मतदान गर्नुभएको थियो ।
पार्टीभित्रको अन्तरविरोध समाधान गर्न असफल प्रधानमन्त्री ओलीलाई उहाँकै पार्टीका वरिष्ठ नेताहरुसहित २८ जनाले असहयोग गर्नुभएको थियो । आवश्यक परेमा सामूहिक राजिनामा दिने मनस्थितिमा रहेका सत्तारुढ नेकपा एमालेभित्रका असन्तुष्ट नेताहरुले आज बिहान प्रतिनिधिसभाको बिशेष अधिवेशनको बैठक प्रारम्भ हुनुपूर्व सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयबाट आजको बैठकमा उपस्थित पनि नहुने र मतदान बहिस्कार गर्ने घोषणा गर्नुभएको थियो ।
सोही निर्णय अनुसार एमालेका सांसदहरुः१. झलनाथ खनाल २. माधवकुमार नेपाल ३. भीम रावल ४. घनश्याम भुसाल ५. सुरेन्द्र पाण्डे ६. गोकर्ण विष्ट ७. योगेश भट्टराई८. मुकुन्द न्यौपाने ९. सोमप्रसाद पाण्डे १०. जीवनराम श्रेष्ठ ११. रामकुमारी झाँक्री १२. गणेश पहाडी १३. जयकुमार राई १४. यज्ञराज सुनुवार १५. नारायण खतिवडा १६. पवित्रा निरौला खरेल १७. भवानी खापुङ १८. दीपकप्रकाश भट्ट १९. विरोध खतिवडा २०. पुष्पाकुमारी कर्ण २१. झपट रावल २२. मेटमणि चौधरी २३. सरला यादव २४. कृष्णलाल महर्जन २५. कल्याणी खड्का २६. निरादेवी जैरु २७. कलिला खातुन २८. लक्ष्मीकुमारी चौधरी विश्वासको मत लिन प्रधानमन्त्रीले बोलाउनुभएको विशेष अधिवेशनको बैठकमा सहभागी भएर मतदान गर्न अग्रसर हुुनुभएन । अनुपस्थित रहनुभयो । बैठकमा एमालेका २८ सहित कूल ३४ सांसद अनुपस्थित रहनुभएको संसद सचिवालयले जनाएको छ ।


















