Prakash Adhikari May 10, 2021

 

काठमाडौं, २७ बैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालमा विगत २४ घण्टामा १ सय ३९ जनाले जीवन गुमाएका छन भने परीक्षण गरिएका मध्ये थप ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार पीसीआर र एन्टिजन विधिबाट १८ हजार ४ सय ११ जनाको परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्। यो परीक्षण गरिएका नमूनाको आधाभन्दा बढी हो ।

विगत २४ घण्टाको अवधिमा ४ हजार ७ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि ९३ हजार १ सय ४१ भन्दाबढी मानिसमा सक्रिय सङ्क्रमण छ।

तीमध्ये काठमाडौं उपत्यकाको तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक भएको सरकारको तथ्याङ्कले देखाउँछ।

सरकारले सोमवार ७ हजार ४ सय ४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु, मङ्गलवार ७ हजार ६ सय ६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधवार ८ हजार ६ सय ५९ जनामा सङ्क्रमण र ५८ जनाको मृत्यु, बिहीवार थप ९ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु, शुक्रवार ९हजार १ सय ९६ जनामा सङ्क्रमण र ५० जनाको मृत्यु, शनिवार ८ हजार ४ सय१८ जनामा कोरोना भाइरस सङ्क्रमण र ५३ जनाको मृत्यु र आइतवार ८ हजार ८ सय ५० जनामा सङ्क्रमण र पहिला तथ्याङ्कमा नपरेकासहित ८८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो।

कोभिड बिरामी नेपाल

कोभिड बिरामी नेपाल

मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा केही सातादेखि परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखिन्छ।

सङ्क्रमितहरू विभिन्न उमेर समूहका भए पनि २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको सङ्ख्या सर्वाधिक छ।

अहिले कोरोनाभाइरसबाट प्रभावित विभिन्न जिल्लामा निषेधाज्ञा वा अन्य प्रतिबन्धात्मक आदेशहरू जारी गरिएको छ।

निषेधाज्ञा १५ दिन थप्न सिफारिस

काठमाडौं उपत्यकामा अझ १५ दिन निषेधाज्ञा थप गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सोमवार सिफारिस गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभएको छ।

डीसीसीएमसीमा काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी समाविष्ट छन्।

कोरोनाभाइरस सङ्क्रमण फैलिने गति तीव्र हुँदै गएपछि गत वैशाख १६ गते एक हप्ताका लागि निषेधाज्ञा लगाइएको थियो।

पराजुलीका अनुसार डीसीसीएमसीको सिफारिसबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निर्णय गर्नेछ । (बीबीसीबाट)

Share Now

Leave a comment.