काठमाडौं, २८ बैशाख । नेपालमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । विगत २४ घण्टामा यस घातक कोरोना भाइरसको संक्रमणबाट थप २ सय २५ जनाको मृत्यु भएको विवरण थपिएको छ । यही अवधिमा थप ९ हजार ४ सय ८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्यु भएका संक्रमितहरु मध्ये ७९ जनाको विगत २४ घण्टामा निधन भएको हो भने अन्य मृत्यु नेपाली सेनाले विभिन्न मितिका शव व्यवस्थापन गरेको आधारमा थप गरिएको जनाएको छ।
एकै दिन पुष्टि गरिएको र विगत २४ घण्टाको अवधिमा मृत्यु भएका यी दुवै सङ्ख्या हालसम्मकै उच्च हो।
पीसीआर विधि र एन्टिजन विधिबाट २१ हजार ३ सय १६ जनाको परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।
विगत २४ घण्टाको अवधिमा ५ हजार २ सय २५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
अहिले देशभरि ९७ हजारभन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ। कुल सङ्क्रमितको सङ्ख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ।
तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा सङ्क्रमित हुनेको सङ्ख्या सर्वाधिक भएको सरकारको तथ्याङ्कले देखाउँछ।
त्यसमध्ये काठमाडौंमा २ हजार ७ सय ८८ जना, ललितपुरमा ६ सय २ जना र भक्तपुरमा ५ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको हो।
दुई सय भन्दा बढी सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापामा २ सय ६४, मोरङमा ३ सय ५०, कास्कीमा ३ सय ७०, दाङमा २ सय ६५, बाँकेमा ५ सय ६, रुपन्देहीमा ७ सय ९, सुर्खेतमा २ सय ६४ र कैलालीमा २ सय ९५ छ।
नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४ हजार ८४ पुगेको छ।
सरकारले गत मङ्गलवार ७ हजार ६ सय ६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधवार ८ हजार ६ सय ५९ जनामा सङ्क्रमण र ५८ जनाको मृत्यु, बिहीवार थप ९ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु, शुक्रवार ९ हजार १ सय ९६ जनामा सङ्क्रमण र ५० जनाको मृत्यु, शनिवार ८ हजार ४ सय १८ जनामा कोरोना भाइरस सङ्क्रमण र ५३ जनाको मृत्यु, आइतवार ८ हजार ८ सय ५० जनामा सङ्क्रमण र पहिला तथ्याङ्कमा नपरेकासहित ८८ जनाको मृत्यु र सोमबार ९ हजार २ सय ७१ जनमा सङ्क्रमण र १ सय ३९ जनाको मृत्यु पुष्टि गरेको थियो।
मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा केही सातादेखि परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखिन्छ।
सङ्क्रमितहरू विभिन्न उमेर समूहका भए पनि २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको सङ्ख्या सर्वाधिक छ।
अहिले कोरोनाभाइरसबाट प्रभावित विभिन्न जिल्लामा निषेधाज्ञा वा अन्य प्रतिबन्धात्मक आदेशहरू जारी गरिएको छ।
निषेधाज्ञा १५ दिन थपियो
काठमाडौंं उपत्यकामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको अवस्थामा आगामी दुई सातासम्म निषेधाज्ञा थप गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभएको छ।
उहाँल्े विवाह, व्रतबन्धजस्ता कार्यक्रमहरू होटल वा पार्टी प्यालेसमा समेत गर्न नपाइने गरी निर्णय गरेको बताउनुभयो ।

भक्तपुर
अत्यावश्यक सामाग्री खरिद गर्नका लागि बिहान दिइएको समय भने एक घण्टा बढाइएर १० बजेसम्म कायम गरिएको छ।
त्यस्तै अत्यावश्यक सेवा दिने बाहेकका सबै कार्यालयहरू बन्द गराउने निर्णय गरिएको उनले बताए।
कार्यालयले जारी गरेको सूचनामा विवाह र व्रतबन्ध १० जनासम्म भेला भएर स्वास्थ्य सावधानीका साथ घर वा तोकिएको स्थानमा गर्न पाउने भनिएको छ।
पछिल्ला निर्णयहरू बिहीवारदेखि कार्यान्वयनमा आउने बताइएको छ । (बीबीसीबाट)


















