Prakash Adhikari May 19, 2021

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले मत माग्दै वक्तव्य दिएर निर्वाचन आचार संहिता उल्लंघन गरेकोमा कारबाही गर्न निर्वाचन आयोगसंग माग गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले सो माग गरेको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि निर्वाचन आयोगले कारबाही गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको बताउनुभएको छ ।

भोलि वाग्मती प्रदेशमा राष्ट्रिय सभाका सदस्य पदको एक पदका लागि निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मंगलबार राति १२ बजेदेखि मौन अवधि गणना गरी यो अवधिमा सार्वजनिक रुपमा निर्वाचन प्रचार प्रसारमा रोक लगाएको थियो ।

तर प्रधानमन्त्री ओलीले बुधबार बिहान पार्टीका तर्फबाट उठाइएका उम्मेदवारलाई मतदान गर्न एक अपीलमार्फत मतदाताहरुलाई सार्वजनिक आह्वान गर्नुभएको छ ।

बैठकले कोरोना महामारीबाट जनताको ज्यान जोगाउन सरकार गम्भीर नभएकामा चिन्ता व्यक्त गरेको छ ।

महामारीका समयमा जनताको जिवनरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएपनि सरकार र सरकारका मन्त्रीहरु गम्भीर नभएको र भ्रष्टाचारका कुरा बाहिर आउनु चिन्ताको विषय भएको खाँडले बताउनुभयो ।
कांग्रेसले सवै नागरिकलाई कोरोना खोपको प्रवन्ध छिटो भन्दा छिटो उपलव्ध गराउन पनि सरकारको ध्यानाकर्षण गरेको छ

बैठकले कोरोना रोक्नका लागि अन्तराष्ट्रिय निकायले गरेको सहयोगप्रति धन्यवाद दिदै आगामी दिन पनि थप सहयोगको अपेक्षा र आह्वान गरेको छ ।

Share Now

Leave a comment.