काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री के.पी. शर्मा ओलीसमक्ष आज १५ बूँदे ज्ञापन पत्र दिनुभएको छ ।
बिहिबार दिउँसो पूर्वप्रधानमन्त्री देउवाले प्रधानमन्त्री ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर सो ज्ञापन पत्र प्रदान गर्नुभएको हो ।
ज्ञापन पत्रका १५ वटै मागहरु कोरोना संक्रमण रोकथाम र नियन्त्रणसंग सम्बन्धित रहेका छन् ।
कांग्रेस सभापति देउवाले सबै नागरिकलाई पुग्ने गरी खोपको प्रबन्ध गर्न, सबै अस्पतालहरुमा कोरोना उपचारको व्यवस्था सहज र सुलभ बनाउन, सबै अस्पतालमा अक्सिजन र अक्सिजन सिलिण्डर उपलब्ध गराउन, निजी अस्पतालमा उपचार शुल्क र हेलिकोप्टर चार्टर शुल्क नियन्त्रित गर्न, कोरोनाको संभाव्य तेस्रो लहरबाट आम नेपाली र खासगरी बालबालिकालाई सुरक्षित राख्ने प्रबन्ध गर्नर्,खोप खरिदमा बिचौलिया,कमिशन र अनियमितता हुन नदिइ पारदर्शिता अपनाउन र विगतमा स्वास्थ्य उपकरण र सामग्री खरिदमा भएको भ्रष्टाचारको छानवीन गरी दोषीलाई कारबाही गर्न पनि माग गर्नुभएको छ ।
सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष सिंहदरबारमा आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वकाे प्रतिनिधि मण्डलले ज्ञापनपत्र प्रस्तुत गरेकाे छ । pic.twitter.com/tbnFZd02ZV
— Surya Thapa (@ThapajiSurya) May 20, 2021
कांग्रेस सभापति देउवाले अस्पतालहरुमा बेड, आइसीयू कक्ष, भेन्टिलेर,अक्सिजनको व्यवस्था गर्न, औषधीहरुमा अभाव र कार्टेलिड हुन नदिन, सबै जिल्लाका सरकारी अस्पतालहरुमा न्यूनतम् स्वास्थ्य सुविधाहरु उपलब्ध गराउन, कोरोना भाइरसको संक्रमणमा परेकाहरुको लागि आइसोलेशन कक्ष,क्वारेन्टाइनको व्यवस्था गर्न सबै स्थानीय निकायलाई सक्षम बनाउन, संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचानमा स्थानीय निकायलाई जिम्मेवार बनाउन, सीमा नाका र अन्तराष्ट्रिय विमानस्थलमा कोरोना परीक्षण प्रभावकारी बनाउन, स्वास्थ्य मन्त्रालयमा प्राविधिक स्वास्थ्य सचिवको पनि व्यवस्था गर्न माग गर्नुभएको छ ।
यस्तो छ ज्ञापन पत्रको पूर्ण पाठ :
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरवार, काठमाडौं ।
संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ । बढ्दो संक्रमणसँगै स्वास्थ्य सुविधा नभएका ठाउँहरुको स्थिति नाजुक बनेको छ भने केही स्वास्थ्य सुविधा भएका ठाउँहरुमा पनि बाहिरबाट आउने विरामीहरुको अत्याधिक चापले सेवा पु¥याउन असम्भव भएको छ । बढ्दो विरामीको चापसँगै विशेष गरेर अक्सिजन र आइसियु बेडको तड्कारो अभाव देखिन थालेको छ । सीमा नाकाहरुमा यथेष्ट परिक्षणको अभाव, होल्डिड सेन्टर र क्वारेन्टाइन केन्द्रहरुको समुचित व्यवस्था नहुँदा देशभित्र द्रुत गतिमा संक्रमण प्रवेश गरेको छ । निषेधाज्ञाको पनि वैज्ञानिक व्यवस्थापन नहुँदा देशभित्र पनि संक्रमित क्षेत्रहरुबाट संक्रमण नभएका क्षेत्रहरुमा चाँडो संक्रमण फैलदो छ । सरकारको नेतृत्वपंक्तिको अगुवाईमा गत समयमा भएका भीडभाड, तडकभडक र उद्घाटन कार्यक्रमहरुले संक्रमण दु्रत गतिमा बढ्न मद्दत गरेको छ ।
संक्रमित विरामीहरुलाई टाढा—टाढाबाट सिमित सहरी क्षेत्रहरुमा रहेका अस्पतालहरुमा पु¥याउन यातायात सुविधाको समस्यासँगै हेलिकोप्टर लगायतका यातायातका साधनको चर्को मूल्यले सामान्य नागरिकलाई अस्पतालमा पुग्न असम्भव भएको छ भने अस्पतालमा पुगेका विरामीहरुले चर्को अस्पताल खर्च व्यहोर्न पर्ने स्थितिले आम नागरिकहरु स्वास्थ्य सेवा पहुँच भन्दा बाहिर भएको छ । गत सालको बजेटमा देशको स्वास्थ्य संरचनालाई व्यापक विस्तार गर्ने घोषणा भएता पनि नगन्य सुधार भएको कारण उपचारको आवश्यकताको तुलनामा आपूर्ति अत्यन्त न्यून देखिएको छ । स्वास्थ्य मानव संसाधन आवश्यकता भन्दा कम हुँदा स्वास्थ्य सेवा गम्भीर रुपमा प्रभावित भएको छ । स्वास्थ्यकर्मीहरुलाई घोषणा गरिएको वीमा र जोखिम भत्ताको समयमा सुनिश्चितता नहुँदा सेवामा अहोरात्र खट्ने स्वास्थ्यकर्मी, सफाईकर्मीहरुमा उत्साह थप्न सकिएको छैन ।
ट्रेसिङ र त्यसका आधारमा लक्षित पिसिआर परिक्षणको अभावमा संक्रमितहरुको संख्या निकै बढी भएको सहजै अनुमान गर्न सकिन्छ । उपचार पहुँचको अभावमा मृत्यु हुनेहरुको संख्या पनि सार्वजनिक गरिएको संख्या भन्दा बढी छ । उचित मनोवैज्ञानिक परामर्श, रोकथाम र उपचारका प्राथमिक सूचना र सल्लाहले धेरै संक्रमितहरुलाई गम्भीर विरामी भएर अस्पताल जानु पर्ने अवस्थाबाट रोक्न सक्छ । तर त्यस्तो परामर्श र हटलाइनको समुचित व्यवस्था सरकारले नगर्दा समस्या झन विकराल बनेको छ । अहिलेको दोस्रो चरणको संक्रमण मात्र होइन देशले तेस्रो चरणको संक्रमण ब्यहोर्न पर्ने चेतावनी विज्ञहरुले दिएका छन् । यस्तो अवस्थामा आम नागरिकहरुलाई कोभिड—१९ महामारीबाट छुटकारा दिलाउन भ्याक्सिनको चाँडो भन्दा चाँडो व्यवस्था मिलाउन आवश्यक छ । तर यस्तो संवेदनशील काममा पनि कमिशनको चक्करले ढिलासुस्ति आउनु अत्यन्त दुःखद कुरा हो ।
देशको अधिकांश ठाउँहरुमा गरिएको निषेधाज्ञाले नागरिकहरुको आर्थिक—सामाजिक जीवन कष्टकर हुँदैछ । निषेधाज्ञाको समय बढाउँदै जाने अवस्था आयो भने श्रमिक वर्ग, साना व्यवसायी र न्यून आय भएका नागरिकहरु ठूलो आर्थिक—सामाजिक संकटमा पर्ने निश्चित छ । पहिलो चरणकोे संक्रमणमा लामो लकडाउन व्यहोरेको देशको अर्थतन्त्र यसपालाको निषेधाज्ञाले झन् कमजोर बनेको छ । विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ—संस्था र नागरिक समाजले नेपाल सरकारलाई प्रभावकारी रोकथाम र उपचारका उपायहरु अवलम्वन गर्न सुझाउँदै आएका छन् । नेपाली कांग्रेसले पहिलो चरणको संक्रमणदेखि नै सरकारलाई कोभिड—१९ को महामारीलाई हल्का रुपमा नलिन र आवश्यक समाधानका उपाय अवलम्वन गर्न सचेत गराउँदै आएको हो । तर सरकारको नेतृत्वपंक्ति स्थितिको वास्तविकतालाई आत्मसात गर्नुको सट्टा आत्मप्रशंसामै मग्न रहेको हाम्रो निष्कर्ष छ ।
यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, संवेदनहीनता र अर्कमण्यता जिम्मेवार छ । सरकार न विगतका गल्तीबाट सिक्छ, न नेपाली कांग्रेस तथा अन्य सरोकारवालाहरुले दिएको सुझाव र सल्लाहलाई आत्मसात गर्छ । स्वास्थ्य मन्त्रालयमा पूर्वाग्रही किसिमले प्राविधिक स्वास्थ्य सचिवको स्थान खाली राखिएको छ र स्वास्थ्य मन्त्रालयको प्रभावकारितालाई कमजोर गरिएको छ । कोभिड संकट व्यवस्थापन केन्द्रको नेतृत्व अपारदर्शी, सतही र असक्षम सावित भएको छ । कोभिड—१९ को पहिलो चरणमा देखिएको चरम भ्रष्टाचार, दुरुपयोग र भेदभावको पुनरावृत्ति अहिले पनि देखिन थालेको छ ।
नेपाली कांग्रेस जनताको दुःख कम गर्न पहिलो चरणको संक्रमणको बेलामा जस्तै अहिले पनि सक्रिय छ । तर सरकारसँग राज्यको साधन, स्रोत र संयन्त्र छ । हामीले त्यसको पूर्ति गर्न सक्ने कुरा भएन । यो अवस्थामा हामी फेरि पनि सरकारलाई यो संकटलाई रोक्न गम्भीर भएर काम गर्न माग गर्दछौं । नेपाली कांग्रेस कोभिड—१९ को संक्रमण रोकथाम र उपचारका लागि वृहत कार्ययोजना सहित निम्न कार्य गर्न सम्माननीय प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गर्दछ ।
१. हालको संक्रमण र भविष्यमा नयाँ भेरियन्टबाट हुन सक्ने तेस्रो चरणको संक्रमणबाट नेपाली जनतालाई सुरक्षित राख्न तत्काल आम जनतालाई खोपको सुनिश्चितता गरियोस् । यसका लागि कुटनैतिक पहल तीव्र पारियोस् । खोप आपूर्ति गर्ने व्यवस्था विचौलिया रहित र पारदर्शी ढंगबाट गरियोस् ।
जय नेपाल !
शेरबहादुर देउवा
सभापति


















