Prakash Adhikari May 22, 2021

काठमाडौं, ८ जेठ । प्रधानमन्त्री के.पी.ओलीले आफ्नो पार्टीको सरकारविरुद्ध उत्रिने पार्टीका असन्तुष्ट समूहका नेताहरुको राजनीतिक जीवन सिध्याउने अभियानको थालनी गर्नुभएको छ ।

नेकपा (एमाले)को आज बसेको स्थायी कमिटीको बैठकले पार्टीका ११ निवर्तमान सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसंँग मिलेर हस्ताक्षरमा संलग्न भएको आरोप उहाँहरुलाई लगाएको छ ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, मुकुन्द नेपाल, पुष्पाकुमारी कर्ण, कलिला खान, नीरादेवी जैरु र लक्ष्मीकुमारी चौधरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

स्पष्टीकरणका आधारमा पार्टीले थप निर्णय गर्ने बताइएको छ । जवाफ यही जेठ १० गतेभित्र पेश गर्न भनिएको छ । उहाँले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन र आफ्नो सरकार गिराउन विपक्षीसँग गरिएको साँठगाँठबारे गम्भीरतापूर्वक छलफल गरिएको बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सिफारिश गर्न एमाले नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गर्नुभएको थियो ।

“आफ्नो पार्टीका प्रधानमन्त्रीलाई हराएर त्यसका ठाउँमा कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर जाने कुरा अनुमान नै गर्न नसकिने थियो,” उहाँले भन्नुभयो, “देशभरि पार्टी एकताका लागि आवाज उठिरहेको छ ।

कार्यदलले काम गरिरहेको थियो तर फेरि आफ्नै प्रधानमन्त्रीविरुद्ध पार्टीका साथीहरुले हस्ताक्षर गर्नुभयो ।”

यसअघि पनि पार्टीका केही नेतासँग स्पष्टीकरण सोधिएको थियो ।

तीमध्ये नेपाल, रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई कारवाही गरिएकामा केही दिनअघि भएको स्थायी कमिटी बैठकले फुकुवा गरेको थियो ।

पार्टी कार्यदलले समस्या समाधान गरिरहेका अवस्थामा पार्टीकै नेताका कारण फेरि समस्या आएको उहाँको भनाइ थियो । उहाँले गत वैशाख २७ गते संसद्मा अनुपस्थित भएर केही साथीहरुले जुन गल्ती गर्नुभयो फेरि त्यो गर्नुहुन्न भन्ने प्रधानमन्त्रीलाई लागेको उहाँले बताउनुभयो ।

पार्टीले कोरोना भाइरसविरुद्धको लडाइँमा आफ्नो ध्यान केन्द्रित गर्ने निर्णय पनि गरेको छ ।

पार्टीभित्रका प्रतिस्पर्धीहरुलाई तह लगाउने रणनीति अन्तरगत प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले बामपन्थी एकता कायम गर्दै देशमा बामपन्थी सत्ता स्थापना गर्न आएको नेकपा माओवादीका नेता प्रचण्डलाई सर्वोच्च अदालतमार्फत एकीकृत पार्टीलाई विभाजित गर्न लगाएर तह लगाइसक्नुएको छ ।

पार्टीमा आफ्नो विरुद्ध उठ्न सक्ने पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाललाई अनुशासनको कारबाहीबाट ठेगान लगाउन खोज्नुभएको छ ।

यसक्रममा पार्टीको नेतृत्व ग्रहण गर्न क्षमता विकसित गर्दै आएका डा.भीम रावल,घनश्याम भूसाल र सुरेन्द्र पाण्डेको राजनीतिक भविष्य पनि समाप्त पार्न लाग्नुभएको छ ।

आफू मरे डुमै राजा भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै हिड्नुभएका प्रधानमन्त्री ओलीले आफूले सत्ता छोड्दा यो व्यवस्था,संविधान र पार्टी सबै सिध्याउने भय नेकपा एमालेकै कार्यकर्ताहरुले व्यक्त गर्न थालेका छन्

विरोधीहरुलाई चुनावको उम्मेद्वारी दिने समयसम्म निलम्बन गरेर थला पारिन्छ कि पार्टीबाट निष्कासन गरेर मिल्काइन्छ यसको अनुमान अहिले कसैले गर्न सकेको छैन ।

Share Now

Leave a comment.