काठमाडौँ, ११ जेठ । ‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो ।
यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । ‘चक्रवात यास’ उत्तर र उत्तरपश्चिम दिशातर्फ जाने अनुमान रहेको छ ।
हाल पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून-चापीय क्षेत्र आज सोमबार (जेठ १० गते) चक्रवातमा परिणत भई मंगलबार सम्ममा अति धेरै शक्तिशाली चक्रवात(Very Severe Cyclonic Storm)मा परिणत हुने देखिन्छ। उक्त चक्रवातको केहि असर नेपालको भूभागमा समेत पर्ने सम्भावनाhttps://t.co/YC6erz2ZxP pic.twitter.com/GoHkDQMDIx
— Nepal Weather Forecast (@DHM_Weather) May 24, 2021
चक्रवातको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना छ । मौसम बदली भई आज अपराह्नपछि बागमती र प्रदेश नं १ का उच्च हिमाली÷पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ । तसर्थ उच्च हिमाली भूभागमा हावाहुरीसमेत हुनसक्ने सम्भावना रहेकाले केही दिनसम्मका लागि पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै बुधबारदेखि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने महाशाखाको बुलेटिनमा जनाइएको छ । बिहीबार कर्णाली र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको छ । यो सिजनमा मेघगर्जन-चट्याङ-हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


















