काठमाडौं, ११ जेठ । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने यस सिजनको क्यारेबियन प्रिमियर लिग ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने भएका छन् ।
यसको जानकारी सन्दीप लामिछानेले आफ्नो ट्रवीटरमार्फत दिएका छन् ।उनले भनेका छन्, “नाइट राइडर्स परिवारको हिस्सा हुन पाउँदा अत्यन्तै रोमाञ्चित भएको छु र ट्रिन्बागो नाइट राईडर्सको विजेता टिमसंग खेल्न प्रतीक्षारत छु । यो अतिउत्तम खेल यात्रा हुनेछ । मलाई गतबर्ष यस्तै अवसर दिएकोमा म जमैका तल्लाहवाजलाई धन्यवाद दिन्छु ।”
Another jewel in the legacy of #ThePrideOfNepal. Rock it @Sandeep25. We are rooting for you champion! #2Five #TeamSandeep #RiseAndRise #SayaCorporation https://t.co/Tm4HifX6u5
— Saya Corporation (@SayaCorps) May 25, 2021
गतबर्ष सन्दीपलाई मौका दिएको जमैका तल्लाहवाजले दुई दिन अगाडि २०२१ सिजनको लागि गत सिजन टिममा रहेका ७ जना खेलाडीहरुलाई रिटेन गर्ने निर्णय गरेको थियो । त्यसमा नेपाली खेलाडी सन्दीप अटाएका थिएनन् । यससंगै उनको सिपिएल यात्रा अनिश्चित बनेको थियो ।
उसले रिलिज गर्ने वित्तिकै गतबर्षको विजेता टिममा सामेल हुन पाउनु सन्दीपको अहो भाग्य हो ।
गत सिजन सन्दीले जमैकाको प्रतिनिधित्व गर्दै ११ खेलमा १२ विकेट लिंदै प्रतियोगिताको संयुक्त रुपमा पाँचौ सर्वाधिक विकेटकर्ता बनेका थिए। लिगमा सन्दिपले निकै किफायती बलिंग गरेका थिए जुन क्रममा प्रतिओभर मात्र ५.२८ रन खर्चेका थिए।
सन्दीपले विश्वप्रसिद्ध क्यारेबियन प्रिमियर लिग ३ पटक खेलिसकेका छन् । उनले सबै प्रतियोगिता फरक फरक टिमबाट खेलेका छन्।
२०१८ मा पहिलो सिजन सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सबाट सीपीएल डेब्यु गरेका सन्दीपले दोश्रो सिजन २०१९ मा बार्बेडोस ट्राईडेन्टबाट तथा गत सिजन २०२० मा जमैका तल्लाहवाजबाट खेलेका थिए ।
गत सिजन सन्दीपलाई ड्राफ्ट मार्फत जमैकाले ९० हजार डलरमा टिममा भित्र्याएको थियो।
BREAKING NEWS! 🇳🇵🇳🇵🇳🇵@Sandeep25 will be playing for the @TKRiders at CPL2021! #CPL21 #CPLDraft #SandeepLamichhane #CricketPlayedLouder pic.twitter.com/EdQxssyivR
— CPL T20 (@CPL) May 25, 2021
सन २०२१ को सीपीएल आगामी अगष्ट २८ देखि सेप्टेम्बर १९ तारिखसम्म आयोजना हुँदैछ ।
यस बर्ष सन्दीप लामिछाने पहिलो पटक इंग्ल्यान्डको घरेलु टी २० प्रतियोगिता ‘भाईटालिटि ब्लास्ट’ तथा ‘द हन्ड्रेड’ लिगमा सहभागी हुँदैछन्। ‘भाईटालिटी ब्लास्ट टि २०’मा सन्दी वर्सेस्टरशायर र्यापिडको लागि खेल्नेछन् भने ‘द हन्ड्रेड’ मा ओभल इन्भिन्सिबलबाट खेल्दैछन्।
भाईटालिटि ब्लास्ट जुन ९ तारिख देखि सुरु हुनेछ भने १८ जुलाईसम्म पहिलो चरणको खेल चल्नेछ। दोश्रो चरण अन्तर्गत ४ वटा क्वार्टरफाइनल खेल अगस्ट २४ देखि २७ तारिखसम्म तथा तेश्रो चरणको सेमीफाइनल र फाइनल खेलहरु सेप्टेम्बर १८ तारिखमा खेलिनेछ। त्यस बीचमा द हन्ड्रेड लिग जुलाई २२ तारिख देखि अगष्ट २१ तारिखसम्म संचालन हुनेछ।
अगस्ट २८ तारिख देखि सीपीएल टि २० सुरु हुने हुँदा सन्दीप इंग्ल्यान्डबाट ‘द हन्ड्रेड’ लिग सकिएलगत्तै वेस्टइन्डिज प्रस्थान गर्नुपर्नेछ।
वेस्टइन्डिजमा क्वारेन्टाइन बसेपछि मात्र सन्दीप लिगमा सहभागी हुन पाउनेछन्। सेप्टेम्बर १८ तारिखमा भाईटालिटी ब्लास्ट टी २० को सेमीफाइनल र फाइनल खेल हनेछ ।


















