काठमाडौ, १३ जेठ । बंगलाको खाडीमा विकसित यास चक्रवातको कारण विश्वको सर्वोच्च शिखर सगरमाथामा क्षेत्रमा भारी हिमपात भइरहेकोले यस बसन्तको सगरमाथा आरोहण प्रभावित भएको छ ।
शिखर पुग्ने तयारीमा रहेका आरोहीहरुलाई विग्रदो मौसमको कारण तल झारिएको छ । अहिले झन्डै १०० जनाभन्दा धेरै पर्वतारोही र आरोहण दलका सहयोगीहरू लगभग ६ हजार ४ सय मिटर उचाइको दोस्रो क्याम्पमा बस्न बाध्य भएको अधिकारीहरूले बताएका छन्।
Amazing, almost the top of the world https://t.co/Xa6A4r7kl0
— Saroj Gautam (@gautam_sarose) May 27, 2021
सगरमाथा आधार शिविरमा रहेका एक सरकारी अधिकारीले मौसम बिग्रिने सूचनासँगै चौथो शिविरसम्म पुगेका पर्वतारोहीहरू दोस्रो शिविरमा फर्किएको जानकारी दिनुभएको छ ।
अहिले कोही पनि पर्वतारोही दोस्रो शिविरभन्दा माथि नरहेको भन्दै उनले आरोहण सम्पन्न गरी आधार शिविर फर्किने क्रममा घाइते भएका केहीले हेलिकप्टरमार्फत् उद्धारको प्रतीक्षा गरिरहेको जानकारी दिनुभयो।
यस पटक वसन्त यामका लागि सगरमाथा आरोहणका लागि ४०० भन्दा बढी पर्वतारोहीले अनुमति लिएका थिए।
उनीहरूसँग ८०० जनाभन्दा बढी शेर्पा र अन्य सहयोगीहरू आधार शिविरतर्फ गएका थिए।
कोरोनाभाइरसको महामारीले निम्त्याएको जोखिमका माझ यसपालि विभिन्न हिमाल आरोहण गर्न झन्डै ७८ मुलुकका पर्वतारोहीहरू नेपाल आएका छन्।
मौसम खराब तर आरोही सुरक्षित
बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्रमा विकसित भई शक्तिशाली समुद्री आँधीका रूपमा आएको ‘यास्’ चक्रवातको असर मङ्गलवारदेखि नेपालमा पनि देखा परेको थियो।

सगरमाथा
जल तथा मौसम विज्ञान विभागले यो साताको सुरुमै मौसमसम्बन्धी पूर्वानुमानसम्बन्धी सूचना प्रकाशित गर्दै उच्च हिमाली क्षेत्रमा हावाहुरी समेत आउन सक्ने बताएको थियो। उसले केही दिनसम्म पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह गरेको थियो।
मौसम बिग्रिन सक्ने चेतावनीपछि माथि उक्लिरहेका पर्वतारोहीहरू तल दोस्रो शिविरमा फर्किएको बताइन्छ।
अहिले सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमले भन्नुभयो,“हिजोबाट नै भारी हिमपात भइरहेको छ। बाक्लो हिमपात भएकाले सबै आरोहीहरू दोस्रो शिविरमा फर्किएर अरू सहयोगी स्टाफसँगै बसिरहेका छन्। आरोही र सहयोगीहरू गरेर त्यहाँ १०० जनाभन्दा बढी छन्।”
गौतमका अनुसार आरोहण सम्पन्न गरेका कतिपय टोलीहरूले मौसम खराब भएकाले दोस्रो शिविरमा रहेका आफ्ना सरसामान तल झार्न सकेका छैनन्।
केही आरोही घाइते
उहाँले आधार शिविरबाट बाहिर निस्किने अवस्था नरहेको पनि बताउनुभयो।

सगरमाथा आधार शिविर
गौतमले सगरमाथा आरोहण गरी फर्किने क्रममा कतिपय आरोहीहरू घाइते भएको तर खराब मौसमका कारण उनीहरूलाई उद्धार गरी राजधानी पठाउन नसकिएको बताउनुभयो।
उहाँले भन्नुभयो, “हामीले हेलिकप्टर मगाएका छौँ तर त्यो आउन सकेको छैन। कति जना घाइते छन् त्यो भन्न सकिने अवस्था छैन, तर विभिन्न खालका चोटपटक लागेकाले हिँडेर फर्किन नसक्ने कुरा कतिपय आरोहीले गरेका छन्।”
आरोहीहरू सुरक्षित रहेको जानकारी दिँदै उहाँले मौसम सुधार नभएसम्म सबैलाई यथास्थितिमा रहन आग्रह गरिएको बताउनुभयो।
आँधी र असिनाका कारण ुमौरीले चिले जस्तोु
कतिपय आरोहीहरूले खराब मौसमका कारण आरोहण स्थगित गरेको र कतिपयले अझै पनि मौसम सुध्रिने प्रतीक्षा गरिरहेको विवरण आएका छन्।
दोस्रो शिविरमा रहेकी पर्वतारोही जेन ड्रम्मोन्डले आफ्नो ब्लगमा मङ्गलवार ३५ देखि ४० एमपीएच वेगको आँधी र असिना सामना गर्नुपरेको र त्यसबाट बारम्बार मौरीले अनुहारमा चिले जस्तो आफूले अनुभव गरेको उल्लेख गर्नुभएको छ।
बुधवार पनि मौसम नराम्रो भएको र अधिकांश समय टेन्टमा बिताएको उहाँको भनाइ छ।
उहाँले आफ्ना एक साथीले आरोहण अभियान परित्याग गर्ने निर्णय लिएको उल्लेख गर्नुभउको छ।
सम्भावना अझै आधा
एउटा पर्वतारोहण कम्पनी सेभन समिट्सका निर्देशक मिङ्मा शेर्पाले आफ्नो समूहबाट गएका झन्डै ५० जना दोस्रो शिविरमा रहेको भन्दै उनीहरूले सगरमाथा चुम्ने सम्भावना यथावत् रहेको बताउनुभएको छ।
उहाँ भन्नुहुन्छ, “मे २९ मा आरोहण गर्न गइसक्नुपर्छ किनभने त्यसपछि यो यामको आरोहण समाप्त हुन्छ। मौसम सुधार भयो भने जान्छन्। मेरो विचारमा ५० । ५० प्रतिशत सम्भावना छ।”
यसै साता आफ्नो टोलीसहित सगरमाथाबाट फर्किनुभएका अर्का सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले आगामी एकदुई दिनको मौसमले निर्णायक भूमिका खेल्ने बताउनुभयो।
“आगामी २९ तारिखमा मौसम राम्रो हुन्छ भनेर १०० /१५० जना कुरेर बसेको भन्ने कुरा छ। अहिलेको मौसमले केही असर गर्यो। धेरै हिउँ परेन भने त डोरी समाउँदै गइहाल्छन्। तर धेरै नै हिउँ पर्यो र मौसम सुध्रिएन भने असर गर्छ। दुई(चार फिट मात्रै भयो भने आरोहण गर्न सक्छन् भन्ने मलाई लाग्छ।” श्रेष्ठले भन्नुभयो ।
आगामी २४ घण्टाको मौसम पूर्वानुमानमा गण्डकी, वाग्मती र प्रदेश नं १ का हिमाली र उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ।
शनिवार रातिसम्मै देशका हिमाली तथा उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बिहीबार बिहान प्रकाशित मौसम बुलेटिनमा उल्लेख छ।
यसअघि जेठको पहिलो साता टाउटे आँधीको प्रभाव नेपालमा पनि देखिएको थियो जसले पर्वतारोहीहरूलाई पनि असर पारेको थियो।
यो याममा सगरमाथा आरोहण
सगरमाथा आरोहण गर्नका लागि गएको अप्रिल २८ सम्ममा ४४ वटा टोलीका ४०७ जनालाई अनुमति दिइएको थियो जसबाट ४९ करोड ९६ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरिएको पर्यटन विभागले जनाएको छ।
पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका रामेश्वर निरौलाका अनुसार अनुमति लिएकामध्ये २५० पर्वतारोही र १०० शेर्पा सहयोगीहरूले यो याममा सगरमाथा चढिसकेका छन्।
अनुमतिप्राप्त आरोहीसँगै ८०० जनाभन्दा बढी शेर्पा र भान्सेसहित आरोहण दलका सहयोगीहरू सगरमाथातर्फ प्रस्थान गरेका थिए।
सगरमाथाको आधार शिविरमा पनि कोरोनाभाइरस सङ्क्रमण देखिएका र त्यसका कारण कतिपय आरोही उपचार गराउन राजधानी फर्किएका विवरण आएका थिए।
तर पर्यटन मन्त्रालयले ‘प्रचार गरे जस्तो जोखिम नभएको’ भन्दै आधिकारिक निकायबाट प्रमाणित भएका सूचना मात्र सम्प्रेषण गर्न ध्यानाकर्षण गराएको थियो।
कोरोनाभाइरसको जोखिमका कारण आरोही तथा सरकारले पठाएका अधिकृतले आफ्नो अधिकांश समय आफ्नै शिविरमा नै बिताएका थिए।
(फणीन्द्र दाहाल । बीबीसी न्यूज नेपाली)


















