काठमाडौं, १३ जेठ । नेपालमा केही दिनदेखि दैनिक संक्रमितको संख्या घट्दै गएको छ ।
विगत २४ घण्टामा नेपालमा ६ हजार ९ सय ३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप १ सय ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।
विगत २४ घण्टामा झन्डै २१ हजार जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको बिहीवार मन्त्रालयले जनाएको छ।
अहिले सङ्क्रमण पुष्टि हुनेभन्दा सङ्क्रमण पुष्टि हुने मानिसको सङ्ख्या बढी देखिएको छ।
सो अवधिमा ७ हजार २ सय २६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५ लाख ४२ हजार नाघेको छ भने मृतकको सङ्ख्या ६ हजार ९ सय ५१ पुगेको छ।
बिहीवार प्रकाशित मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवहरूको सङ्ख्या पनि समाविष्ट भएको मन्त्रालयको भनाइ छ।
अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १लाख १६ हजार ४ सय ७६ भएको मन्त्रालयले जनाएको छ।
तीमध्ये झन्डै आठ हजार संस्थागत आइसोलेशनमा र बाँकी घरमै एकान्तवासमा छन्।
मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कअनुसार अहिले १ हजार ६ सय ४५ जना बिरामी आईसीयूमा र ४ सय ५७ जना भेन्टिलेटरमा छन्।
अहिले देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये २८ हजार जना काठमाडौं उपत्यकाका तीन जिल्लामा छन्।
काठमाडौं उपत्यकाभित्र नयाँ सङ्क्रमित फेला पर्ने क्रम केही दिनयता ओरालो लागेको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार अहिले काठमाडौंमा १ हजार ७ सय ३८, भक्तपुरमा २ सय ६५ र ललितपुरमा ३ सय६४ जनामा कोभिड पुष्टि भएको हो।(बीबीसीबाट)


















