Prakash Adhikari May 28, 2021

प्रतिपक्षी दलका नेतादेखि राष्ट्रपति र प्रधानमन्त्रीद्धारा घटनाप्रति खेद व्यक्त

काठमाडौं, १४ जेठ । भेरी अञ्चल अस्पतालको कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने मानबहादुर रावतसहितका व्यक्तिहरुलाई ज्यान मार्ने उद्योग अन्तरगत कारबाही गर्न त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले माग गरेका छन् भने देश कोरोनाको महामारीमा परेको बेला स्वास्थ्यकर्मीहरुलाई हतोत्साही गरी ज्यान हमला गर्नेहरुलाई हदैसम्मको कारबाही गर्न प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा देखि राष्ट्रप्रमुख राष्ट्रपति विद्यादेवी भण्डारी ,प्रधानमन्त्री के.पी. ओली र उपप्रधानमन्त्री इश्वर पोखरेलले माग गर्नूभएको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का कोरोना संक्रमित ५२ डिल्ली रावतको उपचारका क्रममा बिहीबार राती मृत्यु भएपछि आक्रोशित भएका आफन्तहरुद्धारा स्टाफ नर्स, चिकित्सकमाथि लखेटीलखेटी आक्रमण भएको थियो ।

संक्रमित रावत यही जेठ ४ गतेदेखी भेरी अस्पतालमा भर्ना हुनुभएको थियो ।

आक्रमणमा संलगन रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ । दाईको उपचारका क्रममा यसअघि पनि मानबहादुरले आफूहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको मान्छे हुँ भन्दै धम्की दिने गर्नुभएको थियो ।

स्वास्थ्यकर्मी माथि हमला

रावतको मृत्यु भएपछि राती करिव ८ बजेतिर मृतकका भाई मानबहादुरसहितको एक समूहले चिकित्सक, स्टाफ नर्स लगायतलाई लखेटीलखेटी आक्रमण गरेको थियो ।

आफन्तको मृत्यु लगत्तै चारैतिरबाट जम्मा भएर लखेट्दै उनीहरुले वार्डमा सेवा गरिरहेका स्वास्थ्यकर्मी घाँटी थिचिदिएका थिए । स्टाफ नर्स र चिकित्सक आफ्नो ज्यान जोगाउन ड्युटी रुम र शौचालयमा पस्दा पनि ढोका फोडेर आक्रमण गरेका थिए ।
त्यसपछि ४ जना स्टाफ नर्स र एक जना चिकित्सकले कोभिड वार्डको पहिलो तलामाथिबाट हामफालेर जीउ जोगाउनु परेका थियो ।

मृतकका आफन्तहरुको आक्रमणबाट डा. चन्द्रप्रकाश साहु, डा. दीपक गुप्ता, डा. समा अन्सारी, स्टाफ नर्स अस्मिनी गुरुङ, सदिक्षा गैरे र बन्दना श्रेष्ठलाई चोट लागेको अस्पताल प्रशासनले जनाएको छ ।

स्वास्थ्यकमी आन्दोेलित

राजनीतिक पावरमा आफूहरुको हत्या गर्ने उद्देश्यले नै आक्रमण गरेको भन्दै नेपालगन्जका चिकित्सक, नर्स लगायतले भेरी अस्पताल परिसरमा बिहानदेखि नै नाराबाजी गरिरहेका छन ।

उनीहरुको आन्दोलनका कारण कोभिड वार्डमा भर्ना भएका संक्रमित बिरामीको उपचार नै प्रभावित बन्न पुगेको छ । एक चिकित्सकले सो आक्रमणपछि स्वास्थ्यकर्मीहरुले कार्यस्थल छोडेर भाग्नु परेकोले थप दुई विरामीको जीवन गएको बताएका छन् ।

स्वास्थ्यकर्मीहरुले आफ्नो जीवन दाउमा लगाएर बिरामीको सेवामा समर्पित व्यक्तिहरुमाथि ज्यान लिने ढंगले आक्रमण गरेकोले यसमा संलग्न ब्यक्तिलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउन माग गरेका छन् ।

पीडित स्वास्थ्यकर्मीहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेमा आक्रमणारीविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक ओम रानाले आक्रमणमा संलग्न मानबहादुर रावत, लोकराज र भरत रावतविरुद्ध भेरी अस्पतालका ७ जना स्वास्थ्यकर्मीले किटानी जाहेरी दर्ता गराउनुभएको जानकारी दिनुभएको छ । उहाँका अनुसार ३ जनाविरुद्ध जाहेरी परेको छ ।

आक्रमणमा संलग्न रहेको आरोपमा तीनै जनालाई प्रहरीले बिहीबार राति भेरी अस्पतालबाट पक्राउ गरेको थियो ।

 

Share Now

Leave a comment.