नयाँ दिल्ली(भारत), १५ जेठ (रासस/पीटीआई) । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सवैभन्दा थोरै देखिएको छ ।
दैनिक सङ्क्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो समय एक दिनमा एक लाख ८६ हजार ३६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।
यसअघि दैनिक तीन लाख १८ हजार ८९५ जना सङ्क्रमित भएका थिए भने एकैदिनमा तीन हजार ६६० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७५ लाख ५५ हजार ४५७ पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
कुल सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ९३ हजार ४१० जना सङ्क्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको शुक्रबारसम्मको तथ्याङ्क छ ।
भारतमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या पनि बढेर ९०.३४ प्रतिशतसम्म पुगेको छ ।
बिहीबार मात्रै भारतमा २० लाख ७० हजार ५०८ जनाको कोरोना परीक्षण गरिएको छ ।
भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २३ लाख ४३ हजार १५२ रहेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
दिल्ली सरकारले एक करोड खोप किन्ने
भारतको दिल्ली प्रदेश सरकारले कोरोनाभाइरस विरुद्धको एक करोड खोप किन्नका लागि बोलपत्र आह्वान गरेको छ ।
देशको केन्द्रीय राजधानीसमेत पर्ने दिल्ली सरकारले आपतकालिन “ग्लोवल टेन्टर” आह्वान गरेको अधिकारीहरुले जनाएका छन् ।
जनरल स्वास्थ्य सेवा निर्देशनालयद्वारा प्रकाशित बोलपत्रमा आगामी जुन ७ गते बेलुका ५ बजेसम्म बोलपत्रका लागि फाराम भर्न सकिने समयावधि तोकिएको छ ।
भारत सरकारको आधिकारीक निकायले प्रयोगका लागि अनुमति दिएको खोप मात्रै खरिद गर्नु पर्ने बोलपत्रमा उल्लेख गरिएको छ । बोलपत्र इमेलमार्फत् भर्न सकिने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।
कोरोनाभाइरसको महामारी नियन्त्रण हुन नसकेको र फेरि तेस्रो चरणको महामारी फैलिने खतरा रहेकाले खोप खरिदलाई प्राथमिकता दिइएको प्रदेश सरकारले जनाएको छ ।
केन्द्रीय सरकारको प्रयास र भारतमा उत्पादन भइरहेको खोपले मात्रै तत्कालको आवश्यकता पुरा नहुने भएकाले विश्वाव्यापी बोलपत्र आह्वान गरिएको अधिकारीहरुले जनाएका छन् ।
कोरोनाभाइरसको महामरी नियन्त्रणको एउटा कडिकै रुपमा खोप खरिद प्रक्रियालाई लिइएको समाचारमा उल्लेख गरिएको छ ।
दिल्ली सरकारका अनुसार अहिले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुलाई दुई लाख ६५ हजार १० कोभिसिल्ड खोप उपलब्ध गराइएको छ । त्यस बाहेक दिल्लीका अरु ५२ लाख ६४ हजार २३२ खोप प्रयोग भइसकेको छ ।


















