काठमाडौं, १९ जेठ । गत जेठ १४ देखि उपत्यकामा लगाइएको कडा निषेधाज्ञाको सकारात्मक परिणाम देखिएको छ । यसकै कारण कोरोना संक्रमितको संख्या दिनहुँ घटिरहेको छ भने केही उतार चढाव रहे पनि दैनिक मृत्यु संख्या पनि पहिलेको तुलनामा कमी आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा विगत २४ घण्टामा ५ हजार ३ सय १६ जना कोभिड बिरामी थपिएका छन्।
त्यस्तै सो अवधिमा थप १ सय १ जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बुधवार दिनुभएको जानकारी अनुसार कुल १६ हजार ८ सय ७८ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो।
तीमध्ये ३,०७३ एन्टिजन परीक्षण हो जसबाट ७९२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।
विगत २४ घण्टाको अवधिमा थप ७ हजार २ सय १९ जना भने सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
सो अवधिमा परीक्षण गरिएकामध्ये ३१.५ प्रतिशतमा सङ्क्रमण देखिएको छ। सबैभन्दा बढी कर्णाली प्रदेशमा परीक्षण गरिएका ५८ प्रतिशतमा सङ्क्रमण देखिएको प्रवक्ता पौडेलले बताए।
नेपालमा कुल सङ्क्रमित सङ्ख्या ५ लाख ७१ हजारभन्दा बढी पुगेको छ जसमध्ये अहिले १ लाख १ हजार ९ सय ९३ जनामा सक्रिय सङ्क्रमित छन्। कुल सङ्क्रमितमध्ये ३९ प्रतिशत महिला हुन्।
कुल सङ्क्रमितमध्ये ८१ प्रतिशत निको भएका छन् भने १.३ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्।
अहिलेसम्म कुल ७ हजार ५ सय ५५ जनाको मृत्यु भइसकेको छ।
बुधवार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लाका छन्।
काठमाडौंका ९ सय ६९ जनासहित भक्तपुरका १ सय ८१ जना र ललितपुरका ३ सय ६ जना गरी काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ९६ जना सङ्क्रमित थपिएका छन्।
विगत २४ घण्टामा २ सयभन्दा बढी सङ्क्रमित थपिएका जिल्लामा झापा, सुनसरी, मोरङ र काभ्रेपलाञ्चोक रहेका छन्।
नेपालका ७७ मध्ये ४८ जिल्लामा अहिले ५ सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् भने थप १३ जिल्लामा २ सय भन्दाबढी सक्रिय सङ्क्रमित रहेका छन्।
सक्रिय सङ्क्रमितमध्ये ६ हजार ८ सय ६२ जना संस्थागत आइसोलेशनमा छन्। तीमध्ये १ हजार ४ सय ४६ आईसीयूमा र ३ सय ८५ जना भेन्टिलेटरमा रहेका छन्।


















