Prakash Adhikari June 2, 2021

 

काठमाडौं, १९ जेठ । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेशबाट ल्याइएको बजेटमा रहेको ढुंगा,गिटी र बालुवा निर्यात गर्ने प्रावधानको विरोध गर्दै यसले नेपालको चुरे र भावर क्षेत्रको अत्यधिक दोहन हुन गई तराई र मधेश मरुभूमि हुने बताउनुभएको छ ।

उहाँले चुरेको दोहन गरेर पानीको मुहान सुक्ने र ढुंगा,गिटी र बालुवा उत्खनन गर्दा त्यहाँको कमजोर धरातलमा पहिरो र भूक्षय भई बर्षामा बग्ने बलौटेमाटोले तराई र मधेशमा मरुभूमिकरण बढ्नेतर्फ सचेत गर्दै भन्नुभएको छ, “ढुंगा,गिटी बालुवा बेचेर ब्यापार घाटा कम गर्ने नारा घर जलाएर खरानीको ब्यापार गरे जस्तै हो ।” उहाँले तराई मधेशलाई मरुभूमि बनाउने यो कार्यक्रम तुरुन्त फिर्ता पनि माग गर्नुभएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ,”अनेक जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले संसद विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्यमार्फत चुरे दोहनलाई मार्ग प्रशस्त गर्न लिएको नितिलाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको छ ।”

Image

विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिंदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर भएको अध्ययनबाट पत्ता लागेर सो कार्य रोकी संरक्षणका प्रयास थालिएको स्मरण गराउनुभएको छ ।

उहाँले विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन गर्ने कार्यलाई सामान्य गल्ति नभएको भन्दै प्रकृति विरुद्धको अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र भन्नुभएको छ ।

सुशील कोइरालाको संझाना

नेपाली काग्रेसका सभापति देउवाले चुरे संरक्षणको प्रसंग उठाउदा नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको पनि स्मरण गर्नुभएको छ । उहाँले स्वर्गीय कोइरालाको नेतृत्वमा रहेको तात्कालीन सरकारले ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समिति मार्फत विभिन्न मापदण्ड निर्धारण गरेको पनि स्मरण गराउनुभएको छ ।

उहाँले विभिन्न अध्ययन,अनुसन्धानका आधारमा ढुंगा, गिटी, बालुवा प्राकतिक स्रोतको उत्खनन र निकासीमा रोक लगाइएकोमा ती नीति र निर्णयलाई विस्थापित गर्दै ‘ब्यापार घाटा न्यूनीकरण गर्न’ भन्ने नारा दिएर ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको ब्यापार गर्न घर जलाए जस्तो’ मात्रै हो भन्नुभएको छ ।

उहाँले निश्चयनै देशले बर्षौदेखि ब्यापार घाटा ब्यहोरिरहेको उल्लेख गर्दै त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई–मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य नहुने र त्यो नै उचित र एकमात्र विकल्प नहुने पनि बताउनुभएको छ ।

कांग्रेस सभापति देउवाले भन्नुभएको छ, “नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरि हचुवाका भरमा बजेटमा नितिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ ।”

Share Now

Leave a comment.