Prakash Adhikari June 4, 2021

 

काठमाडौं, २१ जेठ । नेपालमा विगत २४ घण्टामा ६ हजार ६ सय ५३ जना कोभिड बिरामी थपिएका छन्।

त्यस्तै सो अवधिमा थप १ सय १ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार जनाएको छ।

कुल २० हजार ८ सय १३ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ६ हजार ६ सय ३१ एन्टिजन परीक्षण हो जसबाट २ हजार २९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

थप ८ हजार ६ सय ६३ जना भने सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा परीक्षण गरिएकामध्ये ३२ प्रतिशतमा सङ्क्रमण देखिएको छ।

नेपालमा कुल सङ्क्रमित सङ्ख्या ५ लाख ८१ हजारभन्दा बढी पुगेको छ जसमध्ये अहिले ९७ हजार ६ सय ९९ जनामा सक्रिय सङ्क्रमित छन्। कुल सङ्क्रमितमध्ये ३९ प्रतिशत महिला हुन्।

कुल सङ्क्रमितमध्ये ८२ प्रतिशत निको भएका छन् भने १.३३ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्।

अहिलेसम्म कुल ७ हजार ७ सय ३१ जनाको मृत्यु भइसकेको छ।

शुक्रवार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लाका छन्।

राजधानीका ८ सय ९७ जनासहित भक्तपुरका १ सय ८८ जना र ललितपुरका २ सय ९९ जना गरी काठमाडौं उपत्यकामा थप १ हजार ३ सय ८४ जना सङ्क्रमित थपिएका छन्।

नेपालका ७७ मध्ये ४७ जिल्लामा अहिले ५ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् भने थप १३ जिल्लामा २ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

सक्रिय सङ्क्रमितमध्ये ६ हजार ८ सय ७ जना संस्थागत आइसोलेशनमा छन्। तीमध्ये १ हजार ४ सय २२ आईसीयूमा र ४ सय ४ जना भेन्टिलेटरमा रहेका छन्।

काठमाण्डू
अहिले काठमाडौं उपत्यका तथा विभिन्न जिल्लामा निषेधाज्ञा छ

स्वास्थ्य मन्त्रालयले कोभिडको तेस्रो तथा चौथो लहर आउन सक्ने र त्यसले बालबालिकालाई बढी मात्रामा सङ्क्रमित पार्न सक्ने बताउँदै सबै अस्पताल र स्वास्थ्य संस्थाहरूलाई कम्तीमा २० प्रतिशत शय्या कोभिड सङ्क्रमित बालबालिकाका लागि तयार राख्न निर्देशन दिएको छ।

शुक्रवार जारी पत्रमा वैकल्पिक अक्सिजनको व्यवस्थापन गर्न समेत अनुरोध गरिएको छ।

मन्त्रालयले सबै सरकारी, निजी, सहकारी र सामुदायिक स्वास्थ्य संस्थाहरूलाई यस्तो अनुरोध गरेको हो।

के छ छिमेकी भारतको अवस्था ?

शुक्रवार बिहान प्रकाशित विवरणअनुसार नेपालसँग सीमा जोडिएको देश भारतमा विगत २४ घण्टामा थप कुल १ लाख ३२ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण देखा परेको छ।

त्यस अवधिमा २ हजार ७ सय १३ जनाको कोभिडका कारण निधन भएको बीबीसी हिन्दीले जनाएको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ लाख ७ हजार जना बिरामी निको भएका छन्।

चौबीस घण्टाको अवधिमा त्यहाँ कुल २०. ७७ लाखभन्दा केही बढी नमुनाको परीक्षण गरिएको थियो।

शुक्रवार बिहानसम्म भारतमा २.८६ करोड भन्दा बढी मानिसलाई कोरोनाभाइरस सङ्क्रमण भइसकेको छ।

अहिले भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या झन्डै १६ लाख ३ ६ हजार छ। भारतमा हालसम्म कोभिडका कारण ३ लाख ४० हजार ७ सय २ जनाको निधन भइसकेको छ।

त्यहाँ २.६५ करोड जनाभन्दा बढी मानिस कोभिडमुक्त भएका छन्।

भारतमा हालसम्म झन्डै २.६६ करोड जनाले कोरोनाभाइरसको खोप लगाइसकेका छन्।

 

Share Now

Leave a comment.