काठमाडौं, २३ जेठ। सेयर बजारमा आज एकै दिन दुई नयाँ कीर्तिमान कायम भएको छ । आज एकातिर नेप्से परिसूचकले उच्च विन्दु कायम गरेको छ भने अर्कोतिर सबैभन्दा धेरैको कारोबारको कीर्तिमान पनि बनाएको छ ।
आज नेप्से ५०.१४ अंकले बढेर २९०६.९१ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७८ जेठ २० गते बिहिबार नेप्से २८७५. ९७ विन्दुमा पुगेका थियो ।
आइतबार ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयरको खरिद बिक्रीबाट १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२४।५ रुपैयाँमा कारोबार भएको छ ।यो हालसम्मै उच्च कारोबार हो । यसअघि २०७८ जेठ १६ गते आइतबार १७ अर्ब २ करोड ८४ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो ।
आज कारोबार भएका समूहमध्ये ६ वटा समूह बाहेक अन्य समूह बढेका छन् भने आज १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा महिला लघुवित्त वित्तिय संस्था, गुडविल फाइनान्स कम्पनी, लुम्बिनी विकास बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल बंगालदेश लिमिटेड, मितेरी डेभलपमेन्ट विकास बैंक, पोखरा फाइनान्स, मेगा बैंक, नेपाल इन्फइन्ट्रक्चर बैंक र लक्ष्मी बैंक रहेका छन् ।
त्यस्तै, आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनी भएको छ ।
यो दिन ९९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपसमूहतर्फ लगानी समूहमा ३.७ प्रतिशत, विकास बैंक २.३८ प्रतिशत र बैंकिङ उपसमूह ३.६६ प्रतिशतले बढेको छ ।


















